हिजो नेताहरुको भेट केका लागि थियो ?

हिजो नेताहरुको भेट केका लागि थियो ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग हिजो दिउँसो रक्षामन्त्री मीनेन्द्र  रिजालले भेट्नुभएको छ भने साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालको भेट खुमलटारमा भएको थियो ।

दिउँसो मन्त्री रिजालले सरकारसँग सम्बन्धित विषयभन्दा पनि १ नम्बर प्रदेशमा गठन हुन लागेको नयाँ सरकार र गठबन्धनबारे पार्टीको धारणा राख्नुभएको बताइन्छ । दशैं अघि प्रदेशसभामा हुन लागेको मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफल नेपाली काँग्रेसको कारण सारिएकोबारे स्पष्ट पार्न मन्त्रीले अध्यक्ष नेपाललाई भेट्नुभएको हो ।

त्यसबखत काँग्रेसका केही प्रदेश सांसदको सम्भावित अवरोधका कारण बैठक सार्नु परेको भन्ने समाचार बाहिरिएको थियो । हिजोको भेटमा मन्त्री रिजालले अध्यक्ष नेपाललसँग अब त्यस्तो अवस्था नरहेको र १ नम्बर प्रदेश काँग्रेसमा नेतृत्वको नियन्त्रण रहेको भन्दै स्पष्ट पार्नुभएको बताइन्छ ।

साँझ प्रचण्डसँगको भेटमा अध्यक्ष नेपालले कर्णाली प्रदेशमा यसअघि माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्ने क्रममा तीन जना मन्त्रीको सांसद पदसमेत गुमेको विषयमाथि छलफल भएको बुझिएको छ । कर्णाली प्रदेशका प्रकाश ज्वाला,अम्बर बहादुर थापा र कुर्मराज शाहीको मन्त्री र सांसद पद दुबै आजदेखि गुमेको हो । अहिले उहाँहरुको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

मुद्दा जितेमा मन्त्री र सांसद पद बहाली हुनेछ । अन्यथा, दुबै पद गुमेको अवस्थाबारे छलफल गर्न अध्यक्ष नेपाल र दाहालबीच भेट भएको बताइन्छ ।

टिप्पणीहरू