राजधानीका नदीहरु कहिले हुने निर्मल ?

राजधानीका नदीहरु कहिले हुने निर्मल ?

राजधानीबासीका असावधानीका कारण फोहोर र दुर्गन्धित भएका काठमाडौं उपत्यकाका नदीहरुको सरसफाइमा हालसम्म अर्बौं रुपैयाँ खर्च भइसकेको छ । खोलानाला सरसरफाइ भन्दै सरकारी र गैरसरकारी संस्थाहरुले ठूलो धनराशी खर्च गरेका हुन् ।

सबैभन्दा पहिले बागमती नदी सरसफाइको नाममा चलाएको अभियानले पनि धेरै वर्ष बिताएको छ । तर, बागमतीले अझै पनि फोहोरबाट मुक्ति पाउन सकेको छैन । वर्षौंदेखिको सरसफाई अभियान र त्यसमा भएको अर्बौं रुपैयाँ खर्चको उपादेयता बालुवामा पानी हुन पुगेको छ ।

खोलानाला प्रदुषित भएकाले बाटो हिड्नेलाई निकै सास्ती हुने गरेको छ । मास्क लगाउदाँसमेत बागमती खोलाको दुर्गन्ध सहन सर्वसाधारणलाई हम्मेहम्मे पर्छ । नदीनाला सरसफाइमा व्यापक जनसमुदायको परिचालन र जनचेतनाको कोणबाट अभियान सञ्चालन गर्दा केही सकारात्मक परिवर्तन आउन सक्ने जानकारहरु बताउछन् ।

खोलानाला सरसफाइ हुँदा स्थानीय वातावरण र पर्यावरणमा ठूलो सहयोग पुग्छ । सरकारी निकायबाट भएको लापरबाही एकातिर छ भने राजधानीका नदी प्रदुषित बनाउने कार्यमा नगरबासीको हेलचेक्र्याईं पनि उत्तिकै जिम्मेवार देखिन्छ । राजधानीका नदी किनारमा फोहोरको डंगुर फालिन्छ । त्यसतर्फ स्थानीय र सम्बन्धित निकाय बेखबर झैं देखिन्छन् ।

काठमाडौं उपत्यकामा भइरहेका नदीहरुको सरसफाइको सन्दर्भमा मूल समस्यामा ध्यान नपुर्याइएको भन्नेहरु पनि निस्केका छन् । नदी प्रदुषणको मुख्य विषयमा भन्दा सतही फोहोर उठाउने काम मात्रै भएको पेप्सीकोला निवासी अस्मिता मल्लले बताउनुभयो ।

उहाँका अनुसार उपत्यकाले थेग्न नसक्ने जनसंख्याको नियन्त्रण, बसाई सराई र अनियन्त्रित सहरीकरणको व्यवस्थापनमा उल्लेख्य प्रयास नहुँदा नदीहरु क्रमशः ठूला ढलमा परिणत भएको मल्लको बुझाइ छ । औधोगिक फोहोरदेखि घरेलु फोहोरसम्म ढल हुँदै यहाँका नदीनालामा गएर मिसिने गरेका छन् । ढल मिसिइरहने हो भने नदी प्रदुषणरहित हुने सम्भावना कहिले पनि नरहने विज्ञहरु बताउँछन् ।

पछिल्लो आठ वर्षदेखि थालिएको उपत्यकाका नदी सरसफाइ अभियानको परिणाम उल्लेख्य हुन सकेको छैन । ठूलो ओहोदामा बस्नेहरुबाट शुरु भएको नदी सफाइ अभियान पहिलेको तुलनामा पछिल्ला दिनमा त्यतिधेरै प्रभावकारी बन्न सकेको छैन ।

प्रारम्भमा बागमतीबाट थालनी भएको नदी सरसफाइ अभियान अहिले विष्णुमती, धोबीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खुसम्म पुगेको छ । तर, उक्त अभियानले खोलानाला सरसफाई कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको देखिँदैन ।

राष्ट्रिय अभियानको रुपमा लिइएको बागमती सफाइ अभियानसमेत अहिले घरको न घाटको जस्तो हुन पुगेको बताइन्छ ।

टिप्पणीहरू