​सुकुम्बासीकै नाममा सुरुप्प

मदनभक्त अधिकारी प्रधानपञ्च हुँदा गैंडाकोटमा सार्वजनिक जग्गा व्यापक हिनामिना भयो । उनी आफूले त ठाउँ–ठाउँमा बिघौं जमिन हडपे नै, त्यसको विरोध गर्ने केही टाठाबाठा र आफू निकटका नाउँमा पनि विभिन्न ठाउँका सार्वजनिक जग्गा सट्याकसुटुक गरिदिए । सुकुम्बासी बस्तीसमेत छाडेनन् । 

गैंडाकोट–६, टोलटोलेको करिब ६ बिघा जमिनमा झण्डै २७० घरपरिवार सुकुम्बासीको बसोबास छ । २०३३ सालदेखि सुकुम्बासी बस्दै आएको जग्गालाई भूमाफियाहरूले २०३९ सालमा चोरी दर्ता गरी आफ्नो बनाए । गैंडाकोट–८ मा बस्ने बलिभद्र सापकोटा, नारायणगढमा खाद्य उद्योगका साहु देवी गौतम, राजबहादुर शाहीलगायत मालपोतका कर्मचारीसमेतको नाममा चोरी दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा लिएको र हाल जग्गा दर्तावालाहरू आफ्नो नाममा कोहीको छ, कोहीको एकधुर पनि छैन, बेचबिखन गरी अन्यको नाममा जग्गाधनी प्रमाण पुर्जा भएको हुँदा आफूहरू बिचल्लीमा परेको यहाँका सुकुम्बासीले बताएका छन् । पहिल्यै गैंडाकोट गाविसमा रोइकराइ गर्दा सर्वदलीय भेला गराइए पनि ठोस निश्कर्ष ननिकालेको जनाउँदै पीडित सुकुम्बासीले साविक कित्ता नं. ३३ क्षेत्रफल ७७ रोपनी चानचुन भएको जग्गाको तिरो रोकिदिन नगरपालिकालाई अनुरोध गरेका छन् ।

गैंडाकोट नगर क्षेत्रभित्र चोरी दर्ता, जंगल सिमाना, स्मृति पार्क, बाटोको छेउ, नदी किनारलगायत विभिन्न प्रकृतिका जग्गामा सुकुम्बासी बस्ती छन् । जुनसुकै किसिमका बस्ती भए पनि भोगचलनको आधारमा लालपुर्जा दिलाउने र तत्काल सुरक्षित हुने आधारका लागि धुरीकर लिने व्यवस्था यसै नगरपालिकाबाट कार्यान्वयन गरियोस् भन्दै राष्ट्रिय भूमिअधिकार मञ्चको तर्फबाट ज्ञापनपत्र बुझाइएको छ । मेयर छत्रराज पौडेलले आफूहरू सधैं भूमिहीन सुकुम्बासीको पक्षमा रहने बताएका छन् । 

यहाँको यो लफडाबारे जिल्लादेखि पुनरावेदन हुँदै सर्वाेच्च अदालतमा पनि मुद्दा परिसकेको हो । पछिल्लो समय चैतमा बर्दघाटमा तीनतला घर भएको बताइएका अर्जुन शाही (राजबहादुर शाहीका छोरा) आफ्नो नाममा रहेको साढे चार कठ्ठा जग्गाको चारकिल्ला प्रमाणित गराउन नगरपालिका कार्यालयमा आए । वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले सुकुम्बासी बसिरहेको ठाउँको जग्गा चोरी दर्ता गरिएकोले चारकिल्ला प्रमाणित गर्न नसक्ने बताएपछि उनीमाथि तथानाम गालीगलौज गर्दै शाहीका मान्छेले कुटपिटसमेत गर्न खोजेको बुझिन्छ । ‘पहिले गौचरन थियो, पछि सुकुम्बासीहरू आएर बस्न थाले । सुकुम्बासीको बसोबास हुँदै गर्दा चोरी दर्ता भएको हो’, वडाअध्यक्ष भन्छन्, ‘मैले अर्जुन शाहीलाई पहिले विवादित ठाउँमै गएर समस्या समाधान गर्नू भनें, उनीहरूले मलाई धम्क्याए, अपशब्द बोल्दै निकै गालीगलौज गरे ।’ उनले थपे, ‘सुकुम्बासी पनि यही देशका नागरिक हुन् । जहाँ, जसरी बसेका छन्, त्यहीँ नै बस्न पाउनुपर्छ भन्नेमा हामी छौं ।’ सार्वजनिक जग्गा चोरी दर्ता गरेर आफ्नो नाममा बनाउनेहरूलाई राज्यले कारबाही गर्नुपर्ने उनले बताए । 

