राजदूतको टिमले किन बुझ्यो २५ सय डलर ?

राजदूतको टिमले किन बुझ्यो २५ सय डलर ?

फिर्ता बोलाइएका अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाको टिमले विभिन्न राज्य र शहरमा सञ्चालन गरेको घुम्ती कन्सुलर सेवा विवादमा परेको छ । राजदूत बनेर गत माघमा वासिंगटन पुगेपछि पाँच वर्षभित्र अमेरिका पूरै घुम्ने योजनामा बुनिएको घुम्ती कन्सुलर सेवाको योजना आर्थिक विवादमा मुछिएको हो ।

खतिवडाको टोली मे १४ र १५ मा टेक्ससको ड्यालस घुमघामपछि मे १६ र १७ का दिन ह्युसटन पुगेको थियो । ड्यालसम पुगेको बखत स्थानीय नेपाली समुदायले उठाएर २५ सय डलर उपलब्ध गराएको रहस्य खुलेको छ । सरकारी भत्ता बुझेर त्यहाँ पुगेको दूतावासको टोलीले विमान भाडाको नाममा रकम लिएको तथ्यलाई ड्यालसका नेपालीले अहिले बाहिर ल्याएका छन् ।

खतिवडाको टोली ड्यालसमा मे १४ र १५ मा दुई दिन बसेको थियो । प्रायः स्थानीय मन्दिर र सामाजिक भवनमा दूतावासका कन्सुलर कार्यक्रम आयोजना गरिएको र एकाध ठाउँमा मात्र मुस्किलले होटलमा अमेरिका बस्ने नेपालीले भेला राखिएको बताएका छन् । राजदूत टोलीलाई त्यहाँको नेपाली समुदायले उठाएर २५ सय अमेरिकी डलर बुझाएको हो ।

अब त्यस्तै टोली त्यही नाममा नर्थ क्यारोलाइना राज्यमा अक्टोबर २९ र ३० का दिन गएको छ । फ्लोरिडाका निम्ति नोभेम्बर १ र २ को कार्यक्रम राखिएको छ । तर, यसपटक खतिवडा भने टोलीमा हुने छैनन् । उनलाई नेपाल सरकारले फिर्ता बोलाइसकेको छ । उनी अस्ति वाशिंगटनबाट सपत्नी नेपाल आइसकेका छन् ।

यसअघि जुन ४ र ५ मा लसएञ्जलस र ६ र ७ का दिन सानफ्रान्सिस्कोमा यस्तै कार्यक्रम राखिएको थियो । बोस्टनमा सेप्टेम्बर २५ र २६ तारिखका दिन खतिवडाको टोली त्यही कार्यक्रम लिएर गएको थियो । जबकि त्यतिबेला खतिवडा पदमुक्त भइसकेका थिए । टोली त्यसअघि डेनभर, कोलोराडोमा सेप्टेम्बर ११ र १२ का दिन पुगेको देखिन्छ. ।

कोलोराडोअघि सियाटलमा अगष्ट ७ देखि ९ तारिखका दिन त्यस्तै कार्यक्रम राखेर खतिवडाले घुम्ने इच्छा पूरा गरेका थिए । त्यसअघि शिकागोमा अप्रिल १७ .र १८ मा राखिएको थियो ।

यी सबै गरेर उनले पछिल्लो ६ महिनामा अमेरिकाका आठ वटा शहरको भ्रमण गरेका छन् । ती भ्रमणका लागि १६ दिन प्रयोग गरेका छन् । प्रायः साताको अन्तिम दिन शनिबार र आइतबार उनी घुम्न निस्कने गरी कार्यक्रमको सेड्युल मिलाएको समेत देखिन आएको छ ।

उनी नेपाल राष्ट्र बैंकको गभर्नर छँदा पनि यस्तै–यस्तै कार्य गरेका थिए । स्वदेश र विदेशको भ्रमणमा जाँदा अफिसियल मयार्दामा नपर्ने तहका कर्मचारीलाई समेत टिपेका थिए । कार्यकारी निर्देशक वा मुस्किलले एकाध निर्देशक मात्रै जाने व्यवस्थालाई उनले पूरै उल्टो बनाइदिएका थिए । त्यसपछि त्यो कार्य अहिले बैंकमा प्रचलनको रूपमा स्थापित भएको छ ।

टिप्पणीहरू