फुटकर पैसाको बहानामा यात्रु ठगिए

फुटकर पैसाको बहानामा यात्रु ठगिए

पछिल्लो समय यातायात व्यवसायीहरुले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने गरेको पाइएको छ । बागमती प्रदेश सरकारले निर्धारण गरेको नयाँ भाडा समायोजन नगर्दा दिनहुँ लाखौं यात्रु ठगिने गरेका छन् । व्यवसायीहरुले बागमती प्रदेश सरकारले बढाएकोभन्दा बढी भाडा असुल्दा यात्रुहरु मारमा परेका छन् ।

गत असोज २५ गते सरकारले बढाएको भाडा कात्तिक १ गतेबाट कार्यान्यवनमा आएको छ । सार्वजनिक यातायात व्यवसायीहरुले बाटोमा गाडी तेस्र्याउँदै सरकारलाई वैज्ञानिक भाडादर कायम गर्न र यसअघिको भाडा समायोजन गर्न माग गरेका थिए । त्यसैअनुरुप बागमती प्रदेश सरकारले २३ प्रतिशत भाडा बढाएको हो ।

सरकारले बढाएको नयाँ भाडाप्रति पनि यातायात व्यवसायी सन्तुष्ट देखिँदैनन् । त्यहि कारण मनलाग्दी भाडा असुलेको यात्रुहरुको आरोप छ । बागमती प्रदेश सरकारले दूरीको आधारमा भाडा बढाएको छ । पाँच किलोमिटरसम्म यात्रा गर्नेलाई १८ रुपैयाँ, १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ निर्धारण गरिएको छ ।

तर सार्वजनिक यातायातले भने एक किलोमिटर यात्रा गर्नेसंँग २० रुपैयाँ लिइरहेको छ । त्यस्तै, १० किलोमिटरमा २३ लिनुपर्नेमा २५ रुपैयाँ लिएका छन् । १५ किलोमिटरमा ३० रुपैयाँ लिने गरिएको बताइन्छ । सिक्का चलनचल्तीबाट हटिसकेको र आफूसँग नभएको भन्दै सहचालकहरुले यात्रु ठग्ने गरेको हुन् । कतिपय सवारीसाधनमा भने फिर्ता पैसाको सट्टा चकलेट दिने गरेको पाइएको छ ।

यता, खुद्रा पैसा नभएकाले १८ रुपैयाँ लाग्ने ठाउँमा २० रुपैयाँ दिनुपरेको यात्रुहरुको गुनासो छ । झण्झट हुने भन्दै धेरैजसो यात्रुले पनि हिजोआज खुद्रा पैसा बोक्दैनन । तर खुद्रा नभएको बहाना बनाउँदै व्यवसायीहरुले यात्रु लुट्ने मेलो पाएका छन् । एउटा सार्वजनिक यातायातमा दैनिक दुई हजार बढी यात्रु चढ्ने ओर्लने गरेको अनुमान छ ।

यात्रुलाई एकपटक बस चढ्दा फिर्ता गर्नुपर्ने दुई रुपैयाँ लिनु वा नलिनु सामान्य लाग्न सक्छ । तर समग्रमा व्यवसायीलाई यसबाट ठूलो नाफा हुन्छ । महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले बढी भाडा लिएका सार्वजनिक यातायातलाई कारबाही गर्ने गरेको जानकारी दिनुभएको छ । ‘हामीले हिजो मात्र बढी भाडा लिएका १ सय ९ वटा सवारी साधनलाई कारबाही गरेर भाडा फिर्ता गराएका छौं,’ उहाँले भन्नुभयो ।

बढी भाडा लिएका सवारी साधनबारे ट्राफिक कार्यालय र विभागमा खबर गर्न यातायात व्यवस्था विभागका एकजना अधिकृतले आग्रह गरेका छन् । साथै, उनले यात्रुहरुलाई खुद्रा पैसा बोक्न पनि सुझाव दिएका छन् ।

टिप्पणीहरू