बजारमा तिहारको भीड, जताततै खानेमसला र झिलीमिली

बजारमा तिहारको भीड, जताततै खानेमसला र झिलीमिली

राजधानीलगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ । तिहार लागेसँगै राजधानीका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको चर्को भीड देखिएको छ ।

विशेषगरि राजधानीको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटी, नयाँ बानेश्वर भक्तपुरको सूर्यविनायक, सल्लाघारी र ललितपुरको मंगलबजारलगायतका क्षेत्रमा सर्वासाधारणको चाप थेगिनसक्नु देखिएको छ ।

कोरोना महामारीमा समेत बजारमा देखिएको भीडले तिहारको रौनकलाई प्रष्ट रुपमा दर्शाएको छ । काठमाडौंका भित्री शहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरु सजाइएको छ । मखमली, सयपत्री र कागजी फूलले राजधानीको बजार ढाक्न थालेको छ ।

बजार घुम्न जानेलाईसमेत तिहारको रमझमले आकर्षित बनाएको देखिन्छ । तिहारमा विशेषगरि प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्रीहरु यतिबेला बजारमा यत्रतत्र बेच्न राखिएका छन् ।

सूर्यविनायकमा खानेमसला बिक्री गर्दै आउनुभएका सुविन केसीको पसलमा १ सयदेखि १५ सय रुपिँयासम्मका मसलाका प्याकेट छन् । पोहोर ८० रुपिँयामा बेचेको सानो प्याकेटलाई अहिले १ सय रुपिँयासम्म पर्ने उहाँले बताउनुभयो ।

काठ्माडौं असनका व्यापारीहरुले भने मसलाको एउटा प्याकेटमा पोहोरभन्दा ३० रुपिँयासम्म बढेको बताए । यता, अन्य सामानमा पनि भाउ उत्तिकै बढेको असन र इन्द्रचोकका व्यापारीहरु बताउँछन् । तिहार आउनु १५ दिन अगावै व्यापार शुरु भएको भाइटीकाको अघिल्लो दिनसम्म व्यापार हुने उनीहरु बताउँछन् ।

टिप्पणीहरू