केपीले दिन जाने, अरूले खै के ठाने

केपीले दिन जाने, अरूले खै के ठाने

एमालेबाट विद्रोह गरी एकीकृत समाजवादी गठन गर्ने माधव नेपालहरू केपीका तुलनामा केही पछि परेका छन् । जस्तो कि, केपी मान्छेहरूहरूलाई हाताहाती पद र अवसर बाँड्न सिपालु छन् । तर, त्यही कुरामा सुस्त भइदिँदा माधव नेपालहरूको पार्टी जत्रो बन्नुपर्ने हो, त्यत्रो बन्न सकेको छैन ।

केपीले उति लामो राजनीतिक हैसियत नभएकी निरु पाल, अञ्जान शाक्य, शर्मिला ढकाल पराजुलीहरूलाई हाताहाती पद दिए । उनीहरू आजीवन केपीका हुने भए । तर, हालै अपानि– २ जारी गरेको एकीकृत समाजवादीले केन्द्रीय कमिटीमा पर्नैपर्ने केही पुराना मान्छेकै नाम छुटाएको छ । जस्तो कि, इलामका मणि सुब्बा ०४८ कै सांसद हुन् । लामो समय जिल्ला पार्टीको नेतृत्व गरे । पछिल्लो राजनीतिक घटनाक्रममा माधवतिरै थिए ।तर, अन्तिममा केन्द्रीय सदस्य बनाइएनन् ।

उनीसहित दाताराम खनाल, झापाका श्रीमननारायण पौडेलहरू परेनन् । दाताराम झलनाथका भाइ हुन् । भीम आचार्य अखिलको सचिव हुँदाका पौडेल सहसचिव । भूगोल विषयमा ०४० सालमै स्नातकोत्तर गरेका । तर, माधवको पार्टीले केन्द्रीय सदस्य पत्याएन ।

काभ्रेबाट सिफारिस हुँदाहुँदै पनि मुकुन्द गौतमहरू परेनन् । ओलीको साथ छाडेका शिवबहादुर देउजाचाहिँ केन्द्रीय अनुशासन आयोगको अध्यक्ष बनाइए । कैलालीमा लामो समयदेखि पार्टी काम गर्दै आएकी कमला केसी नपरेपछि त्यता पनि असन्तुष्टि चुलिएको छ । उनी प्यूठान माइत भएकी, मोहनविक्रम सिंहकी आफन्त हुन् । दाङ झरेदेखि एमाले भएकी उनले विवाहपछि कैलालीमा पार्टी काम गर्दै आएकी छन् ।

अहिले देशभरबाट झण्डै सयभन्दा बढी छुट्न नहुने नाम छुटाइएको गुनासो आएपछि पूरक अपानिबाट सच्याउने तयारीमा उक्त पार्टी लागेको छ । अरु जनसंगठनका अध्यक्षहरूलाई केन्द्रीय सदस्य बनाइयो, तर अखिल अध्यक्ष सुदेश पराजुलीलाई केन्द्रीय परिषद् सदस्य बनाइएपछि त्यहाँ पनि असन्तुष्टि छ ।

सुदेशको नाम केन्द्रीय सदस्यमा राखिन खोज्दा महासचिव बेदुराम भुषालले ‘फुच्चेफाच्चे केटाहरूको नाम कहाँ केन्द्रीय सदस्यमा राख्नु’ भनेर अस्वीकार गरेको अखिल स्रोतले गुनासो पोखेको छ ।

तर, केपी ओलीले पुस ५ को कदमपछि आफ्नो पक्षमा पार्टीका धेरै मानिस लागुन् भनेर १५ सय १ जनाको जम्बो केन्द्रीय कमिटी बनाइदिए । कतिसम्म भने माधव पक्षमै रहेका इलामका वडा नेता दावा तामाङलाई केन्द्रीय सदस्य नै बनाइदिए । उनी देउमाई– ३ का वडाध्यक्ष हुन् । यस्तो गरेर मान्छेहरूलाई ‘केपी ओलीले काठमाडौंमा बसेर पनि मलाई हेरिरहेको छ’ भन्ने पारिन्छ ।

त्यसमाथि परीक्षा दिने तयारीमा रहेकी करिश्मा मानन्धरलाई फोन गर्न केपी पछि पर्दैनन् । अहिले सल्यानतिरका माओवादीलाई टिकट दिउँला भनेर एमालेमा ल्याउने काम भइरहेको छ । त्यहाँ भएका एमालेलाई प्रकाश ज्वालाले लगेपछि पार्टीको ठूलो क्षति छ ।

अनि, मान्छे जाँच्न पनि केपी उत्तिकै माहिर छन् । इलामका प्रदेश सांसद रामबहादुर रानाले पहिल्यै शेरधन राईलाई संसदीय दलको नेतामा भोट हाले । तर, उनी आफूसँगै अडिन्छन् कि अडिँदैनन् भन्ने कुरा डेढ वर्षसम्म परीक्षण गरेपछि भर्खर प्रदेश सरकारमा कृषि राज्यमन्त्री बनाइयो । यसरी नगर कमिटीका सदस्यलाई सीधै केन्द्रीय सदस्य बनाउनाले १५ सय १ मध्ये प्रायःले एमाले छाडेनन् । उनीहरूलाई केपीले मूल्यांकन गरे भन्ने परेको छ ।

दिएर हुन्छ भने दिन पछि नपर्ने नेता हुन् केपी । दशैंमा कार्यकर्तालाई टीका लगाएर हजार रूपैयाँ भए पनि दिने नेता कि खुमबहादुर खड्का थिए, कि अहिलेका केपी नै हुन् । देउवा सरकारले ओलीद्वारा गठित भूमि व्यवस्था आयोग खारेज गरे । केपीले त्यसैमा आफ्नो प्रचार गरे, ‘लालपुर्जा दिनै लागेको थिएँ, यो सरकारले ती सुकुम्बासीलाई रुवाएको छ’ भन्दै ।

टिप्पणीहरू