प्रचण्डले पनि भन्नुभयो ‘अर्लि इलेक्सन हुँदैन’

प्रचण्डले पनि भन्नुभयो ‘अर्लि इलेक्सन हुँदैन’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा समय अगावैको चुनाव अर्थात् अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना नरहेको बताउनुभएको छ । संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले समेत मुलुक अर्ली इलेक्सनमा जान नमिल्ने उहाँको भनाइ हो ।

हिजो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरामा सञ्चारकर्मीहरुसँग बोल्दै अर्लि इलेक्सनको सम्भावना नरहेको बताउनुभएको थियो । आज दाहालले जनकपुर पुगेर उक्त कुरा बताउनुभएको हो ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै दाहालले भन्नुभयो, ‘अर्ली इलेक्सन हुँदैन । हाम्रो संवैधानिक व्यवस्थाले पनि त्यस्तो परिकल्पना गरेको छैन । अर्को सर्वोच्च अदालतले गरेको फैसलाको कारण पनि अर्ली इलेक्सन हुँदैन । कोही कन्फ्युज्ड हुनु पर्दैन ।’

अर्को एउटा सन्दर्भमा अध्यक्ष दाहालले राष्ट्रियसभाको आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा मिलेर चुनाव लड्ने सैद्धान्तिक सहमति भइसकेको जानकारी दिनुभयो । उहाँले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने पनि बताउनु भएको छ ।

टिप्पणीहरू