​मन्त्रीसन्त्री माया मार्दै

अन्ततः केपी ओली सरकारमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सहभागी नहुने गरी राजनीतिक प्रतिवेदन तयार भएको छ । 
आज बुधबारदेखि शान्तिनगरस्थित ओमशान्ति पार्टी प्यालेसमा शुरु हुन लागेको केन्द्रीय समिति बैठकका निम्ति अध्यक्ष यादवले तयार पारेको प्रतिवेदनमा लेखेका छन्, ‘केपी ओली सरकारले विगतका सम्झौता कार्यान्वयनका लागि लिखित प्रतिबद्धता नजनाएका कारण सरकारमा नजाने…।’ तर, यही कुरालाई लिएर उपाध्यक्ष राजेन्द्र श्रेष्ठले फरक मत राख्ने भएका छन् ।

संविधान संशोधन गर्ने विषयमा पार्टी एकतायता कुनै छलफल नभएको, तर विभिन्न राजनीतिक भेटघाट वा सहमति निर्माणका क्रममा यसलाई बटमलाइन बनाइएका विषयमा उनले कुरा उठाउने भएका हुन् । फोरमसँग संघीय समाजवादी पार्टीको एकतालाई उपेन्द्रले विलय भएझैँ व्यवहार देखाइरहेको प्रति आपत्ति जनाइने भएको छ । 

उता, राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर बोलचाल गर्ने अवस्थामा छैनन् । फलतः पार्टी पूरै अस्तव्यस्त छ । संसदको एउटा अधिवेशन सकिएर आउने आइतबारदेखि अर्को अधिवेशन शुरु हुँदैछ । तर, राजपाले अहिलेसम्म दलको नेता चयन गरेको छैन । न पार्टीको विधान नै तयार भएको छ । दिल्लीमा मुटुको उपचार गर्न गएका ठाकुरको मुटुमा एनजिओग्राम गरिएको छ, तीनवटा स्टेण्ट हालिएको छ । चिकित्सकहरुले कम्तिमा एक महिना तनाव नलिन, कामको धपेडीमा नलाग्न भनेका छन् । एक महिनापछि पुनः दिल्ली बोलाएका छन् ।  

टिप्पणीहरू