शहरको फोहोरलाई यसरी पनि उपयोग गर्न सकिन्छ

शहरको फोहोरलाई यसरी पनि उपयोग गर्न सकिन्छ

मानिसले चाहेमा फोहोरलाई पनि उपयोगी वस्तु बनाउन सकिने उदाहरण प्यालेष्टाइन्का ४६ वर्षीय एक पुरुष बनेका छन् । अयमान अबेद रबु नामका ती पुरुषले वेस्ट ब्याङ्क शहरमा जम्मा भएको फोहोर संकलन गरि उपयोगी सामाग्री बनाउने गरेका छन् ।

उनले फोहोरबाट सबैभन्दा पहिले आफ्नो घरको लागि आवश्यक खेलौना र सजावटका सामाग्री बनाउने अभियानको सुरुवात गरेका हुन् । फोहोरबाट आजित बनेको वेस्ट ब्याङ्कलाई सफा बनाउन आफू एक्लैले भरपूर मेहनत गर्दै आएको उनी बताउँछन् ।

पुनः प्रयोग गर्ने रिसाइक्लिङ विधि अपनाएर फोहोर कम गर्न सकिने विश्वास उनले लिएका छन् । उनी भन्छन्, ‘हामी मानिसलाई जबरजस्ती सार्वजनिक सडक सफा गर भन्न सक्दैनौं, फोहोर नगर भन्न चाँही सक्छौं । तथापि, हामी तिनीहरूलाई पुनःप्रयोग गरिने चीजहरू बनाएर घरको फोहोर कम गर्न प्रोत्साहित भने गर्न सक्छौं ।’अबेद रबुले फोहोर संकलन गरेर खेलौना बनाउन थालेको दशक नाघिसकेको छ । शुरुमा उनले ठोस फोहोर, मुख्यतयाः प्लास्टिकलाई आफ्ना बच्चाहरूको लागि पुतलीमा परिणत गरिदिएका थिए । त्यसपछि सबैभन्दा पहिले आफ्ना छोराछोरीलाई फोहोर कसरी पुनः प्रयोग गर्ने भनेर सिकाएका हुन् ।

उनी सम्झिन्छन्, ‘धेरै महिनाको मेहनतपछि मेरो दुई कोठाको घर पुनः प्रयोग गरिएका उत्पादनहरूको प्रदर्शनीस्थल नै बन्यो ।

उनले त्यस्ता फोहोरबाट फूलदानी र धेरैजसो बच्चाका पुतलीहरु बनाउने गरेका छन् । साथै, जैबिक फोहोरलाई कम्पोष्ट मल बनाउन थालेको पनि उनले सुनाएका छन् । कतिपय ठोस फोहोरबाट उनले आकर्षक फर्निचर समेत बनाउने गरेका छन् ।आगामी दिनमा आफ्नो घरको आँगनमा वातावरणमैत्री पार्क बनाउने र सर्वसाधारणका लागि खुल्ला गर्ने योजना रहेको जानकारी पनि उनले बताएका छन् ।

प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क ब्युरोकाअनुसार वेस्ट बैंकमा औसत घरेलु फोहोर प्रतिदिन १ हजार ८ सय ३५ टन निस्किन्छ । त्यसमध्ये ८० प्रतिशत जैविक फोहोर हो भने २० प्रतिशत ठोस हो ।

स्रोतः सिन्ह्वा

टिप्पणीहरू