​हारको जिम्मेवारी

छाया सत्ताधारी दल नेपाली कांग्रेसमा फेरि भाँडभैलो चलेको छ । फेरि भन्नुको अर्थ कांग्रेसमा यसअघि नै भाँडभैलो चलेको थियो । अहिले फेरि चल्यो । पछि पनि चलि नै रहन्छ होला । अब त यस्तो लागिसक्यो कि भाँडभैलो पनि कांग्रेसको एउटा दलीय गतिविधि नै हो । बिना भाँडभैलो कांग्रेस अघि बढ्न सक्दैन । 

यसपाली मच्चिएको भाँडभैलोको विषय हो – जिम्मेवारी कसले लिने ? गएको चुनावमा पार्टी हा¥यो । यो हारको जिम्मेवारी कसले लिने ? भाँडभैलो यसै विषयमा मच्चिएको रहेछ । पार्टीका कोही पनि नेता यो हारको जिम्मेवारी लिन चाहँदैन । हारको जिम्मेवारी उसले उसको टाउकोमा पन्छाएको छ, उसले उसको टाउकोमा थोपरेको छ । 

त्यसो त कांग्रेसमा यो नौलो कुरा होइन । हारको जिम्मेवारी नलिनुबाटै पुष्टि हुन्छ कि कांग्रेस एउटा गैरजिम्मेवार पार्टी हो । हार मात्र होइन कांग्रेसले कुनै पनि कुराको जिम्मेवारी लिँदैन । भर्खरै राष्ट्रिय अर्थतन्त्रको श्वेतपत्र जारी भयो । त्यसले देखायो देशको ढुकुटी त रित्तै छ । तर कांग्रेसले त्यसको जिम्मेवारी लिएन । देशमा सबैभन्दा बढी शासन गर्ने पार्टी कांग्रेस हो । तर देशको अवस्था यो हालतमा पुग्नुको जिम्मेवारी उसले लिएको छैन । किनभने कांग्रेस एक गैरजिम्मेवार पार्टी हो । एउटा गैरजिम्मेवार पार्टीले किन लिन्थ्यो र हारको जिम्मेवारी ?

टिप्पणीहरू