कस्तो पार्टी बनाउने हो र कामरेड ?

कस्तो पार्टी बनाउने हो र कामरेड ?

संसदीय राजनीति गरेपछि स्थानीय, प्रदेश तथा केन्द्रको निर्वाचनमा विजयी हुने र तीनै तहमा आफ्नो दलको सरकार बनाउने सबैको प्रमुख ध्येय हुन्छ । अहिलेको तीन सरकारमध्ये केन्द्रीय सरकारमा स्पष्ट बहुमत र सातमध्ये ६ वटा प्रदेशमा केपी ओलीले नेतृत्व गरेको पार्टीको सरकार थियोे र केन्द्र सरकारको प्रधानमन्त्री उनै थिए तर अहिले न ओली प्रधानमन्त्री छन् न त प्रदेशहरूमा उनले नेतृत्व गरेको पार्टीको सरकारहरू अस्तित्वमा छन् (दुईवटा प्रदेशका छिट्टै ढल्नेवाला छन् ) ।

केटाकेटीमा तासको महल फू गर्दा गल्र्याम्मै ढल्छ भन्ने सुनेको, नभन्दै त्यस्तै तरिकाले यहाँ सरकारै पो ढल्न गयो ! प्रधानमन्त्री सडकमा, मुख्यमन्त्रीहरू सडकमा, मन्त्रीहरू सडकमा, राजदूत सडकमा, राजनीतिक नियुक्ति पाएकाहरू सडकमा, सल्लाहकार महोदयहरू सडकमा । गाडी फिर्ता गरे, कम्प्युटर फिर्ता गरे, पिए फिर्ता गरे र अनेकखाले सुविधा फिर्ता गरे धेरैले ।

अन्य खाइपाई रहेकाहरू पनि सडकमा ! कतिपयको त भातभान्सामा असर पर्न गएको छ । उहिले गिरिजालाई गाली गर्दा ‘गिरिजा तेरो पाराले, दुःख पाए साराले भन्थे।’ अहिले के भन्छन् कुन्नि एमालेजनहरू, भोकल्ली होइन कि मनमनमा ?

‘भन्नेलाई भन्दा सुन्नेलाई अप्ठ्यारो’ भन्छन् गाउँघरतिर । अर्को ‘…देख्नेलाई…’ पनि भन्छन् । १० बुँदेको कुरा दुईतिरका पा“च–पाँच गरी दशभाइले जे–जे भने जनतासामु त्यही बुझ्ने हो सुनेका सबैले, अनुचरका कुरा नगरौं ।

१० बुँदे सहमति भनेको विवाद र मनमुटावले छिन्नभिन्न हुन लागेको एमालेलाई, सिंगो पार्टीलाई एकढिक्का राख्न, एमालेको सरकारलाई जोगाउन, प्रदेशहरूमा पनि एमालेकै सरकारलाई बचाइराख्न र अन्ततः एमालेकै नेतृत्वमा समाजवादको जग बसाल्न पार्टीलाई एकताबद्ध राख्नुपर्छ, कोही बाहिरिनुहुन्न भनेर अघि सारिएको सहमतिको प्रस्ताव हो भन्ने आमबुझाइ थियो । तर, यो त माधव नेपाललाई भिœयाउने एकतारे हो भन्ने पो आयो ।

के माधव नेपालबाहेक अरूले उठाएका मुद्दै होइनन् वा थिएनन् र ? माधव नेपालले ल विवाद सकियो भनेको भए हो हजुर, सबै विवाद सकियो भनेर चुपचाप बस्थे त अरू मान्छे ? माधव नेपाल गएर पनि दशबुँदेको मसला कायमै छ त, छैन र ! त्यसकारण यो दशबुँदे सहमति भनेको माधव नेपाललाई भित्राउने नभएर एमालेलाई एकताबद्ध राखिरहने सूत्र हो खासमा ।

एउटा व्यक्ति, नेताले भनेका सबै कुरा ठीक वा सही हुन्छन् भन्ने कुन सिद्धान्त हो कुन्नि ? लाए अह्राएको काम गर्ने, प्रश्न गर्न नपाइने भन्ने पनि सिद्धान्त होला र कुनै ? यस्तो कुराले एकताबद्ध राख्दैन, एकताबद्ध भएर सँगै बस्न नसकिने वातावरण बनाउँछ मात्रै ।

के कुरा सही हुने देखिन्छ भने एमाले अबको चुनावमा विजयी भएर बहुमतसहित सत्तामा पुग्न सम्भव छैन । अलिकति गम्भीर भएर हेर्दा महासचिवले समेत जित्न सक्ने अवस्था छैन भन्ने देखिन्छ यदि उही पुरानै चुनाव क्षेत्रबाट उम्मेदवार हुने हो भने, भनेपछि अरूको के कुरा गर्नु ? सल्लाहकारहरूले टिकट पाए भने तिनीहरूको त जमानत पनि फिर्ता नआउने अवस्था छ जमिनमा । माओवादी केन्द्र र एकीकृत समाजवादीको भोटलाई शून्य मान्ने हो भने पनि पपुलर भोटमा एमाले कांग्रेसभन्दा पछि छ ।

