​अपराधीहरुलाई अब आनन्द

३३ किलो सुन प्रकरणमा एकपछि अर्को गर्दै प्रहरीका उच्चअधिकारी पक्राउ पर्ने, मुद्धा चलाइने भएपछि संगठनभित्र त्यसले के असर पारिरहेको छ ? एउटा गम्भीर दृश्य फेला परेको छ । ललितपुरको धोबीघाटबाट सनम शाक्य बेपत्ता पारिएको सूचनाका आधारमा उनलाई खोज्न खटिएको अपराध महाशाखाको टोलीले ३३ किलो सुन प्रकरणका मुख्य कारोबारी चूडामणि उप्रेती (गोरे) को कनेक्सनसम्म फेला पारेको थियो । 

बाँकी थियो, त्यसको तारतम्य मिलाउनु । गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेलको छानवीन समितिलाई बयान दिने क्रममा अपराध महाशाखाबाट हेडक्वार्टर तानिएका एसएसपी दिवेश लोहनीले भनेका थिए, ‘हामी पुलिस हौँ, तलाई समातेर थुन्छौँ भनेर आजकलका अपराधी डराउनेवाला छैनन्, न ती अपराधी हाम्रो सम्पर्कमै बसिरहन्छन् ।’ पौडेलले सोधे, ‘के गर्नुहुन्छ त ?’ दिवेशले सुनाए, ‘सनम शाक्य मारियो भन्ने सूचना पायौँ । तर, ऊ भ्याली बाहिर छ, जहाँ हाम्रो कार्यक्षेत्र पर्दैन । यति सिरियस केसमा कसैको भर परेर बस्यो भने न हाम्रो टास्क पूरा हुन्थ्यो, न अपराधीहरु फेला पर्थे ।’ दिवेशले बताएअनुसार, उनकै निर्देशनमा डिएसपी प्रजित केसीको टोली विराटनगर पुग्यो । प्रजितले दिवेशलाई सनमलाई मारेर राखिएको गाडी फेला पर्ने अवस्था छ भनेर धरानबाटै फोन गरेका थिए ।

सँगै उनले अर्को महŒवपूर्ण कुरा सुनाए, ‘गोरेको कनेक्सन फेला परेको छ । पैसाको डिल गर्नुपर्ने भयो । कसरी गरौँ ?’ दिवेशले भने, ‘हामीसँग दुई करोडसम्म दिने क्षमता छ भनेर कुरा अगाडि बढाऊ । त्यो भन्दा बढीको कुरा गर्छन् भने पनि आनाकानी गर्दै विस्तारै हुन्छ–हुन्छ भन्नु †’ अनुमति पाएपछि प्रजितले त्यसै गरे । गृहको समितिलाई दिवेश र प्रजित दुबैले यही कुरा बताएका छन् । सहसचिव पौडेलको टोलीले सोध्यो, ‘किन त्यसो गरेको त ?’ दिवेशले भने, ‘हामीलाई गोरे समात्नु थियो । के भन्दा, के गर्दा गोरे समातिन्छ, गर्ने त्यही हो । गर्ने कुरामात्रै हो, काम हैन । चाहे नैतिक होस् या अनैतिक– अपराध अनुसन्धानका क्रममा जस्ता पनि कुरा गर्न हामी तयार हुनुपर्छ, ताकि दिइएको टास्क पूरा होस् ।’ अपराध महाशाखाले त्यसबेला कामु आइजिपी बमबहादुर भण्डारीलाई सोधेर भ्याली छोडेको र घटनाको सबै क्रमबारे माथिल्लो निकायलाई जानकारी दिएको थियो । तर, माथिल्लो निकायले अनुसन्धानका लागि सम्बन्धित ठाउँमा खटाएकोबारे कुनै परिपत्र दिएको थिएन । गृहले दिवेशसँग लिखित कागजात माग्यो, जो उनीहरुसँग थिएन । त्यही कागजात दिन नसक्दा उनीहरु जिम्मेवारीबाट हटाइए । अहिले ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएका छन् । 

यसपछिका दृश्य हेरौँ, कति निराशलाग्दो छ । अपराध महाशाखाले लामो अनुसन्धानपछि काठमाडौंमै रहेका अवैध डलर र हुण्डी कारोबारीलाई समात्न मात्र बाँकी थियो । त्योबाहेक यस्तैखाले सात–आठवटा विषयका अनुसन्धान सकिएको, सकिने चरणमा थिए । तर, सनम शाक्यको शव फेला पार्न परिचालित टोलीले शव फेला पारेपछि, अर्थात् दिइएको काम सिध्याएपछि जसरी कारवाहीको शिकार बन्नुप¥यो, त्यसपछि अपराध महाशाखाबाट हुने कामहरु सबै ठप्प छन् । महाशाखाका एसएसपी, डिएसपी र सईहरु हेडक्वार्टर तानिएको झण्डै महिना दिन भइसक्यो । त्यसयता अपराध महाशाखाले एकजना मान्छे पनि समाउने हिम्मत गरेको छैन । अर्थात्, उनीहरुको मनोबल पूरै गिरेको छ । एकजना इन्स्पेक्टर भन्छन्, ‘मान्छे समातेर ल्याइएला, भोलि आयोग बन्छ, बयानमा बोलाउँछन्, जोगाइदिने कोही हुँदैनन्, आदेश दिनेले पनि लिखितमा दिँदैनन्, सब पन्छिनेमात्र हो । त्यसैले रिस्क नलिनु नै राम्रो ।’ अब भन्नुस् त, प्रहरीले नै ‘रिस्क’ लिने हिम्मत नगरेको देश कस्तो बन्ने होला ?

