माधव नेपालले भन्नुभयो : रायमाझीले पार्टीलाई दरबारमा बुझाए, केपीले दक्षिणपन्थी मार्गमा हिँडाए

माधव नेपालले भन्नुभयो : रायमाझीले पार्टीलाई दरबारमा बुझाए, केपीले दक्षिणपन्थी मार्गमा हिँडाए

-पूजा लम्साल

सार्वजनिक कार्यक्रमहरुमा प्रायः सन्तुलित धारण राख्ने नेताको परिचय बनाउनुभएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शनिबार बिराटनगरमा अक्रामक भाषण गर्नुभयो । हालै आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्नुभएका उहाँले कम्युनिष्ट आन्दोलनमा देखिएको दक्षिणपन्थी अवसरवाद र केपी ओली प्रवृत्तिमाथि कडा प्रहार गर्नुभएको छ ।

केशरजङ्ग रायमाझीहरुसँग विद्रोह गरेर संस्थापक नेता पुष्पलाल श्रेष्ठहरुले टिकाएको कम्युनिष्ट पार्टीलाई संगठित गर्दै नेकपा एमाले बनाउन काम आफूहरुले नै गरेकोले धेरै फूर्ती नगर्न उहाँले एमाले अध्यक्ष ओलीलाई चेतावनी दिनुभएको छ ।

एकीकृत समाजवादी मोरङले बिराटनगरमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले रायमाझीले २०१४ सालमा कम्युनिष्ट पार्टीलाई दरबारमा बुझाएपछि पुष्पलालहरुले विद्रोह गरेको पार्टीलाई नै एमाले बनाइएको दाबी गर्दै ओलीलाई सबै आफैँले गरेको जसरी फूर्ति नगर्न चेतावनी दिनुभएको हो ।

अध्यक्ष नेपालले संस्थापक नेता पुष्पलालले विद्रोह गरेर जोगाएको पार्टीलाई थप संगठित गर्दै २०४७ सालमा तत्कालीन माले र माक्र्सवादीलाई मिलाएर नेकपा एमाले बनाउन पहल गर्नेमध्येको एक आफू पनि भएको बताउनुभयो । उहाँले पुष्पलालले उठाएको झण्डालाई अहिले आफूहरुले बोकिरहेको र लोकतन्त्रको रक्षाका लागि त्यो झण्डा कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

मदन र विद्याको बिबाह आफूले नै गराएको खुलासा

कम्युनिष्ट आन्दोलनका अग्रज र त्यागी नेताहरु आफूहरुसँगै रहेकोले पनि सक्कली कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नै भएको अध्यक्ष नेपालको दाबी छ । ओली नेतृत्वको एमाले गफाडीहरुको पार्टी भन्दै उहाँले त्यसविरुद्ध आफूहरुले देशभक्ती र लोकतन्त्रको झण्डा उठाएको समेत बताउनुभयो ।

माओवादीलाई शसस्त्र द्वन्द्वबाट शान्तिवार्तामा ल्याउन र गणतन्त्रको आन्दोलनमा कम्युनिष्ट पार्टीको तर्फबाट नेतृत्व गर्न आफूले भूमिका खेलको उहाँले जिकीर गर्नुभएको छ । गणतन्त्र प्राप्तिको आन्दोलन चलिरहँदा केपी ओलीले आन्दोलनविरुद्ध दिएको ‘बयलगाडा चढेर अमेरिका पुग्न सकिँदैन’ भन्ने अभिव्यक्ति स्मरण गर्दै उहाँले अहिले ठूलो पार्टीको अध्यक्ष भनेर फूर्ती नलगाउन चेतावनी दिनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले आफ्नो नेतृत्वकालमै एमालेले नौ महिना सरकार चलाएको र त्यो हालसम्मकै लोकप्रिय सरकार बन्न सफल भएको दाबी पनि गर्नुभयो । न्याय र समानतको पक्षधर भएकाले सबै जाति, वर्ग र समुदाय एकीकृत समाजवादी पार्टीमा आउने दाबी गर्दै उहाँले आगामी निर्वाचनपछि एमाले नामको पार्टी टर्च बालेर खोज्नुपर्ने अवस्था आउने टिप्पणी पनि गर्नुभयो ।

