दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक, त्यसअघि कसले के गर्दैछन् ?

दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक, त्यसअघि कसले के गर्दैछन् ?

आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्कटल्याण्डतर्फ जानुहुने भएकाले त्यसअघि सरकारले केही निर्णय गर्न लागेको हो । प्रधानमन्त्री लक्ष्मीपूजाको दिन १८ गते मात्र फर्कनुहुनेछ । सम्मेलन कात्तिक २६ गतेसम्म चल्नेछ ।

आजै,प्रतिनिधिसभाको बैठक डाकिएको छ । बैठक संसद भवन, नयाँ बानेश्वरमा दिउँसो २ बजे बस्दैछ । उता, नेपाल दुग्ध विकास संस्थानमा कर्मचारीहरुको आन्दोलन आज पनि जारी हुने बताइएको छ । त्यहाँको कर्मचारी संघले २० बुँदे माग पूरा नगरेको भन्दै विरोध कार्यक्रम गर्दै आएको छ । आज पनि संस्थानको कार्यालय लैनचौरमा १० बजेदेखि धर्ना छ ।

राष्ट्रिय शक्ति नेपालले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहान १० बजे अर्पण बैंक्वेट,नयाँ बानेश्वरमा बैठक हुँदैछ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन उपत्यका विशेष बागमती प्रदेश कमिटीको बैठक पनि आजै डाकिएको छ । रत्नराज्य क्याम्पस, प्रदर्शनी मार्गमा बिहान ११ बजे बैठक बस्ने भनिएको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडासँग भेटघाट र अन्तरक्रिया गर्न लागेको छ । कार्यक्रम बिहान सवा ११ बजे मन्त्री खतिवडाको कार्यकक्षमा राखिएको छ ।

जनमत पार्टी उपत्यका समन्वय समिति काठमाडौंले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय,जनकपुरका सीडीई राजेश कुशवाहको बिरोध गर्दा नियन्त्रणमा लिइएका कार्यकर्ताहरूको रिहाइको माग राख्दै प्रदर्शन गर्ने भएको छ । पार्टीले आज दिउँसो २ बजे माइतीघर मण्डलामा बिरोध गर्न लागेको हो ।

सँधैझैँ नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा आज पनि धर्ना राखिएको छ । क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीबिरुद्ध झण्डै १ सय दिनदेखि त्यहाँ रिले अनसन तथा धर्ना कार्यक्रम हुँदै आएको छ ।

हाई अल्टिच्युड अल्ट्रा म्याराथनबारे आज पत्रकार सम्मेलन राखिएको छ । दिउँसो १ बजे खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको सभाकक्ष एवम् राष्ट्रिय खेलकुद परिषद्को कार्यालय त्रिपुरेश्वरमा पत्रकार सम्मेलन हुने बताइएको छ ।

टिप्पणीहरू