उतिबेला मदनभक्तले २५/२५ रूपैयाँ लिएर चोरी दर्ता गरिदिएको यहाँका पुराना सुकुम्बासी धनपति सापकोटा बताउँछन् । ‘मलाई दुई लाख रूपैयाँ दिन्छु, यो जग्गा बलिभद्रको हो भन्दे भनिएको थियो, उनीहरूले धितो राखेर ऋण पनि लिएका रहेछन्’, ७५ वर्षीय वृद्ध धनपतिले भने, ‘पछि बैंकका मान्छेहरू चेक गर्न आए, मैले झुटो बोलिनँ, हामी सुकुम्बासी बसेको सार्वजनिक जग्गा उनीहरूले चोरी दर्ता नै गरेको भनें ।’ खत्रीफिडनिर घर भएका छायाँदत्तका छोरा उमाकान्त सापकोटाले त डोजर लगाउँछुसमेत भनेको वृद्धले सुनाए । आफू ०४० सालमा बिहे गरी आउँदा यहाँको जग्गा दर्ता भएको भन्ने सुन्दै नसुनेको सीता परियारले बताइन् । मेरा छोराछोरी ठुल्ठूलै भइसकेपछि अब यिनीहरूलाई उठाउने हो, यति जग्गा मेरो, यति यसको भन्दै भूमाफियाहरू आउन थालेको सीताले बताइन् । ‘तिमीहरूको जति पनि सम्पत्ति छ, हामी कतै नभएर यहाँ सुकुम्बासीमा बसेको मान्छेलाई उठाउन खोज्ने ?’ भन्दै त्यतिबेला आफूहरू मिलेर कटहरेको छोरा, छायाँदत्तेको छोरालाई लखेटेको पनि उनले बताइन् । ‘यदि तिनीहरूको हुन्थ्यो भने हाम्रा सासू–ससुरा आएर धुरी गाड्ने बेलामै मेरो जग्गामा आइस् भनेर किन रोकेनन् ?’ भक्कानिन खोज्दै भनिन्, ‘हामी पनि सरकारको जनता हो, बस्न पाउनुपर्छ ।’ चोरी दर्ता गर्नेलाई कारबाही गरी आफूहरूलाई चाँडै लालपुर्जा दिन उनको माग छ । 

मदनभक्तले घरमुनिको दुईबिघाजति चौर आफ्नो नाममा दर्ता गरे, ब्रिटिश क्याम्पभन्दा उता नारायणी नदी छेउको बगरलगायत वडा नं. ७, खलेचौरको जग्गा पनि आफ्नो नाममा बनाएको ०३३ सालदेखि टोलटोलेमा सुकुमवासीको रूपमा रहेका दलबहादुर थापा मगरले बताए । बलिभद्र सापकोटाहरूले विरोध गर्दा तिमीहरूले पनि बेलटाँडीको जग्गा पास गरौला, म सिफारिस गरिदिन्छु भनेर मदनभक्तले यहाँको जग्गा उनीहरूको नाममा गरिदिएको बताउँछन् । त्यतिबेला चोरी दर्ताका लागि मालपोतका हमाल थरी सुब्बाले निकै जालसाजी गरेको बताउँदै बलिभद्रले एक बिघा जति जमिन हात पारेर पछि नारायणगढका गोकुल पन्त लगायतलाई बेचिसकेको जनाए । गाविस अध्यक्ष हुँदा ओम सापकोटाले पनि भूमाफियाहरूसित मिलेमतो गरेको बताइन्छ । ७ नं.मा चोरी दर्ता गरेका उमाकान्तले ६ नं. वडामा विवाद मिलाउँछु भनेर १६ कठ्ठा जग्गा हात पारेको दलबहादुरले बताए । २ नं. वडामा बज्रमान सोती र कीर्तिनाथ चालिसेको नाममा चोरी दर्ता भएको जानकारी उनले दिए । 

हिजोका पञ्चायती पनि यिनीहरू नै, बहुदल आएपछिको नेपाली कांग्रेस पनि यिनीहरू नै बनेर लुट मच्चाएको ६ नं. का वडासदस्य दलबहादुर बताउँछन् । ‘म १४/१५ वर्षको थिएँ यहाँ आउँदा, अहिले ५५ वर्षको भएँ’, उनले भने, ‘हामी सुकुम्बासीलाई जोतभोग गरेको जग्गाको लालपुर्जा दिन अब सरकारले ढिला नगरोस् । हिजोका दिनमा भूमाफियाहरूले अवैधानिक ढंगले गरेको जालसाजीपूर्ण व्यवहारको छानबिन गरी चोरी दर्ता बदर गरियोस् ।’

– अजय गोर्खाली

टिप्पणीहरू