जति दुःख गर्दा पनि उभो लाग्न नसक्ने नेपालको कृषि पेशा

जति दुःख गर्दा पनि उभो लाग्न नसक्ने नेपालको कृषि पेशा

किसान, सरल भाषामा भन्ने हो भने आमनागरिकहरुको अन्नदाता हुन् । रात वा दिन नभनेर अनाज फलाउने व्यक्ति हुन् । वर्तमान अवस्थामा हेर्ने हो भने मुलुकमा झण्डै ६५ प्रतिशत जनता कृषिमा आबद्ध छन् । तर खाद्यान्नमा भने हाम्रो परनिर्भरता वर्षैपिच्छे बढ्दै गएको छ ।

कृषि उपजले बजार भाउ नपाएको किसानहरुको गुनासो छ । त्यसमाथि बिचौलियाको मनोमानीले आहत छन् उनीहरु । किसानले निकै मेहेनत लगाएर फलाएको हरियो तरकारी बेचेर किसानलेभन्दा बिचौलियाले धेरै गुणा कमाउँछन् । त्यसबाट सँधै आफूहरु मारमा पर्ने गरेको भक्तपुरको चाँगुनारायण क्षेत्रका किसानहरु बताउँछन् ।

वर्षैपिच्छे रासायनिक मल, बिऊ र सिँचाइको चरम अभाव अरु कसैले होइन, किसानहरुले भोगिरहेको छन् । आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । किसानले प्रयोग गर्ने परम्परागत औंजारमा दशकौंदेखि कुनै विकास भएको छैन् । बजारमा आएका विदेशी नयाँ औंजारहरु खरिद गर्ने सक्ने स्थितिमा किसानहरु छैनन् ।

सरकारले नेपालको मौलिक वीऊबिजनको सुरक्षा गर्न सकेको छैन् भने किसानहरुले बेलैमा रासायनिक मलसमेत पाउन सकिरहेका छैनन् । पूर्वाधारको विकास हुनसक्दा पनि खेतबारीमा फलेका तरकारीहरु भने त्यत्तिकै खेर गइरहेका छन् । अर्कोतर्फ बाहिरबाट आयात हुने खाद्यान्नमा रोक लगाउन सकिएको छैन् । सरकारको नीतिगत अपारदर्शिता र वैज्ञानिक धारणामा विकास नहुँदा किसानहरुको जीवनस्तरमा खासै परिवर्तन आउन सकेको छैन ।

नेपाल कृषिप्रधान देश हो भन्ने धेरै देखिए पनि कसैले पनि कृषि क्षेत्रमा आमूल परिवर्तन गर्न चाहेको महशुस भएको छैन । बजारको उचित व्यवस्थापनको कमीले गर्दा वर्षेनी लाखौंको क्षति किसानहरुले व्यहोर्दै आएका छन् । बजार पाए पनि उचित मूल्य पाउन नसक्दा किसान निराश बन्दै गएका छन् ।

कृषि क्षेत्रमा बिचौलियाहरुको चलखेलका कारण किसान सँधै मारमा पर्ने गरेका छन् । सरकारले अरुलाई चिनेको झैँ गरे पनि देशका किसानलाई कहिल्यै चिन्दैन । किसान नचिन्ने कृषि नीतिले देशको कृषि क्षेत्र उँभो लाग्ने कुरो पनि भएन । आफूले दुःख गरेर उत्पादन गरेका कृषि उपजको लागत उठाउन किसानहरुलाई हम्मेहम्मे पर्ने गरेको छ । त्यसैले किसानहरु समेत कृषिबाट विमुख हुन थालेका छन् ।

कृषि पेशामा अहिलेका युवा पुस्ताले भविष्य देख्न छाडिसकेका छन् । कृषिकर्म गर्नेलाई नै पेटभर खान धौ धौ परेपछि अहिले अधिकांश किसानको परिवार कृषि छाडेर वैकल्पिक पेशाको खोजीमा भौंतारिएका छन् । युवाहरु वैदेशिक रोजगारीतिर लागेका छन् भने नयाँ पुस्तालाई कृषितर्फ चासो छैन । कोरिया र इजरायल गएर कृषि क्षेत्रमा रमाएका युवाहरु समेत आफ्नो देशमा फर्केर कृषि पेशा अपनाउन तयार देखिँदैनन् ।

चरम अभावबाट ग्रसित नेपालको कृषि क्षेत्रमा सुधार हुने सम्भावना निकै कम देखिएको छ । सरकारले किसानहरुको लागि सर्वसुलभ हुने सहुलियत ऋणको व्यवस्था कहिल्यै गरेको छैन । किसानका लागि भन्दै सरकारले घोषणा गर्ने सहुलियतपूर्ण ऋण वितरण प्रक्रिया किसानलाईभन्दा टाठाबाठा बिचौलियालाई नै पोस्ने काम भइरहेको छ ।

स्पष्ट नीति र कार्यान्वयनको अभावले मुलुकमा कृषि पेशा झन् झन् अपहेलित हुँदै गएको हो । हरेक सरकारले कृषिलाई प्राथमिकतामा राखेको नारा लगाउने गरेको छ । तर उपलब्धि भने शुन्यबाट माथि उठ्न सकेको छैन । सरकारले प्रत्येक आर्थिक वर्षको बजेटमा करोडौँ रुपैयाँ कृषिको लागि छृट्याउने गरेको छ । त्यसको केही हिस्सा मात्र वास्तविक किसानको हितमा प्रयोग हुने गरेको छ ।

यस्तो अभावमा किसानहरुको लागि बोलिदिने कोही पनि देखिँदैनन् । नेपालमा किसान भएर बाँच्नुको विडम्बना किसानहरुलाई नै थाहा छ भनिन्छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानहरुलाई अनुदानमा सहुलियत दिने भनेर गरेको .कतिपय निर्णय समेत कार्यान्वयनमा आउन सकेको छैन । आएको अनुदान समेत हुनेखानेले कुम्ल्याउने प्रवृत्तिले गर्दा कृषि क्षेत्रमा सुधार हुन नसकेको कृषि क्षेत्रमा लागेकाहरु नै बताउँछन् ।

टिप्पणीहरू