प्रधानन्यायाधीशविरुद्ध बार, बारविरुद्ध वकिल

प्रधानन्यायाधीशविरुद्ध बार, बारविरुद्ध वकिल

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेर सडक संघर्ष गर्ने नेपाल बार एसोसिएसनको निर्णयलाई चुनौती दिँदै कानुन व्यवसायीहरु बिरोध प्रदर्शनमा उत्रने भएका छन् ।

न्यायालय सुधारका लागि प्रधानन्यायाधीशको राजीनामालाई अनिवार्य शर्त बनाएर चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको बारविरुद्ध कानुनव्यवसायी हकहित तथा शुद्धीकरण अभियान संघर्षमा उत्रिने निर्णयमा पुगेको हो ।

प्रधानन्यायाधीश राणाका कारण अदालतमा बेथिति मौलाएको, न्यायालयको गरिमा र जनआस्थामा आँच आएको भन्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बारले आजदेखि १७ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठको नेतृत्वमा कानुन व्यवसायीहरुले आज सर्वोच्च अदालत परिसरमा हातमा कालोपट्टि बाँधेर धर्ना दिएका छन् । १७ गतेसम्म विभिन्न बिरोधका कार्यक्रम सार्वजनिक गरेको बारले उक्त अवधिमा पनि प्रधानन्यायाधीश राणाले राजीनामा नगरे थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।

बारले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमविरुद्ध अभियानले छुट्टै संघर्ष थालेको हो । कानुन व्यवसायीहरुसँग छलफल नै नगरी बारले ट्रेड युनियन शैलीमा आन्दोलन शुरु गरेको भन्दै असन्तुष्ट रहेको अभियानले भोलि दिउँसो १ बजे ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ ।

अभियानले कानुन व्यवसायीहरुको हकहित तथा शुद्धीकरणतर्फ नलागी बार एकलौटी रुपमा अघि बढेको आरोप लगाएको छ । अभियानले आन्दोलनका कार्यक्रमहरु अविलम्ब फिर्ता लिन र इजलास सञ्चालनको वातावरण बनाउन मागसमेत गरेको छ ।

बारको आन्दोलनविरुद्ध आज केही कानुन व्यवसायीहरुले हातमा सेतोपट्टि बाँधेर प्रदर्शन गरेका थिए ।

टिप्पणीहरू