मुख्यमन्त्री पाण्डेको पहिलो निर्णय ‘संक्रामक रोग नियन्त्रणमा ध्यान दिने’

मुख्यमन्त्री पाण्डेको पहिलो निर्णय ‘संक्रामक रोग नियन्त्रणमा ध्यान दिने’

बागमती प्रदेशका नवनियुक्त राजेन्द्रप्रसाद पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मासँग सपथ लिएसँगै पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणसँगै उहाँले पहिलो फाइल सदर गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मुख्यमन्त्री पाण्डेले सदर गर्नुभएको फाइलमा उल्लेखित निर्णयमा कोभिड १९ सहित डेंगु, स्क्रब टाइफसलगायत सरुवा रोगहरुको नियन्त्रणका लागि उपलब्ध स्वास्थ्य सेवा र सुविधाहरुको प्रभावकारी व्यवस्था र क्षमता वृद्धि गरी थप प्रभावकारी बनाउन १३ वटै जिल्लाका अस्पताल, स्वास्थ्य चौकी तथा संस्थाहरुलाई परिचालन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने उल्लेख छ । उहाँले स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले प्रदेश सरकारको पहिलो ध्यान स्वास्थ्य क्षेत्रमै हुनुपर्नेमा जोड दिनु भएको हो ।

यसैबीच पदबहालीपछि पत्रकारहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री पाण्डेले केपी ओली सरकारले संघीयतालाई सखाप पार्ने गरी बिगारेको संरचना र व्यवहारलाई संवैधानिक र व्यवहारिक रुपमै सुधारेर लगिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ओलीजीले प्रदेशलाई संघीय सरकारको युनिट नाम दिएर अधिकार कटौती गर्ने, संघीयतालाई नै असफल पार्ने प्रयत्न गर्नुभयो, त्यसलाई हामी कानुनी रुपमा र व्यवहारिक रुपमा सुधार गर्नेछौँ ।’ उहाँले आफू भूमिगतकालको कम्युनिष्ट राजनीतिबाट आएको भन्दै पटक पटक ‘सर्वहारा’ का पिरमर्कालाई सम्बोधन गर्न लागिपर्ने बताउनुभएको छ ।

आजै साँझ पाण्डे नेतृत्वको चार सदस्यीय बागमती प्रदेश सरकारको बैठक बसेको छ । प्रदेश प्रमुख शर्माले आजै मुख्यमन्त्री पाण्डे, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान र भौतिक पूर्वाधार विकास मन्त्रीमा कृष्णलाल भँडेललाई सपथ गराउनुभएको थियो । बाँकी मन्त्रालयहरुमा छिट्टै मन्त्रीहरु नियुक्त हुने मुख्यमन्त्री पाण्डेले बताउनुभएको छ ।

टिप्पणीहरू