सुनका गहना चम्काउने नाममा गाउँलेका आधा सुन गायब

सुनका गहना चम्काउने नाममा गाउँलेका आधा सुन गायब

सुनका गहना धुने बहानामा सुन लुट्ने गिरोहका दुई भारतीयलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार सुपौलका ३० वर्षीय हरिराम साह र सरसहाका ४५ वर्षीय अरुण साह हुन् ।

उनीहरुले उदयपुरको त्रियुगा नगरपालिकाभित्रका विभिन्न गाउँबस्तीमा मैलो भएका सुनका गहनालाई धोएर नयाँ बनाउने भन्दै सर्वसाधारणलाई ठग्दै हिँडेका थिए । पछिल्लो समय दुबै मिलेर त्रियुगा नगरपालिका ४, बगाहाका ताराबहादुर राईको छोरी कमल राईलाई ठगी गरेको उजुरी परेको हो ।

कात्तिक ११ गते राईको मैलो भएको एक तोला सुनको सिक्री चम्काउँदा आधा तोला सुन गायब बनाएका थिए । उनीहरुले विभिन्न केमिकल प्रयोग गरी सुनको केही तौल तरल पदार्थको रुपमा झिक्ने र त्यसलाई फेरि प्रशोधन गरेपछि सुन धोएको पानीमा रहेको तरल सुन फेरि सुनको ढिक्कामा परिणत हुने गरेको पाइएको हो ।

तीन दिनको खोजीपछि दुबै जना त्रियुगा नगरपालिका ११ बाट पक्राउ परेका हुन् । प्रहरीले अभियुक्तहरुबाट सुन चम्काउने पीताम्बर, एसिड, मट्टितेल, सुनका ससाना टुक्रा र तरल सुन थाप्न प्रयोग गरिएका भाँडा प्लेटलगायतका अन्य आवश्यक औंजारहरु पनि बरामद गरेको छ ।

अभियुक्तद्वयले सुन सफा गरेपछि सुक्न दिनुपर्ने भन्दै सुकाएको बेलामा हेर्न हुन्न भनेर गफमा भुलाउनेसमेत गरेका थिए । सुन धोएबापतको रकम पनि मनलाग्दी असुल्ने गरेका थिए । प्रहरीले दुबैलाई ठगी मुद्दाको आरोपमा थप अनुसन्धान गर्न आज अदालतबाट १० दिनको म्याद थप गरेको छ ।

उनीहरुले उदयपुरका अन्य स्थानमा समेत यसरी नै सुन चम्काउने नाममा सुन ठगी गरेको हुन सक्ने भन्दै पीडितहरुलाई लाज नमानी उजुरी गर्न उदयपुरका डिएसपी वेदप्रसाद गौतमले अनुरोधसमेत गरेका छन् ।

टिप्पणीहरू