जसपाकै बाटोमा विवेकशील साझा,निर्वाचन आयोगको आँगनमा नेताको लर्को

जसपाकै बाटोमा विवेकशील साझा,निर्वाचन आयोगको आँगनमा नेताको लर्को

वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जुटेको विवेकशील साझा पार्टी विभाजनको संघारमा पुगेको छ । गणतन्त्र,संघीयता र धर्मनिरपेक्षताविरुध्द अध्यक्ष रवीन्द्र मिश्रले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि चर्केको विवाद उत्कर्षमा पुग्दा पार्टी एकीकरणको डेढ वर्ष नपुग्दै विवेकशील साझा विभाजनको डिलमा पुगेको हो ।

अध्यक्ष मिश्रले केही समयअघि संघीयता र धर्मनिरपेक्षता खारेजीसहितको राजनीतिक प्रस्ताव ल्याएका थिए । उक्त प्रस्तावप्रति पार्टीभित्रको तत्कालीन विवेकशील समूह असन्तुष्ट हुँदा दुईपक्षीय संघर्ष चर्किएको हो । त्यसयता दुवै समूहले अलग-अलग बैठक राख्दै आएका छन् ।

मिश्र समूहले आज केन्द्रीय समितिको बैठकबाट अध्यक्ष मिश्रको राजनीतिक प्रस्ताव पारित गरेको छ । असन्तुष्ट समूहले भने भोलि आफूपक्षीय नेताहरुको छुट्टै बैठक बोलाएको छ । असन्तुष्ट समूहका नेता मिलन पाण्डेले विचार र दृष्टिकोणमा आधारभूत रुपमै विमति भएकाले पार्टी विभाजनको बाटोमा गएको बताएका छन् ।

‘रविन्द्रजी राजा चाहियो भन्नुहुन्छ । हामी गणतन्त्रलाई नै उन्नत बनाएर जानुपर्छ भन्ने मतमा छौँ । आधारभूत कुरामै विमति भैसकेपछि अब एकै ठाउँमा रहने अवस्था रहेन’

‘रविन्द्रजी राजा चाहियो भन्नुहुन्छ । हामी गणतन्त्रलाई नै उन्नत बनाएर जानुपर्छ भन्ने मतमा छौँ । आधारभूत कुरामै विमति भैसकेपछि अब एकै ठाउँमा रहने अवस्था रहेन’, जनआस्थासँगको कुराकानीमा पाण्डेले भने ।

२१ औँ शताव्दीमा नयाँ खोज र अन्वेषण गरेर लोकतन्त्रलाई नै उन्नत बनाउनुपर्नेमा मिश्रले पश्चगामी दिशा लिएको पाण्डे समूहको आरोप छ । मिश्रले राजनीतिक दस्तावेज पेश गरेकै दिन पार्टी विभाजन भैसकेको भन्दै पाण्डेले प्राविधिक विभाजनको पर्खाइमा रहेको बताए ।

‘विचारका हिसाबले हामी फरक ठाउँमा पुगिसक्यौं । राजनीतिक, वैचारिक रुपमा त रविन्द्रजीले दस्तावेज ल्याएकै दिन पार्टी विभाजन भैसकेको हो । अब लिगल्ली विभाजन चैं निर्वाचन आयोगले गर्ला’,नेता पाण्डेको भनाइ छ ।

मिश्रले गणतन्त्रमाथि नै प्रश्न उठाएकाले मिलनबिन्दु भेट्न नसकेको उनको बुझाइ छ । ‘उहाँ गणतन्त्रलाई नै आयातित भन्नुहुन्छ । त्यसरी भन्दा त लोकतन्त्र पनि आयातित नै होला’, भन्छन्, रविन्द्रजी या मैले बनाएको त होइन नि । कहीं न कहींबाट त लोकतन्त्रको कन्सेप्ट पनि आएकै हो ।’

यता,मिश्र समूहले भने अधिकांश नेता आफ्नो पक्षमा रहेको दावी गर्दै असन्तुष्टहरुलाई बेवास्ता गर्दै आएको छ । पाण्डेले भने अहिलेसम्म धेरै केन्द्रीय सदस्य प्रष्ट नखुलेकाले संख्या यकिन नभएको बताएका छन् । उनले निर्वाचन आयोगमा लाइन लागेर सनाखत नहुँदासम्म को,कसको पक्षमा भन्न नसकिने पनि सुनाए ।

‘दु:खको कुरा पार्टी एकीकरणपछि भौतिक उपस्थितिमा एउटा पनि बैठक बसेको छैन । जति पनि बैठक भए सबै जुममा भएका हुन् । त्यसैले को कता भन्ने छुट्टिएको छैन’,पाण्डेले भने ।

विचारमै विमति भैसकेपछि संख्या निर्णायक नहुने पनि उनको भनाइ छ । अरुलाई लोकतन्त्रको पाठ सिकाउने मिश्र आफैँले सबै अधिकार अध्यक्षमा केन्द्रित गरेको भन्दै उनले पार्टी विभाजनको बिउ त्यहीँबाट रोपिएको उनको दावी छ । उनले अब निर्वाचन आयोगबाटै सबै कुराको छिनोफानो हुने प्रष्ट पारे ।

टिप्पणीहरू