अध्यक्ष नेपालले निरङ्कुश शैलीमा सेता घोडामा चढेर मैमत्त भएका केपी ओलीलाई घोडाबाट तल झार्न सफल भएकैले संघ र प्रदेशमा एमालेको शक्त्ति गायब हुँदै गएको र आफूहरुको शक्ती उदाउन थालेको उल्लेख गर्नुभयो । महाधिवेशमा झिनो मतले विजयी भएका केपी ओलीलाई व्यक्तिवाद र फुटवादी अहंकारले समाप्त पार्दै लागेको उहाँको दाबी छ ।

सत्ता गठबन्धनलाई २०६२÷०६३ सालको आन्दोलनमा सहभागी दलहरुबीचको कार्यगत एकता भन्दै उहाँले केपी ओलीसँग कमल थापाको राप्रपा र महन्थ ठाकुरको लोसपा जस्ता दक्षिणपन्थी पार्टीहरु मात्र रहेको पनि बताउनुभयो । लोकतन्त्र रक्षाका लागि आफूहरुलाई जनताको विश्वास प्राप्त हुने उहाँको कथन छ ।

कम्युनिष्ट आन्दोलनको लामो चर्चा गर्दै अध्यक्ष नेपालले तत्कालीन एमाले नेता मदन भण्डारी र राष्ट्रपति विद्या भण्डारीको विवाह आफूले नै गराएको स्मरणसमेत गर्नुभयो ।

कहिल्यै दक्षिणपन्थी नहुने प्रतिबद्धता

अध्यक्ष नेपालले आफू र आफ्नो दल कहिल्यै दक्षिणपन्थी नहुने प्रतिबद्धता पनि जनाउनुभयो । केपी ओली जस्तो लम्पसार परेर सुटुक्क विदेशीहरुसँग नभेट्ने र उनीहरु सामु लम्पसार परेर कम्युनिष्ट आन्दोलनमाथि आफूले कहिल्यै घात नगर्ने उहाँको भनाइ छ ।

रायमाझीले पार्टीलाई दरबारमा बुझाएजस्तै केपी ओलीले पनि नयाँ तानाशाह बनेर एमालेलाई दक्षिणपन्थी मार्गमा हिँडाएकाले बाध्य भएर विद्रोह गर्नु परेको उहाँको भनाइ छ । नेपालले भन्नुभयो, ‘न्याय र समानतका लागि आवाज उठाउँदा एमालेमा ९ रेक्टरको भुईंचालो गएर सबै जग हल्लिएपछि हामी नयाँ पार्टी बनाउन बाध्य भएका हांै ।’

सम्भावित मुख्मन्त्रीलाई असल संस्कार बसाउन निर्देशन

अध्यक्ष नेपालले गठबन्धनमा सहमति भइसकेकोले बाग्मती प्रदेशमा झँै चाँडै १ नम्बर प्रदेशमा आफनै पार्टीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ । सम्भावित मुख्यमन्त्री राजेन्द्र राईलाई पूरानो शैली त्यागेर नयाँ ढंगले सरकारको नेतृत्व गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।

‘मुख्यमन्त्री बनेपछि पूरानै शैली नअपनाउनु होला । सरकार भनेको गरिबहरुको पनि हुँदोरहेछ भन्ने अनुभूति गराउन सबैका पीडा, वेदना सुन्नुहोला । पार्टीको होइन भनेर लाखापाखा नगर्नुहोला, नयाँ असल संस्कार बसाउनुहोला’, अध्यक्ष नेपालले निर्देशन दिनुभयो ।

टिप्पणीहरू