भर्खरै अमेरिका छाड्नुभयो नेपाली राजदूतले

भर्खरै अमेरिका छाड्नुभयो नेपाली राजदूतले

अमेरिकाबाट फिर्ता बोलाइएका राजदूत डा. युवराज खतिवडा भर्खरै राजधानी वासिङ्टनबाट नेपालतर्फ उड्नुभएको छ । उहाँलाई पुग नपुग आठ महिना राजदूत बनेपछि नेपाल सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो ।

सरकारले असोज पहिलो साता खतिवडालगायत ११ जना राजदूतलाई फिर्ता बोलाएको थियो । उहाँ झण्डै डेढ महिना निवर्तमान राजदूतको हैसियतमा अमेरिकामा बस्नुभएको हो । स्रोतका अनुसार उहाँ कतार एअरवेजको उडानबाट स्वदेश फर्किनुभएको छ । भोलि बिहान काठमाडौं उत्रिने उडान तालिका छ ।

कुनैपनि राजदूत कार्यकाल सकाएर वा सरकारले फिर्ता बोलाएपछि सम्बन्धित देशका विदेशमन्त्री,विदेश सचिव,सरकार प्रमुख वा राष्ट्र प्रमुखसँग शिष्टाचार भेट गरेर फर्कने चलन छ । तर,अमेरिकास्थित नेपाली दूतावास स्रोतका अनुसार खतिवडाले अमेरिकी उच्च अधिकारीहरु कसैसँग पनि भेटवार्ताको लागि समय पाउनुभएन ।

यसअघि उहाँले ओहोदाको प्रमाणपत्र पनि अमेरिकी राष्ट्रपतिसमक्ष हुलाकबाट पठाउनुभएको थियो । उहाँ ह्वाइटहाउस नछिरी मुलुक फर्किने पहिलो नेपाली राजदूत बन्नुभएको छ ।

टिप्पणीहरू