​ठेकेदारले पार्ने भए ठण्डाराम

एउटा सरकार सफल हुनु र नहुनुमा बिचौलिया र दलालहरू कति सल्बलाउँछन् वा कति संयमित हुन्छन् भन्ने कुराले निर्धारण गर्छ । तर, अबको जमाना बिचौलिया र दलालको मात्र रहेन । ठेकेदारले राजनीतिक नेतृत्वको टाउकोमा कति टेक्छन् र नेतृत्वले तिनलाई कति पुल्पुल्याउँछ भन्ने कुराले सरकारको सफलता, असफलता, नेताको नाम र बद्नामलाई निर्धारण गर्ने परिस्थिति छ । त्यससम्बन्धी एउटा तड्कारो उदाहरण हेरौँ ।

काठमाडौंको निर्वाचन क्षेत्र नंं ४ मा पर्ने धोबीढुंगा कोरिडोर सडक खण्ड, अर्थात् चाबहिलको गोपीकृष्ण हलदेखि पूरै कपन प्रभावित हुने आयोजना समयमा सम्पन्न नहुँदा त्यहाँबाट जितेका सांसद गगन थापा यसपालिको चुनावमा रुँदै–रुँदै भोट मागिरहेका थिए, ‘तीन महिनामा बाटो बनाउँछु हजुर’ भन्दै । अर्थात्, बाटो नबन्दा, हिलो र धुलोमा जनता पिल्सिनाले गगन थापाले यसपालि झिनो मतान्तरका साथ चुनाव जित्नुप¥यो । जितिसकेपछि जनताले उनलाई सोध्ने भए, ‘खोई त, तीन महिनामा बनाउँछु भनेको बाटो ?’ अहिले गगनको जवाफ छ, ‘वडाध्यक्ष एमालेको, ठेकेदार माओवादीको, इञ्जिनियर उनीहरूको, टोल सुधार समितिमा उनीहरू । अनि, कामचाहिँ गगन थापाले गरिदिएन भनेर दोष थोपर्ने ?’
गगन आफैँमा गैरजिम्मेवार त छन् नै तर उनले जे भने त्यो पनि गलत भनेनन् । अब उनले इंगित गर्न खोजेका ठेकेदारबारे चर्चा गरौँ । 

पुत्रवियोगपछि प्रचण्ड लाजिम्पाटबाट खुमलटार सरे, भाडाको घरमा । थाहा छैन, भाडाको लेनदेन के–कति छ । तर, एउटा कुरा पक्का हो कि, उनी सडक निर्माणसम्बन्धी ‘ए क्लास’ को ठेकेदार कम्पनी शैलुङ कन्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको घरमा सरेका हुन् । शारदा तिनै ठेकेदार हुन्, जसको हातमा अहिले देशका मुख्य–मुख्य सडक निर्माणसम्बन्धी काम छ । तर, कुनै पनि काम पूर्वनिर्धारित समयमा सम्पन्न भएका छैनन् । केन्द्रीय राजधानीका जनताले दिनदिनै धुँवा, धुलो खाइरहनुपर्ने नियतिबाट कहिले मुक्ति पाउँछन् भन्ने कुरा यिनले कहिले बाटो बनाएर सिध्याउँछन् भन्ने कुराले निर्धारण गर्ने अवस्था छ । गगन थापाले यिनै ठेकेदार देखाएर कम्युनिष्ट सरकारलाई गाली गरिरहेका छन् । यी ठेकेदार पनि कस्ता परे भने, प्रचण्ड त उनको घरमै बस्ने, नातापाता एमालेमा बढी भएका । सरकारलाई गाली गर्नका लागि एजेण्डा नै नपाएका कांग्रेसजनलाई यत्ति भएपछि के चाहियो र ! भाषण गर्न थालिसके ।

