​पाँच वर्षसम्म डिस्टर्ब गर्दैनौं

  • प्रदीप पौडेल, कांग्रेस युवा नेता 

निर्वाचन परिणामको जिम्मेवारी नलिने शेरबहादुर देउवाको अडान र पदाधिकारी नियुक्तिको एकलौटी तयारीपछि कांग्रेस बैठक अवरुद्ध भयो । ठोस निश्कर्षसहित केन्द्रीय कार्यसमितिको बैठक स्थगन भएपछि अहिले देशभरका कांग्रेस कार्यकर्ता निराश छन् । केन्द्रीय सदस्य प्रदीप पौडेल पनि बैठकबाट निराशामात्रै बोक्नुपरेको बताउँछन् । उनी ४ नं. प्रदेशसभा सदस्य पनि हुन् । पार्टीको बैठकले निराश बनाएपछि प्रदेश संसदको बैठकमा भाग लिन जाने हतारोका बीच कुराकानी गर्न राजी भएका थिए । 

० पदाधिकारी नियुक्तिका लागि बसेको बैठक स्थगित गरी पोखरातिर लाग्नुपर्ने बाध्यता के आइलाग्यो ?  

– पदाधिकारी नियुक्ति गर्ने सबै जिम्मा सभापतिलाई दिइएको छ र आगामी बैठकले त्यो विषय तय गर्नेछ । यसअघि सबै नेताले छलफलका लागि केही दिन पर सारांै न भन्ने भएपछि स्थगित गरिएको हो । 

० निर्वाचन परिणामको जिम्मेवारी लिने र नलिनेमा विवाद भएर केन्द्रीय समितिको बैठक टुंगिएको छ । नेपाली कांग्रेसको जीवनमा यो घटना कति गम्भीर छ ? 

– यो घटना गम्भीर थिएन । जानी–जानी त्यसलाई गम्भीरै बनाइयो । हो, निर्वाचनको परिणामलाई दाँजेर हेर्दा कांग्रेस नराम्ररी हारेकै हो । तर, पार्टीले हार खाइसक्दैमा निराश हुने कुनै कारण थिएन । यस विषयमा पार्टीका उच्चनेता एकमत भएर छलफलमा जुट्नुपर्ने थियो । त्यो देखिएन । म आफैँ पनि केन्द्रीय सदस्य र प्रतिनिधिसभाका लागि टिकट पाइसकेको व्यक्ति, तर पछि प्रदेशसभामा लगेर थन्क्याइयो । त्यतिबेला पार्टी क्षमता हैन, कसैको खटनपटनले चल्ने रहेछ भन्ने लाग्यो । अहिले पनि त्यही अवस्था छ । यसकारण प्रतिनिधि, प्रदेश, समानुपातिक टिकट बाँडफाँडमा सबै पार्टीकै उच्च नेताको मात्र हात थियो । तर, अहिले ‘केन्द्रीय सदस्यको दोष हो, उनीहरुले नै जिम्मा नलिई हुँदैन’ भनिएको छ । आखिर यसमा मेरो के दोष छ ? म कहीँ–कतै संलग्न छैन भने मैले किन त्यसको दोष लिने ? अहिले यो बहसलाई लम्बाई चौडाइ पारिएकोे छ । यस्ताखालका नचाहिँदा बहस गर्नु उचित हैन । 

० पार्टी सभापतिले  प्रतिपक्षका कारण हारियो भनिरहँदा बजार गर्माएको छ । यसलाई कसरी टिप्पणी गर्नुहुन्छ ? 

– उहाँले एउटा तर्क के गर्नुभएको छ भने, दुई ठूला कम्युनिष्टहरु मिल्नुपूर्व पनि विगतमा पार्टीले हार व्यहोरेको छ । र, अहिले हार्नु कुनै अनौठो कुरा होइन । यसो हेर्दा त्यो तर्क एक हिसाबले ठीकै पनि हो । तर, फेरि पनि बैठक बसेर कम्युनिष्टहरुकै कारण हार व्यहोरियो भन्नुपर्दा पनि आगामी निर्वाचन क्षेत्रमा कसको पहुँच र क्षमता कति छ भनेर विधि र प्रक्रियाअनुरुप नेतृत्वकर्ताको वेट (भार) दाँज्नुपर्छ । पहिल्यै कुरा कोट्टयाएर, गन्थन गरेर समय कटाउनाले सही निश्कर्ष निस्कँदैन । 

० देउवाले अब कांग्रेसलाई कहाँ पु¥याउलान् भन्ने अनुमान गर्नुभएको छ ?

