सर्वोच्चमा इजलास शुरु, बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्र हेरिने

सर्वोच्चमा इजलास शुरु, बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्र हेरिने

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले आज आफू बाहेकको इजलास तोक्नुभएको छ । आज तोकिएका दुई वटा एकल र चार वटा संयुक्त इजलासमा बन्दीप्रत्यक्षीकरणका मुद्दामात्र सुनुवाई हुन लागेका हुन् ।

अघिल्लो आइतबारको खाजा समयपछि न्यायाधीशहरुले इजलाश बंक गर्दै आएका थिए । हिजो अपरान्ह बसेको न्यायाधीशहरुको बैठकमा बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र हेर्ने सहमति जुटेको थियो । सोहीबमोजिम न्यायाधीशहरुले हिजो साँझ प्रधानन्यायाधीश राणालाई अरु न्यायाधीशको मात्र इजलास तोक्न आग्रह गरेका थिए ।

न्यायाधीशहरुको आग्रहबमोजिम आज राणाले आफू बाहेकका छ वटा इजलास तोक्नुभएको हो । जसअनुसार, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुँयालको संयु्क्त इजलास र डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा एक एक वटा बन्दीप्रत्यक्षीकरणको रिट तोकिएको छ ।

यस्तै अनिलकुमार सिन्हा र डा. कुमार चुडाल तथा सपना मल्ल प्रधान र डा. मनोजकुमार शर्माको संयुक्त इजलासमा पनि एक एक वटा मुद्दा पेशीका लागि चढेका छन् । न्यायाधीश कुमार रेग्मी र बमकुमार श्रेष्ठको एकल इजलासमा समेत एक एक वटा मुद्दा पेशीका लागि चढाइएको छ ।

हिजो साँझ प्रधानन्यायाधीश राणसँग न्यायाधीशहरु प्रधान, सिन्हा र शर्माले भेटवार्ता गर्नुभएको थियो । सो क्रममा उहाँहरुले राणालाई बन्दीप्रत्यक्षीकरणको मुद्दामात्र पेशीमा तोक्न आग्रह गर्नुभएको थियो ।

टिप्पणीहरू