सडक बिग्रेको कति समयपछि सरोकारवालाको ध्यान जान्छ ?

सडक बिग्रेको कति समयपछि सरोकारवालाको ध्यान जान्छ ?

ललितपुरस्थित पाटनढोकाबाट पुल्चोक निस्किने मदन स्मारक सडकको अवस्था एक वर्ष यता दयनीय छ । उक्त सडकबाट पाटनढोका, पुल्चोक, ललितपुर महानगरको कार्यालय, मंगलबजार जान सकिने हुदाँ धेरै जनाले त्यही बाटो प्रयोग गर्छन् । तर सडक बिग्रेको वर्ष दिनभन्दा बढी भइसक्दा पनि त्यसको मर्मततर्फ सरोकारवालाको ध्यान र चासो गएको देखिँदैन ।

सडक सानो छ तर त्यसैको किनारमा सवारी साधन पार्किङ गरिन्छ । उक्त सडक नजिकै रहेको प्रहरी कार्यालयदेखि सबै व्यवसायीको साझा पार्किङ्गस्थल बनिरहँदा पनि स्थानीय तह मौन देखिन्छ ।

त्यहाँ रातको समयमा मात्र होइन दिउँसै पनि पैदलयात्री हिँड्न र सवारी साधन चलाउन धौ धौ हुने गरेको छ । सम्बन्धित निकायहरु भने एक अर्कालाई दोष दिँदै पन्छिएको पाइन्छ ।

सडक बिग्रेर ध्वस्त भएका धेरैवटा कारणमध्येको एउटा घरधनीले आफ्नो घरमा खानेपानीको पाइप बिच्छ्याउन, मर्मत गर्नको लागि नियमितजसो खन्नु हो । कतिपयले खनेको सडक काम सकिएपछि माटोले पुरेर छाडिदिन्छन् भने भने कतिपयले त्यो समेत गर्ने गरेको पाईंदैन ।

राजधानीको व्यस्त स्थानको सडक वर्ष दिनसम्म पनि मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको हो । सडकको दुरावस्था हुँदा पनि सडक विभाग, कार्यालय वा स्थानीय महानगरले अनुगमन टोली समेत नखटाएको स्थानीयवासिन्दा बताउँछन् ।

उक्त सडक एक वर्षभन्दा बढी समयदेखि बिग्रेको लिलितपुरस्थित सडक डिभिजन कार्यालयले पनि स्वीकार गरेको छ । तर उसले सडक बनाउने वा नबनाउने भन्ने कुरा स्थानीय महानगरको हातमा रहेको जनाएको छ ।

डिभिजनले साउन १ गतेदेखि ललितपुरस्थित सडक डिभिजन कार्यालय काठमाडौँमा मर्ज भएको हुदाँ उक्त बाटो डिभिजनअन्तर्गत नपर्ने भएको हो । त्यसैले अब उक्त सडक स्थानीय ललितपुर महानगरअन्तर्गत पर्ने कार्यालयले बताएको छ ।

सडक डिभिजनका सूचना अधिकारी लक्ष्मण देवकोटाले भने साउन १ गतेबाट ललितपुरस्थित सडक डिभिजन काठमाडौँसँग मर्ज भएको भए पनि सडक बिग्रेको एक वर्ष भएकाले स्थानीय तहसँगको समन्वयपछि तिहारलगत्तै बाटो बनाउने सहमति भएको बताउनुभयो ।

उहाँले आफूहरुले अनुगमन गरेपछि उक्त निर्णय लिइएको जानकारी दिनुभयो । यस्तै देवकोटाले घरधनीले जथाभावी खानेपानीको निम्ति सडक खन्ने गरेकाले आफूहरुले अनुरोध बाहेक केहि गर्न नसक्ने बाध्यता पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘उनीहरुलाई कारबाही गर्ने कि नगर्ने भन्ने कुरा स्थानीय महानगरको कार्य क्षेत्रभित्र पर्छ ।’

टिप्पणीहरू