गगनको क्षेत्र मात्र हैन, कलंकीदेखि नागढुंगासम्मको बाटो चौडा गर्ने ठेक्का पनि उनकै हो । भक्तपुरको खरिबोटबाट नगरकोट पुग्ने बाटो, बालाजु–ककनी सडक, चितवन, भरतपुरको पिच निर्माणलगायत दुई दर्जनभन्दा बढी सडक निर्माणको काम छ, शैलुङ कन्स्ट्रक्सनसँग । समयमा काम सम्पन्न गरे थोरै नाफा बस्छ । तर, नेपालको ठेक्कापट्टासम्बन्धी कानुन नै कस्तो छ भने, ठेक्का पर्नासाथ ‘मोबिलाइजेसन फण्ड’ का नाममा निश्चित रकम निकासा हुन्छ । त्यो पैसा बाँडेरै सकिन्छ वा बाँड्नै पुग्दैन । यस्तो भएपछि निर्धारित अवधिमा काम शुरु नहुने निश्चित भइहाल्यो । फेरि ठेकेदारले थप रकम माग गर्न पाउँछ । अर्थात्, काम जति ढिलो ग¥यो, पैसा त्यति नै आइरहने । यस्तो किन हुन्छ भने, ठेक्का पार्नका लागि केही ठाउँका जिम्मेवार व्यक्तिहरू रिझाउनै पर्ने चलन छ । डिभिजन सडक कार्यालयका हाकिमले पैसा माग्छन्, दिनै प¥यो । नेतालाई चुनाव खर्च, दौडधुपदेखि भोजभतेरसम्मको चटारो परिरहने, कोट्याउने ठेकेदारलाई नै हो । अनि, त्यो ठेकेदारले पाएको काम सरासर गर्दा न सडकका हाकिम, न राजनीतिक दलका नेता– कसैलाई पनि पोस्न नपुग्ने ।

यसो भएपछि मिलेमतोमै आयोजनाहरू ढिलाइ भइरहेका हुन्छन् । बाहिर बद्नाम हुनेचाहिँ सम्बन्धित ठाउँका वडाध्यक्ष, सांसदहरू । उदाहरणका लागि, गगन थापाले ०७० को चुनावमा सबभन्दा बढी भोट ल्याएको बूढानीलकण्ठको १० नं. वडामा वडाध्यक्षसहित प्यानलै एमालेले जित्यो । कारण हो, गगनले बाटो बनाएन भनेर गरिएको प्रचार । तर, अब पालो गगनको आयो, ‘ठेकेदार माओवादीको, वडाध्यक्ष एमालेको भन्दै’ गीत गाउने । एमालेका वडाध्यक्ष नवराज भट्टराईले चुनाव जितेको एक वर्ष पुग्न लाग्यो, ठेकेदार भेटेका छैनन् । घरमै भेट्नुप¥यो भनेर दुई–चार पटक खुमलटार पुगे । बरु, प्रचण्डलाई तीनचोटि नमस्कार गर्ने मौका पाए, ठेकेदार शारदाप्रसाद भेटिएनन् । काम धेरै भएर उनले विभिन्न सडकका काम पेटी ठेकेदारलाई जिम्मा लगाएका रहेछन् । जनतालाई सबभन्दा असुविधा भइरहेको कलंकी–नागढुुंगा, नगरकोट, बालाजु–ककनी, कपनका सडक पेटी ठेकेदारको हातमा छ । पेटी ठेकेदारलाई भन्यो, मूल ठेकेदार देखाएर टक्टकिन्छन्, मूल ठेकेदारचाहिँ पेटीलाई देखाउने । जनप्रतिनिधिलाई त जनताले गाली गर्ने नै भए । बिचरा, ती जनप्रतिनिधिले भन्ने ठाउँ अहिलेसम्म पाएका छैनन् । प्रचण्डलाई भनौँ, उनको सरोकारको कुरै हैन । केपी ओलीलाई भनौँ, एउटा ‘जाबो’ बाटोको कुरा । त्यसमाथि शारदाप्रसादको कनेक्सन बालुवाटारसम्मै भएको । केपी ओलीसँग चाहेको बेला मोबाइलमा कुरा गर्नसक्छन्, उनले । 

एकछिनका लागि तपाईं बाटो खनिएका ठाउँको सांसद वा वडाध्यक्ष हुनुभयो । सोच्नुस् त, जनताका गाली कस्ता–कस्ता हुन्छन् । अनि, एमालेको वडाध्यक्षलाई गाली गर्ने जनताले अर्को चुनावमा त्यही पार्टीलाई खुशीले भोट हाल्दा हुन् त ? त्यसैले अब केपी ओली, प्रचण्डहरूले बिचौलिया र दलालबाट जोगिने कि ठेकेदारबाट ?

टिप्पणीहरू