कन्फ्रन्ट गर्ने कि कम्प्रोमाइज गर्ने कमरेड ?

‘कन्फ्रन्टेसन’ कि ‘कम्प्रोमाइज’ ? १० बुँदे सहमतिलाई ‘रामवाण’ मानेर एमालेमै रहने निश्कर्षमा पुगेका १० स्थायी कमिटी सदस्यका हकमा पछिल्लो परिस्थिति त्यस ढंगले विकसित भएको छ ।

अध्यक्ष केपी ओलीले ‘माधव आउँछ कि भनेर १० बुँदे गरिया’थ्यो– अब केको १० बुँदे ? ट्याऊँ–ट्याऊँ–ट्याऊँ बन्द गरौँ’ भनी दिएको अभिव्यक्तिले यतिबेला १० भाइसहित तिनका कुरा मानेर एमालेमै रहेको एउटा पंक्ति ‘कन्फ्रन्टेशन’ कि ‘कम्प्रोमाइज’ को स्थितिमा पुगेको हो । अर्थात्, पार्टी तथा जनसंगठनका कमिटीहरूलाई ०७५ जेठ २ को स्थितिमा पु¥याएर त्यहीँबाट एकताको नयाँ आधार खोजी गरिने मूल विषयप्रति ओलीको अनिच्छा ‘ट्याऊँ–ट्याऊँ–ट्याऊँ’ भन्दै स्पष्टसँग प्रकट भएको छ ।

भीम रावलको सुदूरपश्चिम इञ्चार्ज, योगेशको प्रचार विभागसहितको प्रवक्ता, अष्टलक्ष्मीको बागमती प्रदेश इञ्चार्ज नै सुरक्षित नहुने स्थितिले १० बुँदे त्यसै पनि कार्यान्वयन नभएकै थियो । सुनसरीमा जेठ २ को स्थितिका अध्यक्षलाई ओली पक्षले अस्वीकार गर्दै १० बुँदे जारी हुनुअघि अध्यक्ष बनाइएको कमिटीलाई नै मान्यता दिने काम भयो ।

जेठ २ को स्थितिमा जहाँ–जहाँ १० भाइ पक्षधर अध्यक्ष थिए, तीमध्ये कुनै पनि ठाउँमा ओली पक्षले पछि बनाइएका अध्यक्ष नछाड्ने पक्का छ । तलको त कुरै भएन, माथिका नेता नै रेटिने क्रम जारी छ । न विधान महाधिवेशनमा फरक मत दर्ज गर्न दिइयो, न वडा तथा पालिका अधिवेशनमा त्यो पक्षलाई समेट्ने गरी नै काम भयो । त्यसैले १० बुँदे कार्यान्वयन गर्ने कार्यदलको संयोजक बनाइएका भीम रावलले त्यसबाट राजीनामा दिएका छन् । ओलीलेचाहिँ त्यो राजीनामालाई ‘अति सामान्य’ मान्दै ‘सक्नुभएन, राजीनामा दिनुभयो’ भनी उडाउने काम भएको छ । असहिष्णुता कतिसम्म भने काठमाडौंको १४ वडा, कलंकी भेगकी जनप्रतिनिधि शोभा सापकोटालाई एमालेमै बस्छु नि बाबा भन्दाभन्दै पनि बल्खुस्थित पुरानो पार्टी कार्यालयबाट यही ६ गते लखेट्ने काम भयो ।

मंसिरमा चितवनमा गर्ने भनिएको महाधिवेशनबाट के गर्ने भन्ने केपी ओलीको रोडम्याप स्पष्ट छ । यो कुरा १० भाइले १० बुँदे हुनुअघि नै नबुझेका हैनन् । केपीले विधान महाधिवेशनबाट सम्पूर्ण वैधानिक, राजनीतिक कार्यदिशा निर्माण गरिसक्नुभयो । चितवनमा आफू अकन्टक अध्यक्ष हुने र चाहेका मान्छेहरूलाई पदाधिकारी, केन्द्रीय सदस्य बनाएरै छाड्ने । अन्तिममा माधव नेपालको साथ छाड्नेहरूले यति कुरा नबुझेका होइनन् । जेजस्तो भए पनि त्यहीँभित्र लडाइँ गर्ने नाममा उनीहरू एमालेमै रहेका हुन् । तर, केपीले ‘लड्ने ठाउँ’ पनि नदिँदा बेहाल भएको छ । मंसिरको महाधिवेशनबाट नयाँ नेतृत्व छानिएर अर्को पक्षको विधिवत सफायापछि त १० बुँदेको अर्थ पनि रहन्न । त्यसपछि ०७५ जेठ २ मा फर्कनलाई ठाउँ नै रहन्न ।

