​चीनमा नेपालबारे पो कुरा चल्यो कि !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो चीन भ्रमणमा दुई देशबीच आर्थिक र सुरक्षासम्बन्धी विमर्शबाहेक कतै नेपाल मामिलामा त छलफल भएन भन्ने आशंका जन्मिएको छ । विगतमा पनि यस्ता छलफल भई त्यसले नेपालको सार्वभौमिकतामा असर पारेको उदाहरण छ, जस्तो लिुपलेक । यो आशंका किन पनि बलशाली बन्दै छ भने प्रचण्डले आफ्ना नेताहरुलाई ‘माओवादी र एमालेबीच एकताको विषय मोदीको नेपाल भ्रमणपछि मात्र टुंगो लाग्छ’ भन्ने गरेका छन् । उनले भ्रमणले कस्तो रुप लिन्छ, त्यसले धेरै कुरा निर्धारण गर्छ भनेबाट नेपाली स्वाधिनता र सार्वभौमिकताको विषयलाई चनाखोपूर्वक हेरिएको आभाष मिल्छ । 

लेनिनजयन्ती अर्थात् वैशाख ९ मा गर्ने भनिएको मिति मात्र होइन, मई १ को तिथि पनि ट¥यो । त्यसैगरी कार्ल माक्र्सको २००औं जन्म दिवस अर्थात् मई ५ मा पनि एकता नहुने पक्का छ । यस्ता मितिहरुको चर्चा सार्वजनिक उपभोग (पब्लिक कन्जम्सन) का लागि भए पनि त्यो मूर्त हुने सम्भावना अहिले नै छैन । एकताले अझै केही समय लिने निश्चित भएको छ । एमाले र माओवादीबीच अन्य विषयका अतिरिक्त भारतीय पक्षले ओली सरकारसँग बढाउने सम्बन्धले लिने बाटोको अस्पष्टता र आपसी आशंकाले पनि घर गरेको बताइन्छ । अहिले ओलीलाई माधव नेपाल खेमाभित्र पनि आपसी तिक्तता बढाउन सफलता मिलेको देखिन्छ । माधव नेपालले सरकारको समर्थनमा राम्रैसँग बोल्न थालेपछि उनको सहयोगी टिमका सदस्य जस्तै घनश्याम भुषालहरु अलिक बिच्किएजस्तो देखिन थालेको छ । उता, झलनाथ खनालले आफ्नो समूहको अलग्गै भेला गरिसकेका छन् । अर्कोतिर माधव नेपाल र प्रचण्डबीच बढेको तिक्तता पनि ओलीका निम्ति सकारात्मक पक्ष बन्न पुगेको छ । प्रचण्डले आफ्नो हेडक्वार्टरमा गरेको छलफल चल्दा एकताको बाधकको रुपमा माधव नेपाललाई प्रस्तुत गरेका थिए । जबजको कुरा बीचमा छिराएर, ५०/५० प्रतिशत कुनै हालतमा हुँदैन, प्रचण्डलाई अध्यक्ष दिनेबारे त छलफल नै चलाउन सकिँदैन भन्दै माधवले प्रखर रुपमा कुरा राखेपछि प्रचण्डसँग दूरी बढेको हो । 

यता यस्ता समस्याहरु बढेपछि सायद एकताको सम्भावना टर्ने अवस्था देखेर हो या आफ्नो शक्ति र प्रभावलाई बढाउन हो, प्रचण्डले अन्य साना वाम दलहरुसँग छलफल चलाउन थालेका छन् । उनले कम्युनिष्ट नाम भएका सबैलाई एक ठाउँ ल्याउनुपर्छ भन्दै बाबुरामसँग कुरा गर्न भ्याइसकेका छन् भने विप्लवलाई समेत सन्देश पठाएका छन् । मोहनविक्रम सिंह र सिपी मैनालीसँग पनि एक चरणको छलफल भइरहेको बुझिएको छ । बाबुराम भट्टराईले त केपी ओलीसँग पनि एकता वार्ता गरिसकेको स्रोतले बताएको छ । बृहत एकताको निम्ति मिल्न सकिने जति सबैसँग छलफल शुरु भएको छ । माले–माक्र्सवादी एकता हुँदा ०४७ सालमा पनि नेकपा संयुक्त, नेमकिपा, तुल्सीलाल, बर्मासँग यसैगरी बृहत् वाम एकताको नाममा वार्ता भएको थियो ।

