​बिमा भन्दै, जनता किमा बन्दै

बिमाको नाममा जनतालाई किमा बनाउन लागिएको हो सरकार ? होइन भने यति महँगो र झन्झटिलो किन ? २५ सय रुपैयाँ बुझाएपछि पाँच जनाको परिवारलाई वर्षभरि ५० हजारसम्मको औषधोपचारमा छुट मिल्छ त भनियो तर त्यो ‘माछा माछा, भ्यागुता’ भनेजस्तो पो देखियो ।
‘सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा सहभागी बनौं, आफ्नो र परिवारको उपचारका लागि ढुक्क होऔं’ भनिए पनि सशंकित हुनुपर्ने स्थिति छ । आकर्षक नारासाथ ल्याइएको कार्यक्रममा ठूलो राहत मिल्ने आशा लिएर मानिसहरू सहभागी भइरहेका छन् । कतिपय जिल्लामा अझै सुरु भइनसकेको अवस्थामा कार्यक्रम सञ्चालित नजिकको क्षेत्रबाट समेत बिमा गरेर सहुलियत पाउन लालायित छन् बिरामी । सुगर, प्रेसरलगायत विभिन्न रोगले ग्रसित गैंडाकोटको एक बिरामी परिवारले भरतपुरबाट बिमा गरी आफ्नो सेवा केन्द्र तोके । ०७०÷७१ मा औपचारिक सुरुवातको घोषणा भई पहिलो चरणमा कैलाली, बागलुङ र इलामबाट थालिएको स्वास्थ्य बिमा कार्यक्रम चितवनको भरतपुर अस्पतालमा ०७४ भदौदेखि लागू भएको हो । सेवा लिन जाँदा सौतेनी आमाका सन्तानलाई जस्तै व्यवहार गर्दै सुविधाको रकममा बढी मूल्य काट्ने गरेको सेवाग्राहीले बताए । 

साधारणतया ८० रुपैयाँमा बेचिने प्रेसरको औषधि ‘ब्लनष्अबm–द्यभतब’ ३० चक्कीको मूल्य बिमितलाई २१० रुपैयाँ तिराइएको प्रिन्टेड बिलमा उल्लेख छ । भारतीय कम्पनीद्वारा उत्पादित उक्त औषधि १५ चक्कीको २७ लेखिएको छ । बिमितका लागि भरतपुर अस्पतालको ओपिडी १२ बजे नै बन्द हुने गरेको, बिमा नगरेकालाई भने २ बजेसम्म सेवा दिने गरेको सुन्नमा आएको बिमा बोर्डकी दर्ता अधिकारी सिर्जना कार्की बताउँछिन् । 

चितवन मेडिकल कलेजमा त झन् स्वास्थ्य बिमा गरेका बिरामी नलेऊ भनेरै उपेक्षा गरिएको बताइन्छ । सिएमसीले स्वास्थ्य बिमा गरेका बिरामीसित पैसा लिएको विषयमा छलफलसमेत भएको बुझिएको छ । भरतपुर–२, क्षेत्रपुरका प्रेम पोखरेलको परिवार केही दिनअघि स्वास्थ्य बिमा बोर्डको कार्यालयमा आए । बिमा गरेर पनि आफूहरूले डा. शीतललाई देखाउँदा पैसा तिर्नुपरेको, स्वास्थ्य बिमा गरेकै अर्काे परिवारका सदस्यले भने उनलाई देखाउँदा पैसा तिर्न नपरेको गुनासो उनीहरूले गरे । मेडिकल कलेजमै चेक गराउन गएका बिमितको सुगर बढी नै देखाएर औषधि सेवन गर्नुपर्ने बताइएको, उही मानिस लगत्तै भरतपुरको आईआर ल्याबमा गएर जँचाउँदा नर्मल भन्दै औषधि सेवन गर्न नपर्ने जनाइएको क्षेत्रपुरकै भुक्तभोगी भवानी अधिकारीले बताइन् । भरतपुर–७, कृष्णपुरका एक सेवाग्राहीले नाम नखुलाउने शर्तमा स्वास्थ्य बिमाको औषधि खाएर आफ्नी श्रीमतीको सुगर झनै बढेपछि बिमाको औषधि लिनै छोडिदिएको बताए ।

दुर्गम भेगका जनताले बिमा गरेको पैसा यता सहरी क्षेत्रका मानिसको उपचारमा खर्च भइरहेको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेल बताउँछन् । अरूलाई महँगोमा बेचिने कतिपय औषधि स्वास्थ्य बिमाका बिरामीलाई सस्तोमा दिने गरिएको दाबी उनको छ । बिमा नगरेकालाई २०० रुपैयाँ लिइने छातीको दबाइ मोक्सिक्विन बिमितलाई भने ४८ रुपैयाँमै उपलब्ध गराउने गरिएको अस्पताल फार्मेसीका शिवप्रसाद बसेलले बताए । राम्ररी अध्ययन नगरी शुल्क निर्धारण गरेका कारण यस्तो भएको बसेल बताउँछन् । स्वास्थ्य बिमाअन्तर्गत औषधि र प्रयोगशाला शुल्कमा एकरूपता हुन नसकेको विषयमा माथि कुराकानी भइरहेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीको भनाइ छ । अस्पतालको फार्मेसीमा सुधार गर्नुपर्ने, अनुगमन हुनुपर्ने बताउँदै बिमा बोर्डका दर्ता अधिकारी विनोदकुमार साहले भने, ‘आयुर्वेदिकसहित १११८ प्रकारका औषधि बिमामा समेटिएको छ तर सम्झौता गरेअनुसार सूचीकृत स्वास्थ्य संस्थाहरूले औषधि पनि पूरै राखेका छैनन् ।’

मेजरले मागे पैसा
चैतमा नेपाली सेनामा भर्ना खुलेको थियो । भर्ना हुन आएकासित दि फेमस महिन्द्र दल गण, भरतपुरका मेजर रामबहादुर अधिकारीले पैसा मागेको जानकारीमा आएको छ । भर्तीको लागि परीक्षा दिएकासँग फोन नै गरेर ‘पैसा दिए सजिलै पास गराइदिन्छु’ भन्दै तिनले एक लाख रुपैयाँ मागेको एक युवकले बताए । अझ इण्डियन आर्मीमा भर्ती हुन त दलाललाई दुई–तीन लाख रुपैयाँभन्दा बढी बुझाउनुपर्ने उनी बताउँछन् । टे«निङ सेन्टरका सञ्चालकले तालिमबापतको शुल्क लिने त छँदै छ, त्योबाहेक भर्ती गराउन पहल गरिदिने नाममा लाखौं रुपैयाँ लिने गरेको उनले सुनाए ।

– अजय गोर्खाली

टिप्पणीहरू