नीति, विचार र सिद्धान्तको कुरा आउँथ्यो वा त्यसमा बहस गरेर जाने कुरा हुन्थ्यो भने १० भाइले माधव नेपालको साथ छाड्ने थिएनन् । ‘जसरी पनि एमालेमा रहने’ नाममा जे भयो, त्यो कारण शक्ति खण्डिकृत भइसक्यो । हिजो एमालेमै हुँदा झलनाथ, माधव, वामदेवहरूले जसका लागि बोलिदिन्थे, ती मान्छे १० भाइ नै थिए । अहिले उनीहरूका लागि बोलिदिने नेता एमालेमा भएनन् । शुरुमा त ‘हामी आफैँ–आफैँ हौँ, कोही कसैका हैनौँ’ भन्दै योगेश भट्टराईहरू निक्कै तात्तिए । तर, यतिबेला ओलीले ती ‘आफैँ–आफैँ हौँ’ भन्नेहरूलाई भाउ दिएनन् । यदि यो स्थितिमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम साथमा भएको भए कम्तिमा उनीहरूले बोल्थे । उनीहरूले बोलेपछि केपीलाई सुन्न करै लाग्थ्यो । भनिएका कुरा माने पनि नमाने पनि त्यसले पार्टीभित्र एउटा जनमत निर्माण गर्न सक्थ्यो ।

तर, अहिले त कुरै नसुनिदिने, गरिएको १० बुँदे पनि ‘ट्याऊँ–ट्याऊँ’ का नाममा उडाइदिने काम भएको देखिँदैछ । यदि त्यो १० भाइसहितको शक्ति माधवसँगै रहिदिएको भए केपी ओली यतिबेलासम्म माधव–झलनाथहरूलाई ‘आइदिनुस्’ भन्ने ठाउँमा पुगिसक्नुहुन्थ्यो । अहिले त १० बुँदे कार्यान्वयन गरिदिए माधव नेपाल नै एमालेमा फर्किएलान् र मुखमा आएको दोस्रो कार्यकालको अध्यक्ष उनैले खाइदेलान् भन्ने पीरले निक्कै सताएको छ । त्यसैले अस्ति सोमबार झापा पुगेर फेरि पनि दोहो¥याउनुभएको छ, ‘माधव नेपालबाहेक अरु सबै आउनुस् †’ अर्थात्, मुखले जे बोले पनि नवौं महाधिवेशनको ४० प्रतिशत हिस्साका अगुवाहरू निस्केपछि ‘म प्रतिस्पर्धीविहीन पार्टी बनाउँछु । मैले भनेको मान्नेजति सबै आओ’ भन्ने केपीको लाइन हो ।

अहिले स्थानीय तहमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका प्रतिनिधि ९.९४ प्रतिशत छन् । हिसाबअनुसार एमालेलाई कूल ७ प्रतिशतको दरले क्षय भएको भनिन्छ । १० भाइ माधवको साथमा भएको भए पाँचदलीय गठबन्धनसँग दुई तिहाई बहुमत हुन्थ्यो । त्यसले राष्ट्रपतिदेखि प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारीदेखि ओली राजका सबै संरचनालाई तहसनहस पारिदिन्थ्यो । र, त्यस्तो क्षतिले एमालेलाई मिलाउने ठाउँ पनि छिट्टै बन्थ्यो । तर, फेरि पनि एमालेलाई ‘कम्पनी’ बनाउने मौका १० भाइकै लाचारीको कारण मिलिरहेको छ । एमालेस्रोतका अनुसार, केपीले चितवन महाधिवेशनबाट आफू सर्वसम्मत अध्यक्ष भएपछि ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष, रामबहादुर थापा (बादल), सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्ष बनाउने सम्भावना छ । महासचिवमा विष्णु पौडेल, उपमहासचिवमा शंकर पोखरेल, सचिवमा अहिलेकै ५ जनालाई कायम राखिनेछ । थप दुई सचिवमा मधेसीबाट रघुवीर महासेठ र महिलाबाट राधा ज्ञवालीलाई लैजाने सम्भावना छ ।

