सुन्दरीको जालमा धेरैको सखाप

अनुहारकी राम्री, तर काम कुरूप ! कुरा हो, लण्डनको । ट्यारोट कार्डबाट अर्काको भविष्य शतप्रतिशत मिलाउँछु भन्ने नेपाली युवती क्षमता ढकाल लण्डनका एक व्यापारीलाई यसरी नै फँसाउन खोज्दा आफैं अस्तव्यस्त भएकी छन् । 

आर्थिक सहयोग नगरेकै निहँुमा व्यापारी विराज भट्टसँगको निकट सम्बन्ध अनि तस्बिर सार्वजनिक गर्दै बदलाभाव र ब्ल्याकमेलमा उत्रिएर अहिले बजार तताइरहेकी उनलाई एक महिला भएर आफ्नो इज्जत राख्न नसक्ने भन्दै सामाजिक सञ्जालमा खुबै आलोचना गरिएको छ । 
सन् २००७ सालमा बेलायत टेकेकी उनले केही महिनायता अर्काको भविष्य हेरिरहँदा उनको आफ्नै विगत, वर्तमान र भविष्य भने उदेकलाग्दो छ । उनले आफू अविवाहित भनेर नेपाली समुदायलाई भ्रममा राखे पनि नेपालमा उनको एउटी छोरी छन् ।

पति जापान गएका बेला अन्यत्र सम्बन्ध भेटिएपछि सम्बन्धविच्छेद भएको थियो । त्यसपछि पढ्न भनी लण्डन पुगेकी हुन् । त्यहाँ ब्युटी पार्लर, केयर होमको कामका साथ संघर्ष गरिरहँदा उनले बंगाली र पाकिस्तानी युवकसँग निकट सम्बन्ध राखिन् । बेलायत बस्नकै लागि हसन नामक बंगालीसँग नक्कली विवाह गरिन्, रातो पासपोर्ट पनि लिइन् । पुरुषहरूसँग नजिकिएपछि सेल्फी र आपत्तिजनक भिडियो लिने अनि पैसा नदिए गोप्य तस्बिर र भिडियो सार्वजनिक गरिदिन्छु भनी बबाल गर्ने उनको बानी ! एक पाकिस्तानी युवकबाट गर्भवती भएपछि सन् २०१३ मा क्युरेट गर्न नेपाल गइन् । उनका बाबुले पाकिस्तानीसँग मिलेर नेपालमा आतंकवादी क्रियाकलाप गरिरहेको भन्दै नेपाल प्रहरीमा उजुरी हालिदिए । प्रहरीले अन्यत्र यात्रा गर्न नमिल्ने गरी उनको आइएलआरवाला पासपोर्ट नै जफत गरिदियो ।

तर, उनले सोर्सफोर्समा एक लाख रुपैयाँ तिरेर नयाँ पासपोर्ट निकालिन् । नेपालमा राष्ट्रपतिको भान्जा पर्ने र एक जना चर्चित पत्रकार मेरो ब्याइफ्रेन्ड हो भन्दै उनले धेरैलाई धम्क्याएकी पनि थिइन् । नयाँ पासपोर्ट लिइ एक जना नेपाली ब्वाइफ्रेण्डसँग उनी बंगलादेशसमेत गइन् । पछि ती केटा साथीसमेत प्रहरीको फन्दामा परेका थिए । स्रोतका अनुसार सन् २०१६ तिर क्षमताका बाबु लण्डन आएका बेला विराज भट्टसँग चिनजान भयो । पाकिस्तानी, बंगाली युवकसँग छोरी बिग्रिरहेको थाहा पाएर चिन्तित उनका बाबुले बिराजलाई भेटी नेपाली समुदायमाझ ल्याई आनीबानी सुधारिदिन भनेपछि बिराजले नेपाली चेलीलाई सहयोग गरौं भनेर हात फैलाए । यस क्रममा बिराजको क्षमतासँग संगत बढ्दै गयो । करिब तीन वर्ष नजिक रहँदा बिराजले धेरै आर्थिक सहयोग गरेको बताइन्छ ।

ट्यारोट कार्डलाई अगाडि सारेर क्षमताको ठगी धन्दा पनि खुबै फस्टायो । साउथ हयारोस्थित महँगो फ्ल्याटमा बस्न थालिन् उनी । सपिङ, आउटिङ र कहिले नेपाल, कहिले अमेरिका होलिडेको क्रम बढ्यो । क्षमताको रवाफ र हाउभाउ एकाएक बढेको देखेर उनीनिकट साथीहरू दंग पर्थे । कसरी सम्भव छ यो सबै भन्नेमा धेरैलाई कौतुहलता थियो । वास्तवमा उनी व्यापारीसँग नजिक भएर फाइदा लिन खप्पिस थिइन् र यसैबाट उनको व्यवहार चलिरहेको थियो । 

अहिले ग्राहकसँग आकर्षक पैसा लिएर ट्यारोट कार्डबाट भविष्य बताइदिन्छु भन्दै क्षमताले नेपालीलाई ठग्न थालेको गुनासो बढिरहेको छ । गैरकानुनी रूपमा सरकारलाई कर नतिरी उनले आफ्नो ट्यारोट धन्दा चलाइरहेकी थिइन् । 

टिप्पणीहरू