जताततै बोरिङ खन्न सरकारी निकायको अग्रसरता, रिचार्ज गर्नेतर्फ बेवास्ता

जताततै बोरिङ खन्न सरकारी निकायको अग्रसरता, रिचार्ज गर्नेतर्फ बेवास्ता

केहिवर्ष यता मुलुकका धेरै ठाउँमा डिपबोरिङ्ग खन्ने कार्यले तीब्रता लिएको छ । पानी अभाव भएको ठाउँमा र सफा खानेपानी तथा सिँचाईंका लागि डिपबोरिङ्ग खन्ने गरिन्छ । तर त्यसको मूलस्रोत अर्थात पानी रिचार्जमा भने कुनैपनि सरकारी निकायले ध्यान दिएको पाईंदैन ।

बोरिङबाट निरन्तर पानी आउन जमिनमा रिचार्ज गर्नु पर्ने हुन्छ । तर, तराई र विशेषगरी काठमाडौंमा अहिलेसम्म भूमिगत जल सतहलाई घट्न नदिन कुनै पनि खालको प्रभावकारी कदम चालिएको छैन ।

काठमाडौं उपत्यकामा भूमिगत जलसतह घट्दै गएकाले सडक भासिएर ठूला ठूला खाडल देखिन थालेका छन् । इनारमा पानी आउने सतह निकै तल पुगेको छ । तराईमा पनि जलसतह तल पुगेको छ । केही वर्ष अघिसम्म सामान्य गहिराइबाट तान्न सकिने पानी अहिले निकै गहिरोमा मात्र फेला पर्न थालेको छ ।केही दिनअघि बागमती प्रदेश सरकारअन्तगर्तको कृषि विकास निर्देशनालयले प्रदेशका ११ वटा स्थानमा डिप बोरिङ्ग खन्ने सूचना जारी गरेको छ । निर्देशनालयले मकवानपुरका ३ स्थान, चितवनका ६ स्थान, काठमाडौंको १ र नुवाकोटको १ स्थानमा बोरिङ खन्न लागेको हो ।

यस्तो बोरिङ सरकारी कार्यालयले मात्रै होइन होटल, स्कुल, बैंक तथा वित्तीय संस्थालगायत विभिन्न निकायले सञ्चालन गरेका छन् । तर, यसको निम्ति रिचार्ज गर्नुपर्नेतर्फ कसैको ध्यान गएको देखिँदैन ।

बोरिङ्ग रिचार्ज सम्बन्धमा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले भने सरकारले सबै स्थानमा नभइ धेरैजसो सरकारी विद्यालयमा मात्र रिचार्जको व्यवस्था गरिएको दाबी गरेको छ ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका वरिष्ठ प्रशासनिक अधिकारी उदयकुमार केसीले बोरिङ्ग निर्माण भएका ठाउँहरुमा रिचार्ज समेत भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बोरिङ्ग खन्न सरकारी र गैरसरकारीलाई अनुमति दिए पनि पानी तान्ने मात्रा तोकिएको छ ।’

उहाँले डीपबोरिङ्ग खनिएका ठाउँमा रिचार्ज भए नभएबारे अनुगमन हुने गरेको बताए पनि त्यस्ता रिचार्ज स्थानको सूची भने उपलब्ध गराउन सकेको देखिएन ।

कुनैपनि संस्था वा व्यक्तिले डिपबोरिङ्ग खन्न खानेपानी व्यवस्थापन बोर्डसँग स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर व्यवसायीले भने सार्वजनिक सुनुवाइपछि वडाको सिफारिस लिनुपर्ने व्यवस्था छ ।

प्राप्त जानकारी अनुसार जमिनभित्र वर्षायामको पानी रिचार्ज गर्न १० फिट गहिरो र त्यत्तिनै व्यासको व्यवस्थित आकारको पोखरी खन्नुपर्छ । आकाशबाट परेको सफा पानीलाई भित्र जान दिने तर फोहोरलाई रोक्न प्वालहरू जालीले छोपिएका हुन्छन् । अधिकांश ठाउँमा यस्तो व्यवस्थाको पालना भएको पाइएको छैन ।

टिप्पणीहरू