धितोपत्र बोर्ड अध्यक्षलाई शैक्षिक योग्यता नचाहिने ?

धितोपत्र बोर्ड अध्यक्षलाई शैक्षिक योग्यता नचाहिने ?

सरकारले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पद पूर्तिका लागि प्रक्रिया अघि बढाएको छ । खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको हो । अर्थ मन्त्रालयले प्रकाशित गरेको विज्ञापनमा सबै कुरा खुलाइएको छ, तर आवेदकको शैक्षिक योग्यताबारे बोलिएको छैन ।

बोर्डको अध्यक्ष बन्न इच्छुक नेपाली नागरिकले कात्तिक २५ गतेभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा गोप्य आवेदन दिनु पर्ने उल्लेख छ । त्यसरी अध्यक्ष बन्न चाहने नेपाली नागरिकले तोकिएको योग्यता पूरा गरेको हुनुपर्ने भनिएको छ ।

विज्ञापनमा धितोपत्र बजार व्यवस्थापन,पुँजी बजार विकास, आर्थिक ,वित्तीय,वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा सात वर्षको पेशागत अनुभव हासिल गरेको र उच्च नैतिक चरित्र भएको नेपाली नागरिकले आवेदन दिनसक्ने बताइएको छ । साथै धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११ बमोजिम अयोग्य नरहेको र तीस वर्ष पूरा भई साठी वर्ष उमेर ननाघेको हुनुपर्ने उल्लेख छ । तर, बोर्डको अध्यक्ष बन्नका लागि चाहिने आवश्यक शैक्षिक योग्यता भने कहिँ कतै खुलाइएको छैन ।

मन्त्रालयले जारी गरेको सूचनामा अरु नानाथरीका योग्यता तोकिनु तर मुख्य योग्यता छुटाइनुले हाम्रो निजामती प्रशासनको क्षमता देखिन थालेको बताइन्छ । अर्थ मन्त्रालयले प्रकाशित गरेको विज्ञापनअनुसार शैक्षिक योग्यता नभएका जुनसुकै उच्च नैतिक चरित्रवान नेपालीले अध्यक्षको निम्ति आवेदन दिन सक्ने अर्थ लागेको छ ।

यसअघिका अध्यक्ष भीष्मराज ढुङ्गानाले पदको दुरुपयोग गरेको भन्दै सरकारले बर्खास्त गरेपछि बाँकी अवधिका लागि नयाँ अध्यक्ष नियुक्त गर्न सरकारले प्रक्रिया अगाडि बढाएको हो ।

टिप्पणीहरू