जति मेहनत गर्दा पनि बिचरीलाई सधैं वैकल्पिक

जति मेहनत गर्दा पनि बिचरीलाई सधैं वैकल्पिक

रोल्पा नगरपालिकाको शिक्षा शाखाबाहिर आइतवार बिहान एउटा सूचना टाँसियो । उक्त सूचना थियो– रोल्पा नगरपालिका–१ हरिगातिनास्थित डिल्लेश्वरी आधारभूत विद्यालयको । करार शिक्षकको नतिजा प्रकाशनसम्बन्धी यो सूचनामा वैकल्पिक उम्मेदवारको नाम थियो– यमकुमारी घर्ती मगर।

घर्तीको नाम वैकल्पिकमा प्रकाशन भएको यो पहिलो पटक भने होइन। योसहित छैठौं पटक वैकल्पिकमा परेको हो। जिल्लाका विभिन्न विद्यालयहरुले करार शिक्षक छनौटका लागि लिएका अधिकांश परीक्षामा घर्तीले आवेदन दिँदै आएकी छन् । ‘सुरु–सुरुमा १–२ पटक वैकल्पिकमा आउँदा अर्काे पटक त कसो सफल नभइएला भन्दै थप तयारी गरेँ,’ उनले भनिन्, ‘तर अहिले छैटौँ पटकसम्म पनि वैकल्पिकमा पर्दा मन मरिसक्यो ।’

गत माघमा पहिलो पटक बागेश्वरी माध्यामिक विद्यालय माडी गाउँपालिका–५, भाबाङमा निमावि तहको करार शिक्षकका लागि परीक्षा दिएकी घर्तीले लिखितमा पहिलो नम्बरमा नाम निकालिन् तर अन्तिम नतिजामा वैकल्पिक आयो।

लगत्तै उनले लुङ्ग्री गाउँपालिका–७, छहरेखुङको फूलबारी आधारभूत विद्यालयमा पनि आवेदन दिइन्। त्यहाँ पनि लिखितमा पहिलो नम्बरमै नाम निस्केको थियो तर अन्तिममा वैकल्पिकमै राखियो।

त्यसयता, यसैगरी माडी गाउँपालिका–५ भाबाङको बागेश्वर मावि, त्रिवेणी गाउँपालिका–१ करेटीको जनसेवा आधारभूत विद्यालयमा वैकल्पिकमै सीमित रहिन्। रोल्पा नगरपालिकाभित्रको मात्रै तीन वटा विद्यालय प्रावि भैसीखुर, प्रावि चङलिङ र डिल्लेश्वरी आधारभूत विद्यालयमा पनि उनी वैकल्पिकमै राखिएकी छिन्।

लिखित परीक्षामा कसैले उछिन्न नसके पनि अन्तर्वार्तामा पहुँचका आधारमा छनोट हुनेगरेकाले सफल हुन नसकेको उनको निष्कर्ष छ। कतिपय विद्यालयका शिक्षकले पहुँचकै आधारमा अरुको नाम छनौटमा परेको भनी उनको बारे दुखेसोसमेत गरेका छन्।

अन्तर्वार्ताका क्रममा शिक्षा शाखाका प्रमुखहरुले अब शिक्षक सेवा आयोगबाट नाम निकाल्न सुझाव दिनेगरेको घर्तीको अनुभव छ। ‘तयारी राम्रो गर्नुभएको रहेछ, अब सीधै स्थायीमा सफल हुनुहुन्छ। यतातिर नलाग्नुस्’, शिक्षा शाखाका कर्मचारीहरुले दिएको सुझाव उनले सुनाइन्।

पैसाको चलखेल

केही समयअघि तनहुँमा कार्यरत रोल्पाकी एक शिक्षिकाले गृहजिल्लामै सरुवा गर्दा दुई लाख रुपैयाँ माग गरेको पाइएको छ। गत महिना सरुवा भएर आएकी ती शिक्षिकाले दुई लाख दिन नसक्ने बताएपछि यो कुरा बाहिरिएको थियो। सरुवा भएर आएयता तलब नखाएकाले तलबबाटै पैसा काटिने हो कि भन्ने चिन्तामा रहेको पीडित शिक्षिकाको गुनासो छ।

यस्तै करार शिक्षक भर्नाका लागि तीनदेखि छ महिनासम्मको तलब बुझाउने गरेको पनि स्रोतको भनाइ छ। ‘आवेदन दिँदा नै छ महिनाको तलब दिनुपर्ने शर्तमा सेटिङ हुने गरेको छ’ स्रोतले भन्यो ‘लिखित र अन्तर्वार्ता त प्रक्रिया पूरा गरेको मात्रै हो।’

जिल्लामा यसरी शिक्षक भर्ना र सरुवामा लाखौं चलखेल हुँदा प्रशासन र अन्य सरोकारवाला निकाय भने मौन रहेका छन्।

टिप्पणीहरू