– कांग्रेसभित्र मात्र होइन, यो कुरा प्रतिपक्षतिर पनि उत्तिकै गम्भीर रहेको देखिन्छ । त्यसकारण हामीमा पार्टी हाँक्ने कार्यशैली, रणनीति परिवर्तन गर्न आवश्यक छ । यथास्थितिवादले सही ठाउँमा पु¥याउन सक्दैन । परिवर्तनचाहिँ खोज्ने, तर नेतृत्व उही रहने हो भने कांग्रेस अघि बढ्न गाह्रो छ । त्यसैले सबै समस्याको हल गर्न सक्ने र चुनौतीको सामना गर्न सक्ने नेतृत्वकर्ताको आवश्यकता छ । यसकारण अबका बैठकमा यस्ता खालका सवालहरु उठान हुनपर्दछ,  न कि समय कटाउनेखालका । 

० तपाईंहरु फेज आउटेड लिडरसीपलाई रिप्लेस गर्ने मिसनमा हुनुहुन्छ । के त्यो सम्भव छ ?

– हो । हामीले पार्टीको कार्यशैली, तौर–तरिका, रणनीतिलगायतका अनावश्यक कुराहरु फेर्न खोजेको हो । राष्ट्रियताको खोक्रो परिभाषा दिएर राष्ट्र चल्दैन । यसकारण हामी (युवा) ले पार्टीमा यस्ता मुद्दाहरु उठान गरेर फेरि अर्काे गल्ती नदो¥याउन आगामी बैठकमा कुरा राख्ने नै छौँ । 

० विशेष महाधिवेशन वा नियमित महाधिवेशनमध्ये कुनको सम्भावना छ ? 

– हामीले त विशेष महाधिवेशनको मागै गरेका हौइनौँ । शीघ्र महाधिवेशन भनेका हौँ । गाउँपालिका, क्षेत्र, प्रदेशमा संरचना नभएकाले त्यहाँ पूर्णता दिनका लागि संरचनामात्र होइन, लोकतान्त्रिक गणतन्त्रको जगलाई समय सान्दर्भिक कसरी रुपान्तरण गर्ने भन्ने विषय उठाएका थियौँ । जुन कुरा पछि विशेष महाधिवेशनमा उठ्थ्यो नै । त्यसकारण महाधिवेशन चाँडो गर्नुपर्छ भन्ने पनि हामीले भनिरहेका छौँ । 

० महाधिवेशन कहिले हुन्छ त ? 

– चार वर्षको कार्यकालमा अब एक वर्ष बाँकी छ । त्यसपछि त नहुने कुरै भएन । 

० केही युवाले चुनावलगत्तै नेतृत्व शुद्धिकरण अभियानको घोषणा गर्नुभएको थियो । तर, तीमध्येका नेतालाई प्रवक्ता तोकेपछि तपाईंहरु सेलाउनुभयो नि ?

– हाम्रो पुस्ताले प्रवक्ता पाउनु खुशीको कुरा हो । हामीले पनि उहाँलाई भरपुर बधाई दिएकै हो । उहाँलाई युवा नेतृत्वले उठाएका मागलाई अघि बढाउन पनि सल्लाह दिइरहेका छौँ । त्यसैले यसबारेमा सेलाउनुभयो भन्न मिल्दैन । रफ्तारमै अघि बढिरहेका छाँै । तर, जति सोचेका थियौँ, त्यति भएको छैन । यसकारण जेठभित्र महासमिति बैठक सकाऔँ भन्ने हो, तर सम्भव न्यून देखिन्छ । मुख्य कुरा त नेतृत्व सम्हाल्ने विषयलाई जुँगाको लडाइ बनाइएको छ । महŒवपूर्ण कुरा त के छ भने, पार्टीको समीक्षा बैठक सकिएको छैन । चुनाव सकिएको यत्तिका समय भइसक्यो, हामीले समीक्षा सिध्याउन सकेका छैनौँ । यो लज्जास्पद अवस्था हो ।   

० देश संघीयतामा गइसकेको छ । तर, कांग्रेसले अझैसम्म संघीय इकाइहरु गठन गर्ने र तद्नुकूल संघीयताको अभ्यास गर्ने कामको थालनी गरेको छैन । के कारणले हो ? 

– त्यो यथास्थितिलाई बदल्न नसक्नु नै हो । अर्काे, आफैँले गर्नुपर्ने काम नगरेर अरुको बढी टिकाटिप्पणी गर्नु हो । पार्टीमा बाहिरको आगन्तुक आएर नेतृत्व परिवर्तन गर्नेवाला छैन । ढिलोचाँडो आफँैले गर्नुछ । तर, यहाँ यो बुझिएको छैन । त्यसैले ठीक समयमा किन काम गर्दैनौँ । जब कि देशको संरचना बद्लिएको छ तर हामी ढिला गरिरहेका छौँ । 

० तपाईं प्रदेश सांसद पनि हुनुहुन्छ । यो संघीयता वा प्रादेशिक संरचनाका सरकार, संसदहरु खर्चिलो हुने भनेर टिप्पणी भएका छन् । कामचाहिँ यसले के–के गर्ने भयो ? 

