भारतीय प्रहरीको हिरासतमा पाकिस्तानी मारिएपछि स्पष्टिकरण माग

भारतीय प्रहरीको हिरासतमा पाकिस्तानी मारिएपछि स्पष्टिकरण माग

भारतीय प्रहरीको हिरासतमा रहेका एक जना पाकिस्तानी कैदीको हत्या भएपछि पाकिस्तानले भारतसँग स्पष्टिकरण मागेको छ । भारतीय उच्च आयोगका चार्जडे अफेयर्स (कार्यवाहक राजदूत) लाई हिजो विदेश मन्त्रालयमा बोलाएर गैरकानुनी रुपमा कब्जा गरिएका पाकिस्तानी नागरिक जिया मुस्तफाको हत्याबारे स्पस्टिकरण मागिएको हो ।

सन् २००३ देखि भारतीय प्रहरीको हिरासतमा रहेका पाकिस्तानी नागरिक जियाको कारागारदेखि निकै टाढाको स्थानमा रहस्यमय तरिकाले मारिएको समाचारले गम्भीर प्रश्न खडा गरेको पाकिस्तानी परराष्ट्र मन्त्रालयका अधिकारीहरुले भारतीय चार्ज डे अफेयर्सलाई बताएको पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतमा यसअघि पनि धेरै जना पाकिस्तानीको प्रहरी हिरासतमा रहस्यमय तरिकाले ज्यान गएको सन्दर्भ उल्लेख गर्दै पाकिस्तानले भनेको छ, ‘नक्कली मुठभेडमा पाकिस्तानी र काश्मिरी कैदीहरूको हत्या गर्ने घृणित अभ्यासको निन्दा गर्दछौं ।’

उसले भारत सरकारलाई उक्त घटनाको तत्काल विश्वसनीय र पारदर्शी अनुसन्धान गर्न, न्याय सुनिश्चित गर्न र दोषीलाई कारबाही गर्न पाकिस्तानले आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय जेल र हिरासत केन्द्रहरूमा रहेका सबै पाकिस्तानी कैदीहरूलाई उनीहरूको रिहाई वा स्वदेश फिर्ता गर्न, सुरक्षा र मानवीय व्यवहार सुनिश्चित गर्न र आफ्नो दायित्व पूरा गर्न पनि पाकिस्तानले भारत सरकारलाई सम्झाएको छ ।

टिप्पणीहरू