नेपाली काँग्रेसको १४ औं महाधिवेशन कति वैध कति अवैध ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशन कति वैध कति अवैध ?

सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशन अझै पनि अन्योलमा छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार बि.सं. २०७६ को फागुनमा गर्नुपर्ने महाधिवेशन हालसम्म सम्पन्न हुन सकेको छैन । एक वर्ष म्याद थप गर्न पाइने प्रावधानको उपयोग उसले गत फागनुअघि नै गरिसकेको छ ।

गत फागुनमा पनि कोरोना महामारीको जोखिम देखाउँदै काँग्रेसले संविधानअनुसार थप ६ महिना म्याद थपेर भदौ १९ गते महाधिवेशन सम्पन्न गर्ने भनेको थियो । तर त्यसरी तोकिएको समयमा पनि महाधिवेशन हुन सकेन । पटक पटक म्याद थप्दै अघि बढेको काँग्रेसले पुनः मंसिर २७ देखि ३० गतेसम्म पुगेको छ ।

त्यसो त, राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी अवैध भइसकेको पार्टीका केन्द्रीय सदस्यहरुले नै विभिन्न कार्यक्रममा बताउँदै आएका छन् । तर, निर्वाचन आयोगले भने पार्टी वैध वा अवैध बारे केही पनि बोल्न नमिल्ने अवस्था सिर्जना भएको बताएको छ । आयोगका एकजना पदाधिकारीले जनआस्थासँगको कुराकानीमा काँग्रेस वैध या अवैध भन्नेबारेमा निर्णय नभइसकेको बताए ।

नेपाली काँग्रेसले महाधिवेशन शुरु गरेको भन्ने जानकारी आयोगमा गराएपनि पार्टीको क्रियाशिल सदस्यता विवाद भने अझै टुङ्गो लागेको छैन् । देशका विभिन्न स्थानमा अझै वडाअधिवेशन नसकेको कांग्रेसले रसुवा र रोतहटको क्रियाशिल सदस्यता समेत सार्वजनिक गरेको छैन् । सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा अझै वडा अधिवेशन नहुँदा महाधिवेशन थप अन्योलमा परेको बताउँदै आइएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन चैत्र ५ गते भित्र सम्पन्न गर्नुपर्ने बताएको छ । तर, सत्तारुढ दलको महाधिवेशन सर्दै गएमा आयोगले तोकेको समयमा निर्वाचन हुन नसक्ने पनि विज्ञहरुले बताएका छन् । यता काँग्रेसलाई महाधिवेशनको चटारोले झटाँरो हानिरहँदा मंसिरभित्रै १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो ।

तीन वटा निर्वाचनमा सहभागी हुनलाई पनि काँग्रेसले मंसिरभित्र महाधिवेशन गर्नुपर्ने बाध्यता रहेको छ । संविधानको धारा २ सय ७१ को व्यवस्थाअनुसार चुनाव हुनुभन्दा अगाडि निर्वाचन आयोगमा दल दर्ताको गर्नुपर्ने हुन्छ । अहिले निर्वाचन आयोगमा ९६ वटा राजनीतिक दल दर्ता भएका छन् ।

महाधिवेशन मितिबारे बुझ्दा निर्वाचन आयोगले भने सबै राजनीतिक दललाई महाधिवेशन समयमै सम्पन्न गर्ने निर्देशन दिने गरेको बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माले नेपाली काँग्रेसले महाधिवेशन गर्दै छौँ भन्दै समयमै आयोगमा जानकारी गराएको बताउँदै आयोगले यसबारे ठोस निर्णय नलिएको जानकारी गराउनुभएको छ । त्यसैले अहिले नै आयोगले पार्टीलाई वैध वा अवैध भनिहाल्ने अवस्था नरहेको उहाँको तर्क छ ।

टिप्पणीहरू