यसरी १० भाइमध्येकी अष्टलक्ष्मी, योगेश, गोकर्ण र भीम आचार्यको पदाधिकारीमा सुरक्षित हुने भयो । बाँकी ६ जनासँग कति मान्छे छन् भन्ने हिसाबका आधारमा स्थायी कमिटी सदस्यदेखि आयोगको अध्यक्षसम्ममा ओलीले सेट गर्न खोजेको बुझिन्छ । जस्तो भीम रावलसँग कति अनुयायी छन् भन्ने स्पष्ट भइसक्यो । यदि उनी शक्तिशाली हुन्थे भने सुदूरपश्चिमको संसदमा एकीकृत समाजवादी सबभन्दा ठूलो दल हुने थिएन । भयो, किनभने भीम रावलका साथमा कोही गइदिएनन् । मान्छे नै नभएको भीम रावलको सधैं किचकिच सुनिरहनु परेपछि ओली पनि हैरान हुनु स्वाभाविकै हो । भीमको स्वभाव नै हो, कुनै पनि जिम्मेवारी पहिला लिने, पछि किचकिच गर्दै फाइदा उठाउने । उनले दंग्याएर खाएको कम्बोडियाबाट डलर कमाएर फर्केपछि ०४८ सालदेखि नै हो । ०६१ सालमा उच्चस्तरीय राजनीतिक समितिमा माधव नेपाल रहँदा तलको उपसमितिमा भीम रावल । तर, त्यसैबाट राजीनामा दिएर अप्ठेरो पारे ।

०६५ फागुनको आठौँ बुटवल महाधिवेशनमा उपाध्यक्ष हारेपछि केन्द्रीय सदस्यको शपथ लिएनन् । ०६६ सालमा गृहमन्त्री बन्ने भएपछि बल्ल जेठमा झलनाथबाट शपथ लिए । पहिले नै पर्यटनमन्त्री बनिसकेका उनले ०६३ मा परराष्ट्र मन्त्री बन्न निहुँ खोजे । उनी शिक्षामन्त्री बन्न नमानेपछि प्रदीप नेपाललाई त्यता पठाइयो र सुदूरपश्चिमबाट शिक्षा राज्यमन्त्री मोहनसिंह राठौरलाई बनाइयो । कृषिमा राज्यमन्त्री तोकिएका छविलाल विश्वकर्मालाई फुल मन्त्री बनाइयो । अनि, साहनालाई परराष्ट्रमन्त्री बनाएर उनको मुख बन्द गरियो । ०७५ जेठ २ पछि नेकपाको केन्द्रीय सदस्य भएका बाजुराकै दयालबहादुर शाहीको यसरी हुर्मत लिए कि उनको पद नखोसी भीमलाई निद्रा परेन । दयाल अझै पनि भन्छन्, ‘यो बोर्डरको डाँका हो, यता लुट्छ, उता गएर लुक्छ !’

हुन पनि रावलसँग झपट रावलमात्रै रहने भए । समानुपातिकतर्फ प्रदेशका आठमध्ये सात जना माधवतिर छन् । आफ्नै क्षेत्रमा भैरे कामी, मना, दीर्घ सोडारी, तारामान लामाको पंक्तिले उनलाई साथ दिएन ।

ओलीले घनश्याम भुषालका हकमा पनि कति मान्छे छन् भन्ने आधारमै व्यवहार गर्दै हुनुहुन्छ । तिलोत्तमा नगरपालिकाको मेयरमा विष्णु पौडेलले मोहन चापागाईंलाई टिकट दिँदा घनश्यामले लडेर बासुदेव घिमिरेलाई टिकट दिलाए । तर, उनै बासुदेव अहिले विष्णु पौडेलतिर लागेका छन् । विष्णु पौडेल नवलपरासीबाट चुनावमा उठे हराइदिने उद्घोष गरेका कृष्ण पौडेल, बैजनाथ चौधरी अहिले घनश्यामसँग हैन, विष्णुसँगै भए । घनश्यामका खास भनिने राजु गुरुङ, सिद्धिचरण भट्टराई, सिर्जना श्रीषहरू एकीकृत समाजवादीमा छन् ।

केपीले मन नपराएका गोकर्णलाई अहिले अलि–अलि मन पराउन थाल्नुभएको छ । योगेशलाई प्रवक्ता र प्रचार विभागबाट हटाइएकै छ । योगेशले शुरुमा प्रचार फाँटका मान्छे कोही पनि दायाँबायाँ हुन दिन्न भनेका थिए । रामकुमारी झाँक्री, सुदेश पराजुलीहरू सबै फिर्ता आउँछन्, प्रेस चौतारी फुट्दैन भनेकोमा कुनै वचन पालना नभएपछि ओलीको मन खाएको छैन ।

सुरेन्द्र पाण्डेलाई महाधिवेशन व्यवस्थापन मूल समितिको सहसंयोजक बनाइएको छ । केपीले बोलाएरै भन्नुभएको छ, ‘बादलको नाममात्रै हो, काम तपाईं र विष्णु रिमालले गर्ने हो ।’

टिप्पणीहरू