पटनाबाट सोझै प्रवेश

कसैको चाकरीका लागि मन्त्रीले आफ्नो ओहोदा र पदको गरिमा कायम राख्न नसकेको देख्न पाइन्छ अहिले २ नम्बर प्रदेशतिर । त्यहाँ ताप्केभन्दा पहिला बिँड तातेको छ । भारतीय पाहुनाको भ्रमणलाई व्यवस्थित, गर्ने नाममा त्रिपाल तथा टेन्ट व्यवस्थापन र गेट व्यवस्थापनजस्ता मामुली समितिको संयोजक बनेर मन्त्रीहरू रमाइरहेका छन् । नरेन्द्र मोदीको भ्रमणलाई भव्य बनाउने नाममा सामाजिक विकासमन्त्री नवलकिशोर यादव गेट निर्माण समितिको संयोजक बनेका छन् ।

यस्तै, भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल मञ्च व्यवस्थापन समितिमा रमाएका छन् । यो समितिमा त्यहाँका ५ सांसद कौशल यादव, रीता साह, परमेश्वर यादव, शैलेन्द्र यादव सदस्य छन् । उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश यादवले चाहिँ प्रचारप्रसारको जिम्मेवारी पाएका छन् । उनीसँगै यो समितिमा मनीष सुमन, रानी तिवारी, उमेश यादव, प्रल्हाद गिरी, शम्भु झा, बृजकिशोर यादवलगायत छन् । यही समितिमा पनि प्रदेशका ५ सांसद अटाएका छन् । यस्तै, नागरिक परिचालन समिति ५ वटा समितिलगायतका संयोजक मन्त्री नै छन् । ६ सय जनाको मूल समितिको नेतृत्वचाहिँ मुख्यमन्त्री लालबाबु राउतले सम्हालेका छन् ।

स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी दुई घण्टाका लागि मात्र जनकपुरमा रहनेछन् । २८ गते दिल्ली विमानस्थलबाट बिहारको पटना विमानस्थलसम्म भारतीय वायुसेनाको विशेष विमानमा आई नेपाल पस्नेछन् । पटना विमानस्थलबाट जनकपुरसम्म तीनवटा हेलिकोप्टरमा आउने कार्यक्रम तय भएको दुई नम्बर प्रदेशका एक मन्त्रीले जानकारी दिए । उनका अनुसार मोदी सवार हेलिकोप्टर जनकपुरको रंगभूमि मैदानमा अवतरण गर्नेछ । समकक्षीलाई प्रधानमन्त्री ओलीले स्वागत गर्ने र रंगभूमि मैदानमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम राखिएको छ । दुई वर्षअघि नै जनकपुर जाने कार्यक्रम तय गरेका मोदी जनकपुर मन्दिरमा पूजापाठसँगै हेलिकोप्टरबाटै मुस्ताङको मुक्तिनाथ दर्शन गरी अपराह्न काठमाडौं आउने बताइन्छ ।

टिप्पणीहरू