राजेन्द्र पाण्डेले लिनुभयो मुख्यमन्त्रीको शपथ

राजेन्द्र पाण्डेले लिनुभयो मुख्यमन्त्रीको शपथ

नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेले वाग्मती प्रदेशको मुख्यमन्त्री पदको शपथ लिनुभएको छ । भर्खरै उहाँले प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनियताको शपथ लिनुभएको हो ।

निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हिजो राजीनामा दिएपछि एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहनुभएका पाण्डेलाई विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा प्रस्ताव गरेको हो । उहाँलाई गठबन्धनमा आवद्ध माओवादी केन्द्र, काँग्रेस र जसपाको समर्थन रहेको छ ।

हिजो दिउँसो शाक्यले राजीनामा दिएपछि साँझ प्रदेश प्रमुख शर्माले बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । लगत्तै माओवादी, काँग्रेस, एकीकृत समाजवादी र जसपाका ५९ जना सांसदको हस्ताक्षरसहित पाण्डेले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएको थियो ।

मुख्यमन्त्री पाण्डेसँगै तीन जना मन्त्रीले आजै शपथ लिएका छन् । एकीकृत समाजवादीका कृष्ण खनाल, काँग्रेसका कृष्ण भडेल र माओवादी केन्द्रका कुमारी मोक्तानले शपथ लिनुभएको हो । मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

१ सय १० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसदको समर्थन आवश्यक हुन्छ । गठबन्धनको पक्षमा ५९ जना सांसदको समर्थन जुटेकाले मुख्यमन्त्रीमा पाण्डे सुनिश्चित हुनुभएको हो ।

को हुन् पाण्डे ?

नवनियुक्त मुख्यमन्त्री पाण्डे विद्यार्थी आन्दोलनबाट पूर्णकालीन राजनीतिमा प्रवेश गर्नुभएको हो । बि. सं. २०१३ सालमा धादिङको गजुरीमा जन्मिनुभएका पाण्डे झापा विद्रोहलाई समर्थन गर्दै तत्कालीन मालेमा आबद्ध हुनुभएको हो । ०४३ सालमै जिल्ला पञ्चायतको सभापति बन्नुभएका उहाँ त्यतिबेला मालेको धादिङ सहसचिव हुनुहुन्थ्यो ।

२०५० सालमा एमालेको वाग्मती अञ्चल सचिव हुनुभएका उहाँ ०५५ सालमा केन्द्रीय सदस्य हुनुभयो । एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिनुभएका पाण्डे थोरै मतले पराजित हुनुभएको थियो । एमाले र माओवादी एकतापछि बनेको नेकपामा पनि उहाँ केन्द्रीय सदस्य रहनुभयो ।

तत्कालीन नेकपाको अन्तरसंघर्षमा उहाँ प्रचण्ड–माधव समूहमा हुनुहुन्थ्यो । एमाले र माओवादी विभाजनपछि उहाँ माधव नेपाल समूहमै प्रतिबद्ध रहनुभयो । पाण्डे अहिले नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष हुनुहुन्छ ।

बहुदल आएपछि लगातार चुनाव जित्ने थोरै नेतामध्येमा पाण्डे पनि पर्नुहुन्छ । उहाँले धादिङबाट चार पकटसम्म संसदीय चुनाव जित्नुभएको छ । २०४८, २०५१, २०५६ र ७० सालको निर्वाचनमा सांसद जित्नुभएका उहाँ एक पटक मन्त्री पनि बनिसक्नु भएको छ । पाण्डेले राजनीतिका प्रारम्भिककालमा केही समय शिक्षण पेशा पनि अपनाउनु भएको थियो ।

टिप्पणीहरू