एमसीसीले मान्छे माग्यो

एमसीसीले मान्छे माग्यो

नेपालमा अमेरिकी सहयोग परियोजना सम्झौता (एमसीसी) खारेजीको माग चर्किरहेका बेला एमसीसीको नेपालस्थित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) ले कर्मचारी भर्नाको प्रक्रिया थालेको छ । एमसीएको नेपाल विकास बोर्डले सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारीको दरखास्त आह्वान गरेको हो ।

एमसीसीका परियोजनाहरू कार्यान्वयन शुरु गर्नुअघि कर्मचारी व्यवस्थापन आवश्यकता रहेको भन्दै एमसीएले प्रमुख वित्तीय अधिकारी, परियोजना प्रबन्धक तथा सडक मर्मत र प्राविधिक सहयोगी एवम् सञ्चार विशेषज्ञ गरि तीन जना कर्मचारी मागेको हो । माग गरिएका कर्मचारीको कार्यक्षेत्र काठमाडौं तोकिएको छ । सूचनामा तीनवटै पदका लागि फरक–फरक कार्यअनुभव र स्नातकसम्मको अध्ययन गरेको हुनुपर्ने उल्लेख छ ।सञ्चार विशेषज्ञको पदमा आवेदन भर्नेले मास कम्युनिकेसन, डिजिटल कम्युनिकेसन्स वा सो सरहको क्षेत्रमा स्नातक हासिल गरेको हुनुपर्ने छ भनिएको छ । डिजिटल मिडिया र ब्रान्ड प्रबन्ध, विकास वा निजी क्षेत्रमा अग्रणी डिजाइन र उत्पादनहरूमा कम्तिमा पाँच वर्षको अनुभव पनि खोजिएको छ ।

नेपालमा एमसीसी सम्झौतालाई लिएर चर्को विवाद छ । सम्झौता नेपालको राष्ट्रिय हितविपरित रहेको भन्दै राजनीतिक दल, नागरिक समाज, वुद्धिजीवीलगायत एमसीसीको विरुद्धमा छन् । दलहरूबीच विवाद हुँदा तीन पटक संघीय संसद सचिवालयमा दर्ता भए पनि एमसीसी सम्झौता अनुमोदन हुन सकेको छैन ।

सन् २०१७ मा तत्कालीन काँग्रेस नेतृत्वको सरकारका अर्थमन्त्री तथा हालका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता कार्यान्वयनका लागि संसदले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । तर, सम्झौताका कतिपय शर्तहरु नेपालको स्वतन्त्रता, सार्वभौम र स्वतन्त्र परराष्ट्र नीति विपरित रहेको भन्दै अधिकांश सांसदहरु सम्झौताको विपक्षमा उभिएका छन् ।

नेपालको ऊर्जा र सडक पूर्वाधारका क्षेत्रमा लगानी गर्ने भनिएको सम्झौतामा नेपाललाई ५० करोड डलरको सहायता प्रस्ताव गरिएको छ ।

टिप्पणीहरू