​झगडामा अझै तगडा ?

अप्ठ्यारोमा मिल्नुपर्ने कांग्रेस नेताहरू अझै पनि पुरानो झगडामा अल्झिरहेका छन् । मिल्नुपर्ने समयमा कांग्रेसी नेताबीच नै पानी बाराबारको स्थिति छ । र, एउटा नेतालाई भेट्दा अर्काे कांग्रेसी नेता मुख लुकाएर भाग्न थालेका छन् ।

यस्तो घटना देखियो अघिल्लो साता लुभुमा । अपुत्र मदन अमात्यले पुत्रबराबर मानेर राखेका  जयकृष्ण बोगटीको छोराको व्रतबन्ध थियो त्यहाँ । र व्रतबन्धको भोज खान मदनकृष्ण अमात्यको गुटका सबैजसो नेता बोगटीको घरमा उपस्थित थिए । त्यो भोजमा तरुण दलका अध्यक्ष जितजंग बस्नेत, पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा, चन्द्र महर्जन, ललितपुर महानगरपालिकाको उपमेयर गीता सत्यालदेखि अधिकांश ललितपुरका नेताहरूको उपस्थिति थियो । र, त्यही आमन्त्रण गरिएका थिए रामकृष्ण चित्रकार । 

खासमा यी दुई नेताबीचको लफडाका विषयमा जयकृष्णलाई जानकारी नहुने कुरै थिएन । त्यसैले उनले  मदन र रामकृष्णबीच देखभेट नहोस् भनेरै फरक–फरक समय पारेर पार्टी खान निमन्त्रणा दिएका थिए । तर, भइदियो उल्टो । मदन आएकै समयमा व्रतबन्धको भोज खानका लागि रामकृष्ण चित्राकार जयकृष्णको घरमा आइपुगे । मदनले जब त्यहाँ  रामकृष्णलाई देखे तब पड्कन थालिहाले । ‘यस्तो अन्र्तघातीलाई यहाँ कसले बोलायो ? अनि यसलाई बोलाएको ठाउँमा मलाई किन बोलाएको ? यो बसेको ठाउँमा बस्ने खालको हैसियतको मान्छे म हो ?’ उनले रामकृष्णलाई त सरापे–सरापे जयकृष्णलाई पनि हकार्न भ्याए । अपराह्न साढे तीन बजे त्यहाँ पुगेका उनी भोजै नखाई आधा घन्टामै हिँडे । जयकृष्णचाहिँ आफूले फरक–फरक समय पारेर बोलाएको तर केही उच्छ्रृंखल कांग्रेसीले मदन आएकै समय पारेर रामकृष्णलाई बोलाएर भड्काएको बताउँदै थिए । 

गत प्रतिनिधिसभा निर्वाचनमा पराजय बेहोरेसँगै अमात्यले आफू निकटलाई समेत अन्तर्घातीको आरोप लगाउँदै कारबाही प्रक्रिया अगाडि बढाए । उनले ज–जसलाई कारबाही प्रक्रिया अगाडि चलाए यसअघि ललितपुर कांग्रेसमा अमात्य गुट, जितेन्द्र मलेकु, रामकृष्ण चित्रकार, मथुरा घिमिरेहरूको चार वटा गुट सक्रिय थियो । मदन अमात्यको ज्यादती बढ्दै गएपछि तीन गुट एकातिर र मदनलाई अर्कैतिर पारिएको छ ।  अहिले ललितपुर कांग्रेसभित्रै यति धेरै गुटगत रोग फैलिएको छ कि केही अगाडि त्यहाँका इकाइ सभापति तथा मदनका खास मान्छे जयकृष्ण बोगटीलाई मरणासन्न हुनेगरी पिटेर बाटोमा फालिदिए । अहिले त्यहाँ तीन गुट एकै ठाउँमा मदनको अर्काे गुट सक्रिय छ । रामकृष्ण चित्रकारको संयोजकत्वमा समानान्तर कमिटी बनेको छ ।  यो विषयचाहिँ उपभोक्तावादी तथा पुराना कांग्रेसी नेता प्रेमलाल महर्जनहरूलाई मन परेको छैन । उनले रामकृष्णलाई सभापति स्विकार्न नसक्ने बताइरहेका छन् । कांग्रेसीबीचको किचलोको यो त एउटा सानो उदाहरण मात्र हो । हरेक जिल्लाको हालत यस्तै छ । 

टिप्पणीहरू