माओवादीसँग ४०/६० सम्ममा सहमतिमा पुग्न सकिने गरी छाँटकाँट ओलीले देखाइरहेका छन् तर माधव नेपालले स्थायी समिति बैठकमा माले–एमाले एकता भएको प्रसंग कोट्याउँदै माओवादीलाई ५०÷५० भए पनि दिए हुन्छ भन्ने वामदेव गौतमको कुरा भुइँमा खस्न नपाउँदै ‘माले घर फर्किंदाको अनुपात के थियो कामरेड ?’ भनी टिप्पा खाएपछि प्रचण्ड माधवसँग झस्किएका हुन् । यता प्रचण्डले एउटा भेटमा विष्णु पौडेललाई ‘मलाई अध्यक्ष मान्न तपार्इंलाई किन गाह्रो ? त्यसले के फरक पार्छ ?’ भनेको स्रोत बताउँछ । एक अन्तर्वार्तामा महाधिवेशनपछि अध्यक्ष पाउने लिखित प्रतिबद्धताको कल्पना नगरे हुन्छ भनेपछि पौडेललाई भेटेर प्रचण्डले त्यस्तो प्रश्न सोधेका हुन् । जवाफमा विष्णुले प्रचण्डलाई ‘यो कुरा गर्ने बेला तपाईंले घर्काइसक्नुभो, केपी कामरेड प्रधानमन्त्री बन्दा नै यो शर्त राखेको भए हुन्थ्यो । तपाईं प्रधानमन्त्री बन्ने भए मलाई अध्यक्ष दिनुपर्छ, एक व्यक्ति एक पदमा जानुपर्छ भनेर दबाब दिएको भए त्यो सम्भव थियो । तर, अब ढिला भयो’ भनेका थिए । तर, प्रचण्डले भने ‘अझै पनि के बिग्रिएको छ र मानिदिनुस् न !’ भन्ने आग्रह गरेको बताइन्छ । प्रचण्डको जिकिर थियो, ‘म २५ वर्षदेखि फस्र्ट मेन भएर बसेको, अब कसरी सेकेण्ड पोजिसनमा बस्न सक्छु, तपाईंहरु मेरो समस्या बुझिदिनुस् न !’ एमालेमा अध्यक्ष केपी ओलीले चाहिँ महासचिव ईश्वर पोखरेलप्रति असन्तुष्टि राख्दै, ‘खोई, महासचिवले भाकै टिपेनन् । घुमिफिरी फेरि पण्डित (माधव नेपाल) कै हातमा नेतृत्व पुग्लाजस्तो छ’ भनेको बताइन्छ । 

आफ्नो कोर टिमसँग एउटा छलफलको क्रममा ओलीले पोखरेलप्रति यस्तो असन्तुष्टि पोखेका हुन् । ओलीको यो कुराले पनि प्रचण्डलाई झस्काएको हुनुपर्छ । अर्थात् माधव नेपालले पो अब मलाई पाखा लगाउने हुन् कि भन्ने आशंकामा उनी पिरोलिइरहेको बुझिन्छ । कार्यकर्ता संरक्षण कोषको काम नगरेको, १५ दिनमा बस्नुपर्ने सचिवालय बैठक ६० दिनसम्म पनि नराखेको ईश्वर पोखरेलमाथि आरोप छ । नारायणकाजी र मोहनविक्रम सिंहको पार्टी एकताजस्तो मिलेको भोलिपल्टदेखि नै अलग–अलग गुट र धार राख्ने काम नहोस् भन्ने चाहना एमालेको रहेको देखिन्छ । आखिर त्यो मिलन नटिकेको प्रमाण हुँदाहुँदै त्यस्तो एकता नगर्दा नै राम्रो भन्ने मत एमालेमा बलियो बन्दै छ । 
स्रोतका अनुसार पार्टी एकता भयो भने विष्णु पौडेललाई सचिवालय प्रमुख र जनार्दन शर्मालाई उपप्रमुख बनाउने सम्भावना छ । वर्षमान पुनले पनि मोदी आएर गएपछि बल्ल पार्टी एकताको टुंगो लाग्छ भन्दै ‘अनि मात्र ओलीको मुड हेरेर हाम्रा अध्यक्षले एकताको कुरा अगाडि बढाउनुहुनेछ’ भनेबाट पनि धेरै कुरा बुझ्न सकिन्छ ।

टिप्पणीहरू