नयाँ मुख्यमन्त्रीको शपथ अब एक छिनमा

नयाँ मुख्यमन्त्रीको शपथ अब एक छिनमा

बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अहिले साढे ३ बजे शपथ लिनुहुने भएको छ । नेकपा एकीकृत समाजवादीका मुख्यमन्त्री पाण्डेसँगै तीन जना मन्त्रीले पनि शपथ लिने तयारी छ ।

पहिलो चरणमा मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार एकीकृत समाजवादीका कृष्ण खनाल,नेपाली काँग्रेसका कृष्ण भडेल र माओवादी केन्द्रकी कुमारी मोक्तानले शपथ लिनुहुनेछ ।

निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हिजो राजीनामा दिएसँगै विपक्षी गठबन्धनका तर्फबाट बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएका पाण्डेले आज शपथ लिन लाग्नुभएको हो ।

पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै गठबन्धनले ५९ जनाको हस्ताक्षर हिजै साँझ बुझाएको छ । एकीकृत समाजवादीका पाण्डेलाई माओवादी केन्द्र,काँग्रेस र जसपाको समर्थन रहेको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो ३ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न हिजो प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको थियो ।

१ सय १० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसदको समर्थन आवश्यक हुन्छ । गठबन्धनले ५९ जना सांसदको हस्ताक्षर बुझाएकाले मुख्यमन्त्रीमा पाण्डे सुनिश्चित हुनुभएको हो ।

टिप्पणीहरू