तर, यी दुईको भोट शून्य त हुनै सक्दैन बरु कतिपय ठाउँमा जित्ने नै अवस्थामा छ । एकीकृत समाजवादीले यदि हरेक चुनाव क्षेत्रमा एक हजार मात्रै भोट प्राप्त गर्न सक्यो भने अरू त अरू अध्यक्षसमेत गोलखाडीमा जान बेर हुन्न । तर, यस्तो भन्दा र लेख्दा सुन्ने र पढ्नेलाई भयंकर रिस उठ्न सक्छ । साइबर सेनाले क्विक अट्याक पनि गर्न सक्नेछन् । तर, यसरी नै जाने हो भने हुने यही नै हो, लेखेर राखे हुन्छ । रिजल्ट आएको दिन तिनले हामीसामु लाजले निहुरिनुको विकल्प रहने छैन ।

महाधिवेशन नजिकिँदै छ । मान्छेहरू भर्टिकल्ली विजयी भएर एकल नेतृत्व स्थापित गर्न लागिपरेका छन् । हेर्दा ठीकै होला जस्तो देखिन्छ । तर, कम्युनिस्ट पार्टी सामूहिक नेतृत्वमा चल्न सकेन भने हुने भनेको पार्टी खिइने हो, चोइटिने हो र साइज घट्ने हो। माधव नेपालहरू बाहिरिनुका अनगिन्ती कारणमध्ये एउटा प्रमुख कारण भनेको पार्टीको निर्णय प्रक्रियामा सामेल हुने अवस्था नरहनु पनि हो । अब फेरि पनि त्यस्तै वातावरण निर्माण गरिन्छ भने मान्छे दास भएर, अनुचर भएर र दयाले दिएको खाएर त कोही बस्दैन नि ! यहाँ एउटा प्रसंग जोडेर बिट मार्न चाहन्छु–

एमाले र मालेको एकीकरणसम्बन्धी प्रसंग हो । मेरा एक जना मित्र जसले यो एकता गराउने कुरामा केही भूमिका खेलेका छन् । आवश्यक परे पछि नाम उल्लेख गरौंला, उनले सुनाएको । एकता गराउने सिलसिला चलेपछि एमालेपट्टिका केही र मालेपट्टिका केहीलाई मनाउन निकै मिहिनेत गरेका थिए । यस सन्दर्भमा उनले एकता गर्नुपर्ने कुरा सिपीलाई पनि भनेछन् । किनभने पुरानै मालेका महासचिव थिए सिपी । ती मित्रले भेटेका विभिन्न मान्छेमध्ये सबैभन्दा बढी उत्साहित भने सिपी पो देखिएछन् । सिपीको उत्साह देखेर उनी झन् धेरै उत्साहित भएछन् ।

यी दुई पार्टी मिल्नुको विकल्प छैन, वाम आन्दोलन एकीकृत हुनुपर्छ, एकता गराउन लाग्नुस् भनेछन् । तर, उनले सँगसँगै यो पनि भनेछन्, ‘तर म त जान्न है !’ सबैभन्दा उत्साहित मान्छेले नै नजाने भनेपछि उनी खङरंगै परेछन् र किन भनेर सोधेछन् । एमालेमा मान–सम्मान भन्ने कुरा छँदै छैन । मिटिङमा बसिसकेपछि सबैले बोल्छन् । ओली, माधव, वामदेवहरू बोल्छन् र सबैले चुपचाप सुनिन्छ ।

तर जब मेरो बोल्ने पालो आउँछ कृष्णगोपाल, ईश्वर पोखरेललगायत मानिसले ए चिया ल्याऊ, ए पानी ल्याऊ, ए ऊ ल्याऊ र ऊ ल्याऊ भनेर होहल्ला गर्छन्, टेबुल ठोकेर बोल्न नसक्ने बनाउँछन् र मिटिङमा उनीहरूले जे भने त्यही कुरा लागू हुन्छ । फरकमत राख्नेप्रति, असहमति जनाउनेप्रति र आलोचना गर्नेप्रति त्यहाँ कुनै इज्जत, मान–सम्मान छैन ।

सही नै कुरा गरे पनि सुनिन्न । म एक्लै भए पनि माले पार्टी चलाएर बस्छु तर तपाईंहरू जानुपर्छ र जानुस् भनेर पठाएछन् । अब पनि फेरि उही पुरानै खाले एमाले बनाउने हो कि सबैले सबैलाई सम्मान गर्ने, सबैले सबैको कुरा सुन्न सक्ने र सबैको सहमतिमा सही कुराको निर्णय हुने कम्युनिस्ट पार्टीजस्तो एमाले बनाउने हो ? वातावरण यसअनुसार नबनाउने हो भने उही होहल्ला गर्ने र असहमत हुनेहरूलाई अपमानित गर्ने पार्टी नै बन्नेछ । राम्रा मान्छे पार्टीबाट बाहिरिन बाध्य हुनेछन्, समयमै चेतौँ !

टिप्पणीहरू