कांग्रेसतिर अर्कै कुदाकुद

आफ्नै पार्टी र विभाग सम्हाल्न नसक्ने नेताले मुलुक हाँक्न खोज्नु सहज लाग्ने विषय होेइन । कांग्रेस सभापति शेरबहादुर देउवाले अधिवेशन भएको अढाई महिनामै नियुक्त गर्नुपर्ने पार्टी उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्रीको नियुक्ति गरी चुस्त ढंगले नेता र कार्यकर्ता परिचालन गर्न सकेनन् । सोही अवधिमा पूर्णता दिनुपर्ने पार्टीका ४२ वटा विभाग पनि उनकै कारण अलपत्र परेका छन् ।

आफ्नै कोटरीका नेताका व्यवस्थापनमा अल्झिएका देउवाले फरक समूहका नेता कार्यकर्तालाई हेर्न भ्याउने कुरै भएन । अहिले पनि ऐतिहासिक पार्टीका हर्ताकर्ता देउवाले आफ्नै गुटका एक नेता व्यवस्थापन गर्न नसकेर समग्र पार्टीलाई नै अपांग बनाइरहेका पाइएको छ । देउवाले पार्टीमा रिक्त पदाधिकारी र गठन गर्नुपर्ने ४२ वटा विभागलाई पूर्णता दिन गृहकार्य गरी प्रतिवेदन पेश गर्न प्रमुख सचेतक बालकृष्ण खाँड, प्रकाशशरण महत र डिना उपाध्यायलाई जिम्मा दिए । उपाध्यक्षका लागि महाधिवेशनअघि नै आश्वासन दिइएका नेता खुमबहादुर खड्काको निधनपश्चात् विमलेन्द्र निधिलाई ३ जनाको गृहकार्यवाला समूहले निर्विकल्प प्रस्तुत गरेको छ । महामन्त्रीमा पनि देउवा समूहकै पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीमध्ये एकलाई चयन गर्न सभापतिलाई सुझाव दिइएको छ । सहमहामन्त्रीमा भने यो समूहले कसैको नाम लिएको छैन ।
 
सो पदमा प्रकाशशरण आफैं जान लालायित छन् । समूहको बैठकमै प्रकाशशरणले सहमहामन्त्रीमा आफ्नै नाम प्रस्तावित हुनुपर्ने अड्डी कसे । सभापतिको इच्छासँग परिचित विमलेन्द्र र डिनाले प्रकाशशरणलाई न समर्थन गरे न इन्कार । यस्तो अवस्था आएपछि प्रकाश देउवाकोमै गए र सहमहामन्त्री आफैंलाई चाहिने देउसी खेल्न थाले । केन्द्रदेखि सातैवटा प्रदेशमा प्रतिपक्षी हुन पुगेको कांग्रेसमा फरक समूहका नेतालाई पनि समेटेको देखाउन देउवा स्वयं पनि सहमहामन्त्रीमा रामचन्द्र पौडेलले भनेका नेतालाई ल्याउन सकारात्मक देखिएका छन् । तर, प्रकाशशरणको एकोहोरो देउसीका सामु उनी बन्दीझैं बनेका छन् । रामचन्द्र पौडेलले पनि सभापतिलाई सहज हुनेगरी महामन्त्रीमा दाबी नगरी सहमहामन्त्री आफ्नो समूहबाट हुनुपर्ने माग राखेको छ । यसमा महेश आचार्यलाई पठाउने तयारी पौडेल पक्षको छ । तर, प्रकाशशरणले मेरो स्थान के हो त भनी देउवालाई दिनहुँ हैरानी गरिरहेका कारण पदाधिकारी र विभागलाई पूर्णता दिन असजिलो भएको देउवाले पार्टीका नेतालाई बताउने गरेका छन् । हुन त महाधिवेशनअघि नै देउवाले सहमहामन्त्री दिने बताएर दलित नेता मानबहादुर विश्वकर्मालाई आफ्नो गुटमा भिœयाएका थिए ।

लामो समयदेखि कोइराला खोमामा रहेका र सशील कोइरालाको निधनपश्चात् पौडेलले धान्दै आएका सोही समूहमा बसेका मानबहादुरलाई दलितलाई सम्बोधन गरेजस्तो पनि हुने भन्दै देउवाले निकै जोडबलसाथ आफ्नो पक्षमा ल्याएका थिए । तर, अहिले उनलाई सहमहामन्त्रीको प्रतिस्पर्धीका रूपमा देउवा पक्षले अघि सारेको छैन । नेताले आफूले गरेका कामलाई सबल रूपमा प्रस्तुत गरी आफूलाई बलियो बनाउँछन् तर देउवा भने यस्ता नेता हुन् जो आफ्ना अकर्मण्यताबाटै झन् बलियो बन्दै गइरहेका छन् । पार्टीका महŒवपूर्ण पद र विभाग कहिल्यै पूर्ति नगर्ने र तिनै पदहरू देखाएर नेता तथा कार्यकर्तालाई आफूतिर तानिरहने शैली गज्जबको छ । सबै पदपूर्ति हुनासाथ असन्तुष्टहरूले आफूलाई साथ नदिने भय देउवामा छ । बरु पार्टी अपांग बनोस् तर आफू जसरी पनि शक्तिशाली भइरहने उनको सोचाइ र व्यवहारले अझै कतिन्जेल कांगे्रस गाँजिने हो कुन्नि ?

टिप्पणीहरू