पेट्रोलियम मूल्यवृद्धिविरुद्ध सबै विद्यार्थी संगठनको एक मुख

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध सबै विद्यार्थी संगठनको एक मुख

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सडक संघर्षमा उत्रिएको छ । अध्यक्ष हरिकृष्ण गजुरेलको नेतृत्वमा आज राजधानीमा क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले सरकार र आयल निगमबिरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरुले ‘अखिल क्रान्तिकारी जिन्दावाद !’, ‘जनता मारा सरकार मूर्दावाद !’ ‘महँगो मूल्यवृद्धि खारेज गर !’, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर !’, ‘दलाल र माफियाहरू मूर्दावाद’, जस्ता नारा लगाएका थिए ।

यता, सत्ता गठबन्धन निकट चारसहित ६ विद्यार्थी संगठनले पनि इन्धनमा भएको पटक–पटकको मूल्यवृद्धिबिरुद्ध आन्दोलनको चेतावनी दिएका छन् । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि गर्दा जनताको जनजीविकामा कठिनाई उत्पन्न भएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन विज्ञप्ति मार्फत् आग्रह गरेका हुन् ।माओवादी केन्द्र सम्बद्ध अखिल (क्रान्तिकारी), एकीकृत समाजवादी निकट अनेरास्ववियू, विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), जनमोर्चाको अखिल छैठौँ, जसपाको समाजवादी विद्यार्थी युनियन र क्रान्तिकारी माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

‘नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यवृद्धिले आम–नेपाली जनजीवनमा सृजना गरेको कठिन परिस्थितिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टीतेल जस्ता पदार्थमा चाडवाडको समयमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ ।’

सरकार नियन्त्रित आयल निगम तेल व्यापारीको जस्तो भूमिकामा देखिएको भन्दै उनीहरुले आयल निगमभित्रका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति रोक्न पनि माग गरेका छन् । जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने उपायहरुको खोजी गर्नेतर्फ पूर्णउदासीन रहेको निगम अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजनको हवाला दिएर एकोहोरो रुपमा भाउ बढाउन तल्लिन रहेको विद्यार्थीहरुको भनाइ छ ।

सरकारले पछिल्लो पटक अस्ति रातिदेखि लागू हुने गरि डिजेल, पेट्रोललगायतका इन्धनमा चर्को मूल्य वृद्धिको निर्णय गरेको छ । निगम स्रोतका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढिरहेकाले आगामी दिनमा थप मूल्यवृद्धि हुनेछ ।

टिप्पणीहरू