​माया भन्ने चिजै अनौठो

माया भन्ने चिजै अनौठो । प्रेमी–प्रेमिका, बाबु–आमा र सन्ततिबीच तथा लोकप्रिय नेताप्रति मायाका कारण जनताको छाती पिटिपिटी रोएको त देखिएकै हो । गत मंगलबार साँझ नाम, थर, ठेगाना र बाबु आमाबारे केही थाहा नभएकी एक महिलाप्रतिको माया र सम्मानमा सयौं आँखा बलिन्द्रधारा भए र दर्जनौं गला अवरुद्ध बने । मानसिक सन्तुलन गुमाएर बेवारिसे अवस्थामा भांैतारिने एक वृद्धालाई त्यतिबेलाको चलनबमोजिम आजभन्दा तीसौं वर्षअघि केन्द्रीय कारागारमा लगेर संरक्षण दिइएको थियो ।

कसैलाई हानी नगर्ने तर आफैंमा हराएर मनोरञ्जनात्मक रूपले प्रस्तुत भइरहने उनलाई जगन्नाथदेवलस्थित महिला कारागारमा राखिएको तीसौं वर्षपछि सो साँझ उपचारार्थ एक मायालु मनले अस्पताल लग्दै थियो । मनोरञ्जनात्मक ढंगले बेसुरा तालमा प्रस्तुत भइरहने, शरीर र हाउभाउबाहेक अरु केही थाहा नभएकी ती वृद्धा करिब ६० टेक्दा कारागारमा भित्रिएकी थिइन् । त्यतिबेलादेखि नै गोरो र उज्यालो मुहार भएकी १८÷१९ वर्षकी एक युवती कारागारमा आएर उनीलगायत अशक्त बन्दीका लुगा धोइदिने, नुहाइदिने र नङ काटिदिने गर्थिन् । प्रसिद्ध लेखिका पारिजातको संगत पाएकी पब्लिक युथ क्याम्पसमा पढ्ने तिनै मायालु युवती इन्दिरा रानामगर मानसिक सन्तुलन गुमाएका बेसहारा महिलालाई सुम्सुम्याउँदै माया गर्छिन्, पौष्टिक खानादेखि सफाइ र नयाँ लुगा फेराइदिने गर्छिन् । 

३० वर्षदेखि कारागारको फोहोर र झ्याल नभएको बाख्राको खोरजस्तै एउटा झुपडीमा बस्दै आएकी, थाइकटजस्तो सेतै फुलेको कपाल भएकी ती वृद्धालाई बन्दीहरूदेखि जेलर, सुरक्षाकर्मीले झ्याप्ली आमा भन्छन् । झ्याप्ली आमाका वरिपरी उनलाई माया गर्ने र स्याहार गर्ने कैदी महिला नभएका होइनन् तर उनी तिनै इन्दिराको माया र स्याहारमा मात्र रत्तिन्थिन् । मानसिक रूपले रोगी भए पनि झ्याप्ली आमाको मुहार ९० वर्षको उमेरमा पनि भर्भराउँदो छ । सो साँझ पनि इन्दिराले आमा, म तपाईंकी छोरी लिन आएँ भन्नासाथ एक्लैै झुपडीको भित्र ढोकामा अरू पस्न नसक्ने गरी छेकेर बसेकी उनले मुन्टो उठाइन् । इन्दिराले म तपाईंलाई लिन आएको भनिन् र आमालाई विस्तारै प्यारले उठाइन्, अँगालो मारिन् र झुपडीबाट विस्तारै निकालेर एम्बुलेन्ससम्म हिँडाइन् । जसै आमा अघि बढिन्, सँगै कारागारमा बस्ने महिलामा रुवाबासी मच्चियो । कसैले नजानुस् भनेनन् र बिदाइको अँगालो पनि मारेनन् तर अधिकांश महिलाले आमा गएको हेरिरहे, पछ्यौरीले आँखा र नाक पुछिरहे । अब आमा कहिल्यै कारागार फर्कने छैनन् र त्यहाँ उनको रिक्तता भइरहने छ । 

इन्दिरा र रिदम न्युरो साइक्याट्रिक अस्पताल, एकान्तकुनाका डाक्टर रितेश थापा दायाँबायाँ लागेर आमालाई एम्बुलेन्सतिर ल्याउँदै गर्दा उनले यस्तो पुरानो लुगा लाउँदिन, नयाँ देऊ भनी फरिया, स्विटर र चोलो सबै खोलेर फालिदिइन् । आमाको गोरो र वृद्ध शरीर निर्वस्त्र भयो । तर, त्यहाँ आमालाई माया गर्नेहरू कसैले अप्ठेरो मानेनन् बरु सयजनाभन्दा बढी मानिसको लाममा उनीप्रति झन् श्रद्धा पो देखियो । अनि इन्दिराले उनका गलाको सल झिकेर आमाको गर्धनदेखि गोडासम्म ढाकिदिइन् । आमाको अनुहार अझ उज्यालियो ।

धेरै महिला बन्दी आमालाई बिदा गर्न एम्बुलेन्ससम्म आए । जेलर गणेश भट्टराई, डिएसपी मित्रबन्धु शर्माले तीसौं वर्षदेखि उपचार नपाएर बसेकी एक वृद्धालाई आफ्नै आमासरह मायाममताले स्याहार गर्ने बन्दी सहायता नेपालकी इन्दिरालाई जिम्मा लगाउन पाएकोमा सन्तोष व्यक्त गरे । सयौं बन्दी महिलालाई रुवाउँदै निर्वस्त्र कारागारबाट बाहिरिएकी झ्याप्लीआमा अहिले अपतालमा नयाँ लुगा लगाएर सफा ओछ्यानमा उपचाररत छिन् । उनको रक्तचाप र चिनीको मात्रा सामान्य रहेको डा. रितेशले बताए । जनआस्था परिवार आमाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ !

टिप्पणीहरू