​लोकल पानी जहाज

बर्खे मौसम शुरु भएको छ । काठमाडौंमा पानी पर्न थालि सकेको छ । तर यसपाली के भएछ कुन्नि, एक घण्टा जति के पानी प¥या थियो ललितपुरतिर डुबानै भयो । ठाउँ ठाउँमा ढल खुलेनन् कि कसो, पानी जाम भएर पूरा सडक खोलै बन्यो । सडकमै खोलो बगेपछि कसैको मोटरसाइकल डुब्यो, कसैको गाडी । कसैको पसलमै पानी छि¥यो त कसैकोमा हिलो । स्थिति यस्तो देखेपछि धेरैले स्थानीय निकायलाई गाली गरे, ढल खोलेन भनेर । मेयर र वडाध्यक्षहरू भत्ता खान मात्र आएका हुन् कि भनेर पनि सरापे । 

रिस उठेपछि यसरी सराप्नु नराम्रो त होइन । तर मुख्य कुरा के भने स्थानीय निकायलाई सराप्दैमा सडकमा बगेको खोला सुक्नेवाला छैन । किनभने सडकमा यसरी खोलो बग्नुको कारण स्थानीय निकाय नै होइन । प्रमुख कारण त प्रधानमन्त्री हो । जबदेखि प्रधानमन्त्रीले पानी जहाज चलाउने कुरा गर्नुभयो तबदेखि उपत्यकाका सडक सडकमा पानी जमेर खोला बग्न थालेको छ ।

यसबाट के संकेत मिल्छ त भन्दा पानीजहाज कोशी नदीमा मात्र होइन हाम्रै उपत्यकाको गल्लिमा पनि चलाउन सम्भव रहेछ । गल्लि जति सबै खोला भएपछि त्यहाँ गाडी चलाउने त कुरै भएन । चलाउने भनेको पानी जहाजै हो । कोशीमा ठूलो पानी जहाज चलाउने, काठमाडौंमा सानो पानी जहाज चलाउने । त्यसलाई लोकल पानी जहाज भने पनि हुन्छ । महानगरपालिकाले लगानी गर्ने हो भने साझाले नै पानी जहाज चलाइदिन्छ । जहाज चलाएपछि बसवालाहरूको सिण्डिकेट पनि त्यसै तोडिन्छ । 

काठमाडौंमा अब मोनोरेल–सोनोरेल भन्दा पनि पानी जहाजै पहिला चल्ला जस्तो छ । कि कसो ? 

टिप्पणीहरू