आज सर्वोच्च अदालत स्वतः बन्द, दुबैथरी श्रीमानलाई हाइसञ्चो

आज सर्वोच्च अदालत स्वतः बन्द, दुबैथरी श्रीमानलाई हाइसञ्चो

राजीनामाको लागि चर्को दबाबमा पर्नुभएका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले आज पनि सर्वोच्चमा इजलास तोक्नुभएको छ । दुई वटा संयुक्त र एउटा बृहत इजलासमा रहनुभएका श्रीमानहरुलाई हेर्दा राणाले आफू निकट भनिएका र अर्को पक्ष भनिएका सबैलाई मिलाएर इजलास गठन गर्नुभएको बताइन्छ ।

उहाँले पूर्ण इजलासमा प्रधानन्यायाधीशको रोलक्रममा रहनुभएका न्यायाधीशलाई समेत समेट्नुभएको देखिन्छ । आजको पूर्ण इजलासमा दीपककुमार कार्की,मीरा खड्का,हरिकृष्ण कार्की, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्मा रहनुभएको छ ।

त्यसैगरी संयुक्त इजलास १ मा दीपककुमार कार्की र टंकबहादुर मोक्तान तथा इजलास २ मा मीरा खड्का र डा. कुमार चुडाललाई राख्नुभएको छ ।

तर, सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको निधनका कारण आज सर्वोच्च अदालतको इजलास स्वतः बन्द गरिएको छ । आज बिभिन्न इजलास बस्ने योजना रहेकोमा लम्सालको निधनका कारण रोकिएको हो । न्यायाधीश लम्साल सरकारले गठन गरेको सम्पत्ति छानबिन समितिको संयोजक हुनुहुन्थ्यो ।

यता, प्रधानन्यायाधीश राणाले पटक पटक आफ्नो राजीनामा माग्ने अन्य श्रीमानहरुलाई कुनै हालतमा आफूले राजीनामा चाहिँ नदिने अडान राख्दै आउनुभएको छ । उहाँले अनौपचारिक रुपमा विपक्षी सूमह बनाएका न्यायाधीशहरुलाइ आफ्नो बटम लाइन सुनाउँदै न्यायालय र म स्वयंले सुधार गर्नुपर्ने कुराहरु के हुन् ? र प्रधानन्यायाधीशका कमजोरी बुँदागत रुपमा उल्लेख गर्न चुनौती दिनुभएको उच्च स्रोतले बताएको छ । प्रधानन्यायाधीशको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सप्रमाण त्यस्ता बुँदा लेखेर ल्याए ल्याप्चे लगाइदिन्छु । अन्यथा, सडकमा झ्याली पिट्नुको कुनै अर्थ छैन ।’

उहाँले निकटस्थहरुसँगको कुराकानीमा न्यायाधीशहरुको पछिल्लो गतिबिधिलाई बिरामी मान्छेसँग दाँज्नुभएको बताइन्छ । ‘चिकित्सकको अगाडि गएको कुनै बिरामीको उपचार गर्नुपर्ने हो भने पहिले रोग कहाँ लागेको हो ? कस्तो लागेको हो भनेर परीक्षण गरेर उपचारको विधि पहिल्याउने कि मान्छेलाई मार्ने ?,’ राणाले निकटस्थहरुसँग प्रश्न गर्नुभएको छ ।

रोगी मान्छेले मर्न पाउँने तर उसको इच्छामा मात्र भर पर्ने प्रधानन्यायाधीशको धारणा छ । अरुले मर भन्न नपाउने भएकाले स्वेच्छामा मरण गर्ने व्यवस्था रहेकोतर्फ उहाँले औंल्याउनुभएको हो । आफ्नो राजीनामाको सन्दर्भमा पनि उहाँले स्वेच्छा गाँसिएको उल्लेख गर्नुभएको छ । त्यसैले राजीनामा दिने कुरो सोच्न पनि नसकिने बताउनुभएको स्रोतको दाबी छ ।

अर्कोतर्फ महाभियोगको सन्दर्भमा पनि राणाले उक्त अधिकार संसदको विशेषाधिकार भएकोतर्फ राजीनामा माग्ने न्यायाधीशहरुले ध्यान पुर्याउनुपर्ने उहाँको भनाइ छ । अर्को संवैधानिक निकायको विशेषाधिकारको बारेमा न्यायालयमा बसेर बोल्न नसुहाउनेतर्फ राणाले श्रीमान्हरुलाई अवगत गराउनुभएको हो ।

टिप्पणीहरू