प्रधानन्यायाधीशविरुद्ध उभिए काँग्रेसका एक दर्जन नेता

प्रधानन्यायाधीशविरुद्ध उभिए काँग्रेसका एक दर्जन नेता

नेपाली काँग्रेसका एक दर्जन केन्द्रीय सदस्य प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध उभिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर १३ जना युवा नेताले न्यायालय सुधारका लागि भइरहेको अहिलेको संघर्षमा साथ दिने घोषणा गरेका हुन् ।

उनीहरुले आज संयुक्त विज्ञप्ति जारी गरेर न्यायालय शुद्धीकरणको लागि भइरहेको लडाईंको पक्षमा उभिन आह्वान पनि गरेका छन् । न्यायको आधारभूत मर्ममाथि हुने सबै किसिमका प्रहारलाई रोक्नु र अदालतप्रतिको जनविश्वासलाई डगमगाउन नदिनु काँग्रेसको प्रमुख दायित्व भएको उनीहरुको भनाइ छ ।

‘न्यायपालिकाको नेतृत्वको शुद्ध न्यायीक आचरण बिना न्यायपालिकाको स्वतन्त्रता सम्भव हुँदैन अनि न्यायपालिकाको स्वतन्त्रता बिना नेपाली काँग्रेसले विश्वास गरेको उदार लोकतन्त्रको संरक्षण सम्भव छैन । अतः अहिलेको अवस्थामा नेपाली काँग्रेस स्पष्ट दृष्टिकोणका साथ न्यायालय शुद्धीकरणको लागि भइरहेको लडाईंको पक्षमा उभिनुपर्छ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘लोकतन्त्र र न्यायको आधारभूत मर्म माथि हुने सबै किसिमका प्रहारलाई रोक्नु र अदालतप्रतिको जनविश्वासलाई डगमगाउन नदिनु काँग्रेसको प्रमुख दायित्व हो ।’

न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्यायप्रणाली भित्रैबाट उठेको बिरोधलाई सामान्य ढंगले लिन नमिल्ने भन्दै उनीहरुले काँग्रेस मुकदर्शक बन्न नहुनेमा जोड दिएका छन् । न्यायालयमा देखिएको अहिलेको समस्याको समाधन खोज्न काँग्रेसले जिम्मेवारीपूर्वक अग्रसरता लिनुपर्ने उनीहरुको तर्क छ ।

‘नेपाली काँग्रेसले अहिले न्याय प्रणालीका सन्दर्भमा उठेका प्रश्नलाई नजरअन्दाज नगरी समस्याको हल खोज्न जिम्मेवारीपूर्वक अविलम्ब अग्रसरता लिनुपर्दछ । साथै विगतमा न्यायलयसँग सम्बन्धित कानुनी र अभ्यासगत रुपमा भए गरेका काम कारबाहीबाट सिक्दै न्याय प्रणालीको संस्थागत विकास, न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताका खातिर दीर्घकालीन समाधान खोज्नका लागि नेतृत्वदायी भूमिका पनि नेपाली काँग्रेसले लिनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

संयुक्त विज्ञप्ति निकाल्नेमा केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादव हुन् ।

टिप्पणीहरू