– अब हामी देशलाई संघीयतामा अघि लग्छौँ भनेर त्यतिबेला आन्दोलन ग¥यौं । अहिले पनि छ । हाल यसलाई संस्थागत गर्ने काम भइरहेछ । तर, कांग्रेस प्रतिपक्षी भएकोले त्यो काम गर्ने जिम्मा पाएको छैन । यहाँ केन्द्रको नेतृत्वमा एमाले छ र प्रदेशमा पनि उही छ । त्यसैले दुबैतिर ऊ नै निर्वाचित भएको कारणले नेतृत्व अघि बढाउने अवसर छ । अब त्यो काम उहाँहरुले कत्तिको गर्न सक्नुहुन्छ । यसमा हामीले खुट्टा तान्ने काम गरेका छैनौँ । र, पाँच वर्षसम्म ‘डिस्टर्ब’ गर्ने छैनौँ । 

० स्थानीय निकायलाई नै अधिकारसम्पन्न बनाएपछि प्रदेश सरकार किन चाहियो भन्ने तर्क पनि आएको छ । तपाईं के भन्नुहुन्छ ?

– यति ठूलो उचाईमा पुगेपछि यस्ता कुरा गर्नु प्रतिगमन हो ।  स्थानीय तह, प्रदेश र संघले गर्ने काम बकाइदाका साथ संविधानमा स्पष्ट उल्लेख छ । हुनसक्ला सबै कुरा खुल्दै जाला । यसकारण गर्नलाई थुपै्र काम छन् । प्राविधिक, प्रशासनिकलगायतका काम गर्नुपर्ने कुराहरु पनि थुप्रै छन् । यो निर्वाचित जनप्रतिनिधिको काँधमा छ । त्यसैले गर्नुपर्ने यत्तिका धेरै काम हुँदाहुँदै फुर्सदिलो त भइँदैन होला । मेरो विचारमा– प्रदेश सञ्चालनका काम अघि बढ्नुपर्छ । बाधा आएको खण्डमा भाषण गरेर होइन, के कारणले गाह्रो भयो केन्द्रसमक्ष भन्नुपर्छ ! 

० तपाईंहरुले आफ्नै जिल्लामा रामचन्द्र पौडेलजस्ता नेतालाई जिताउन सक्नुभएन । पार्टीमा गुट लागेर हो कि जनता कांग्रेसबाट निराश भएरै हो ?

– यसो भन्न मिल्दैन । एमालेले पाएको मतभन्दा अलिकति मात्रै कम हो । विगतमा कांग्रेसले पाउनुपर्ने मतभन्दा अलि बढी एमालेले पाएको हो । तर, यसमा कांग्रेस निराशै हुनुपर्ने अवस्था छैन । हिँड्दा कहिलेकाँही लडिन्छ त † लड्दैमा सिद्धिए भन्नु त भएन नि † होलान्, प्राविधिक पक्षमा बलियो भएर प्रस्तुत हुन सकिएन । त्यतिबेला तनहुँमा आन्तरिक समस्या पनि बग्रेल्ती थियो । नेता तथा कार्यकर्तालाई व्यवस्थापन गर्न नसकेकै कारणले यो स्थिति पैदा भएको हो । कुनै पनि हालतमा यो क्षेत्रमा कांग्रेस हारेको होइन आन्तरिक कुराहरु व्यवस्थापन गर्न नसक्नु मुख्य कारण रह्यो । अब, आगामी दिनमा हामी सच्चियौँ भने यस्ता अवसरहरुले साथ दिने नै छ । 

० वाम सरकारले सय दिनमा गरेको कामकारबाहीबाट के आशा गर्न सकिन्छ ?

– पहिलो त उहाँहरु अल्पमतमा हुनुहुन्न । बहुमतका साथ त्यो स्थानमा हुनुहुन्छ । वैैधानिक हिसाबले कहीँ–कतैबाट डराउनुपर्ने स्थिति छैन । त्यसैले संविधानले स्वागत गरेको अवस्थामा पनि उहाँहरुले काम गर्नु भएन भने त्यो सजाय जनताले दिने नै छन् । देश विकास गर्न अवसर पाउनुभएको छ । चुनावताका घोषणापत्र पनि खतरा नै बनाउनुभएको छ । भाषण पनि त्यस्तै छ । अब कार्यान्वयन गर्न सक्नुभएन भनेचाहिँ खत्तम हुनुहुने छ । र, अहिलेको तीन महिने कार्यशैली हेर्दा अलि बढ्ता भाषण भएको देखिन्छ । जनताको मनमा मल्हम लगाएको अवस्था देखिँदैन । राज्यको संरचनामा आफ्नो पहुँच बढाउनै व्यस्त देखिन्छ । 

टिप्पणीहरू