यो घटनापछि प्रहरीले पक्राउ गरेको अलिक ठूलो मान्छे भनेको दीपक मनाङे, प्रदेश नं. ४ का सांसद । यिनलाई समाउन पनि कति ठूलो नाटक गर्नुप¥यो ! प्रहरीसँग मनाङेको एनसेल नम्बर थियो, पत्नीको पनि एनसेल नै । चैतको २५ गते प्रहरी परिसर काठमाडौंका डिएसपी शेखर खनालको टोलीले मनाङे भएको ठाउँ पत्ता लगायो, ककनीको पैंतीस किलोमा । एसएसपी विश्वराज पोखरेललाई जानकारी दिएर दुई जना सई, एक हवल्दार र दुई सिपाहीसहित उनी दुई घण्टाभित्र ककनी पुगे । गएको रात प्रहरी टोली त्यहीँ बस्यो, तर मनाङे फेला परेनन् । उनीहरुसँग लोकेसन ट्रेसआउट गर्ने प्रविधि साथमै थियो । बिहान हेर्दा लोकेशन देखियो, धादिङको खानीखोला । त्यहाँबाट प्रहरी टोली खानीखोलाका लागि दौडन नपाउँदै लोकेशन फेरियो, काठमाडौंको पुरानो नैकाप । त्यहाँबाट विदुर हुँदै खानीखोला पुग्नुभन्दा काठमाडौं झरेर उनलाई खोज्न उपयुक्त ठानी प्रहरी फर्कियो । तर, एक हप्तासम्म यस्तो लुकामारी चल्यो कि, उनी कहिले शोभाभगवती, कहिले सानो भ¥याङ, कहिले ठूलो भ¥याङतिर देखिन्थे, तर पक्राउ परेनन् । अर्थात्, पक्राउ गरिहाल्न प्रहरी हच्कियो ।

एक हप्तापछि स्वयंम्भु, ठूलो भ¥याङस्थित सशस्त्र प्रहरीको आइजी निवासअगाडि मनाङे बस्तीमा लोकेशन देखियो । डिएसपी शेखरहरु समाउन हिँडे । जम्मा दुईजनाको टोली । बोलाइएका प्रहरीहरु जाऊँ कि नजाऊँ भनेर आलटाल गरिरहेका । यसबीचमा प्रहरीले एकजना सुराकी लगाएको थियो, मनाङेसँग । उनले रक्सी पिउन थालिसकेको र छाडा बोल्ने अवस्था भएको कुरा सुराकीलेसुनाए । त्यसपछि हतियारसहित दुई जना सई बोलाइए । पाँच जना हतियारधारी प्रहरीलाई बसेको घर देख्दा पनि मनाङे समाउन तीन घण्टा लाग्यो । कारण हो, राम्रो भनिएको काम गर्दागर्दै पनि प्रहरीले नै दोषी हुनुपर्ने खतरा । त्यसदिन प्रहरीले मनाङेमाथि इन्काउन्टर गर्नेसम्मको योजना थियो । तर, समय खराब हुनाले, त्यसमाथि राजनीतिक रंग लागेको भन्दै प्रहरी पछि हट्यो । 

यस्तो नाटकका बीच मनाङे त समातिए, र त्यसपछि समातिन ठिक्क पारिएका थुप्रै अपराधी समातेर काठमाडौंका प्रहरी रिस्क नमोल्ने बाटोमा लागेका छन् ।    

तिनको तर्क छ कि, त्यसबेला एयरपोर्ट ड्युटी भएका प्रहरीहरुको गोरेसँग कनेक्सन हुन सक्छ, यो सम्भव विषय पनि हो । तर, गोरेको पहिचान गरिसकेको, सनम शाक्यका हत्यारामार्फत गोरेसम्म पुग्ने बाटोमा हिँडिसकेको प्रहरी आफैँ अभियुक्त बनाइएकोचाहिँ किन ? कि, गोरेलाई उम्काएर अहिले समातिएका भन्दा पनि माथिल्लो स्तरका मान्छेलाई जोगाउन खोजिएको हुनुपर्छ, कि गोरे बचाउने गिरोहले प्रहरी फसाएर आफू उम्किन खोजेको हुनुपर्छ ।  

टिप्पणीहरू