देखाइसाध्ये छैन यो देशको दुःख
टुप्पी कसेर पढी लोकसेवाबाट नाम निकालेका स्थायी कर्मचारी ‘जोकरफाल्तु’ हुने, अनि हाकिमका साली, गर्लफ्रेण्ड, नातेदार भएको आधारमा करारमा भर्ती भएकाहरूकै हैकम चल्ने । सरकारी निकायमा देखिने विरहलाग्दो दृश्य हो यो ।
केहीअघि २९ जना कर्मचारी बढुवा भए, राजपत्र अनंकित प्रथम श्रेणीमा (कम्प्युटर अपरेटरतर्फ) । तीमध्ये अधिकांशको पदस्थापन मागै नगरिएको ठाउँमा भयो । केहीलाई संघबाट बाहिर लखेटियो । यसरी लोकसेवासँग माग भएका निकायमा उनीहरूलाई नपठाइनु, अन्यत्रै लखेटिनुको कारण थियो, करारका कर्मचारी ।
महालेखा परीक्षकको कार्यालयले कम्प्युटर अपरेटर नमाग्दा पनि ५ जना कर्मचारी खटाइयो । गृहले लोकसेवासँग १५ कम्प्युटर अधिकृत मागेकोमा ३ जना मात्र पठाइयो । निर्वाचन आयोगतिर दुई जना अपरेटर खटाइएकोमा करार सेवाका कर्मचारीलाई देखाएर स्थायी नियुक्ति लिएका कर्मचारीलाई हाजिरै गर्न दिइएन ।
यति मात्र होइन, केन्द्रमा बढुवा भई, केन्द्रकै विज्ञापनअनुसार नाम निकालिएका कर्मचारीमध्ये कोहीलाई रसुवा, रामेछापजस्ता दुर्गम जिल्लातिर खटाइयो । उसैगरी २ कर्मचारीको पदस्थापन भयो भौतिक पूर्वाधार मन्त्रालयमा । सामान्यले भौतिक मन्त्रालय वा अन्तर्गत भनेर पोस्टिङ गरिदिएपछि मन्त्रालयले विभागमा पठायो । विभागले हामीले कम्प्युटर अपरेटर मागेकै छैनौं भन्दै जिल्लास्थित संघीय सडक सुपरिवेक्षक तथा अनुगमन केन्द्रमा पदस्थापन गरिदियो ।
स्थायी कर्मचारी बाहिर घुमेका घुम्यै छन् तर विभिन्न मन्त्रालयमा अहिले पनि करारका कर्मचारीको मस्ती चलिरहेको छ । गृहमा १५ जना कम्प्युटर अधिकृत करार सेवामा कार्यरत छन् । शिक्षामा १०, शहरीमा ८, सामान्य प्रशासनमा ६, उद्योगमा ३, निर्वाचन आयोगमा २, कानुन र भौतिकमा दुई–दुई जना र खेलकुद मन्त्रालयमा १ जना कम्प्युटर अधिकृत करारका छन् ।
केहीअघि उद्योग विभागमा एक जना हाकिम थिए, उनले एक जना करारतर्फका महिला कर्मचारीलाई हटाउन खोजे । बदलामा भोलिपल्टै उनको सरुवा त्यहाँबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा गराइयो । ती सहसचिवले हटाउन खोजेका करार सेवाको कर्मचारी कुनै सचिवको ‘खास’ थिइन् । ती सचिव अहिले पनि सरकारी सेवामै छन् ।
अहिले काठमाडौंको सिडिओ बनेका गोविन्द रिजालदेखि सहसचिव थानेश्वर गौतमसम्मको पिए बसेर काम गरिसकेका उडेन सुवेदीले गृहमा ठाउँ पाएनन् । अर्थ मन्त्रालयको तथ्यांकअनुसार अहिले अस्तित्वमा रहेका ४० वटा सार्वजनिक संस्थानमा मात्र साढे चार हजार करार सेवाका कर्मचारी कार्यरत छन् । अन्य सरकारी निकायमा झण्डै २० हजार हाराहारी करार सेवाका कर्मचारी कार्यरत रहेको बताइन्छ ।
कम्प्युटरको कमाल
एउटा सामान्य कम्प्युटर अधिकृतको पावर कति होला ? तिनलाई तारन्तार जुन कुनै हाकिमले एयरपोर्टमै तान्नुपर्ने कारण के होला ? यस्ता पावरफुल कम्प्युटर अधिकृत हुन् प्रभात मल्लिक । सहायक कम्प्युटर अधिकृत हुँदा दरबन्दी थियो विराटनगरमा ।
तर, एयरपोर्टका हाकिमले काजमा काठमाडौं ताने । अहिले लमजुङको सिडिओ भएर खटिएका र तिनताक एयरपोर्टको हाकिम रहेका सुशील वैद्यमार्फत चलखेल गरी ललितपुरस्थित इलाका प्रशासन कार्यालय गोटीखेल पुगे । कम्प्युटर अधिकृतमा बढुवा भएसँगै पदस्थापन भयो जिल्ला अदालत ललितपुरमा । २ महिना नबित्दै गृहमा तानेर कास्की अध्यागमनको दरबन्दी राखियो तर खटाइएको छ एयरपोर्टमा ।
संवैधानिक निकायबाट कुनै कर्मचारी सरुवा गर्दा सहमति अनिवार्य लिनुपर्ने व्यवस्था छ । तर, मल्लिकको हकमा अदालतबाट सहमति समेत लिन अनिवार्य ठानिएन । बरु उल्टै गृहमा तानेर कास्कीको दरबन्दी राखी एयरपोर्टमा खटाइएको छ ।
टिप्पणीहरू