५० वर्षअघि राष्ट्रसंघमा २७५८ नम्बरको त्यो प्रस्ताव र आजको चीन

५० वर्षअघि राष्ट्रसंघमा २७५८ नम्बरको त्यो प्रस्ताव र आजको चीन

५० वर्षअघि संयुक्त राष्ट्रसंघको २६ औं महासभामा अत्यधिक बहुमतले २७५८ नम्बरको प्रस्ताव पारित भएको थियो । त्यहि प्रस्ताव पारित भएलगत्तै राष्ट्र संघमा जनगणतन्त्र चीनको सदस्यता पुनर्स्थापना भएको हो । त्यसैले उक्त प्रस्तावमाथिको अत्यधिक समर्थन चीन सरकार,चिनियाँ जनता र विश्वकै निम्ति उल्लासमय सुखद् क्षण थियो । नेपालले दक्षिण एशियाबाटउक्त प्रस्तावलाई दह्रो समर्थन दिएको थियो ।

२५ अक्टोबर १९७१ को सोहि दिनको सम्झनामा आयोजित समारोहलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सि चिनफिङले उक्त दिनलाई विशेष दिनको रुपमा सम्झनुभएको छ । यस उपलक्ष्यमा हिजो आयोजित कार्यक्रम विगतको गर्विलो इतिहासको समीक्षा गर्न र सुखद् भविष्यलाई हेर्नका लागि हो भन्दै उहाँले, ‘चीन राष्ट्रसंघमा पुनर्स्थापना भएको क्षणले ५० वर्षको भेलालाई झन् महत्वपूर्ण बनाएको,’उल्लेख गर्नुभएको छ ।

‘हरिया पहाडहरू एउटै बादल र वर्षामा डुब्छन् । शहरहरू जतिसुकै टाढा भए पनि एउटै चन्द्रमाले उज्यालो पार्छ,’

संयुक्त राष्ट्रसंघमा नयाँ चीनलाई वैधानिक हैसियतको पुनर्प्राप्ती पूरै विश्व र संयुक्त राष्ट्रसंघ स्वयमका लागि महत्वपूर्ण घटना रहेको उहाँको धारणा छ । त्यो क्षण विश्वका न्यायप्रेमी र शान्तिका पक्षधर मुलुकको संयुक्त प्रयासको परिणामसमेत रहेको राष्ट्रपति सिको दाबी छ ।

त्यस दिनको निर्णयले चिनियाँ जनता अर्थात् विश्वको एक चौथाइ जनसंख्यालाई राष्ट्रसंघको घेराभित्र फर्काएको थियो । सो घटनाक्रम चीन र विश्वका लागि एउटा दूरगामी महत्वको रहेको पनि राष्ट्रपति सिले स्पष्ट पार्नुभएको छ ।

‘यस अवसरमा म चीन सरकार र चिनियाँ जनताको तर्फबाट संयुक्त राष्ट्रसंघको महासभाको प्रस्ताव नम्बर २७५८ को प्रस्तावक र समर्थक सबै देशप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गर्न चाहन्छु । त्यसमा उभिने सबै ज्ञात अज्ञात शहीदहरुप्रति उच्च श्रध्दाञ्जली अर्पण गर्न चाहन्छु । त्यो सबै काम न्यायको पक्षमा भएको थियो,’ उहाँले आफ्नो सम्बोधनमा उल्लेख गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघमा आफ्नो वैधानिक स्थान पुनर्स्थापना गरेको पछिल्लो पाँच दशकमा चीनको शान्तिपूर्ण विकास,सम्पूर्ण मानव हितप्रतिको प्रतिबध्दता र समर्पण समेत स्पष्टसँग देखिएको पनि उहाँले बताउनुभयो ।

उहाँको भनाइ थियो,‘५० वर्षदेखि चिनियाँ जनता अथक मनोभावका साथ परिवर्तनशील परिस्थितिमा पनि चीनको विकासको सही दिशामा जुटिरहेका छन् । यसरी चीन र मानव विकासको महाकाव्य अध्याय लेखिएको छ ।’

यो अवधिमा चिनियाँ जनताले विश्व जनमतसँग ऐक्यबद्धता जनाउँदै र पारस्परिक सहयोगमा उभिँदै अन्तर्राष्ट्रिय समानता र न्यायको समर्थनमा विश्व शान्ति र विकासमा थप महत्वपूर्ण योगदान दिइरहेको उहाँको भनाइ छ ।

उहाँले सम्बोधनमा अगाडि भन्नुभयो, ‘पाँच दशकदेखि चिनियाँ जनताले राष्ट्र संघको कार्यक्षेत्र,अधिकार र पवित्रतालाई इमान्दारिताका साथ कायम राखेका छन् । बहुपक्षीयताको अभ्यास गरेका छन् भने राष्ट्र संघसँग चीनको सहयोग निरन्तर गहिरिँदै गएको छ ।’

उहाँले शान्ति,विकास,समानता, न्याय,प्रजातन्त्र र स्वतन्त्रताजस्ता मानवताका साझा मूल्यहरूको दृढतापूर्वक वकालत गर्न र सुन्दर विश्व निर्माणको लागि सही मार्गदर्शन प्रदान गर्न सबैले मिलेर काम गर्नुपर्ने सुझाव दिनुभएको छ ।

उहाँको धारणा छ, ‘हामीले मानव जातिको साझा भविष्य भएको समुदायको निर्माणलाई संयुक्त रूपमा प्रवर्धन गर्नुपर्दछ । दिगो शान्ति,विश्वव्यापी सुरक्षा र साझा सम्बृध्दिको आनन्दमा खुला, समावेशी,स्वच्छ र सुन्दर संसार निर्माण गर्न मिलेर काम गर्नुको विकल्प छैन ।’

जनताको बृहत्तर हित,आर्थिक र सामाजिक विकास एवम् पारस्परिक लाभ र सुखद् परिणामको लागि प्रतिबद्धताका साथ मिलेर काम गर्नुपर्छ भन्दै राष्ट्रपतिले थप्नुभयो,‘हामीले मानवजातिले सामना गर्नुपरेका विभिन्न चुनौती र विश्वव्यापी समस्याहरूलाई सम्बोधन गर्न पनि मिलेर काम गर्नुको विकल्प छैन ।’

यी सबै कार्यको लागि दृढतापूर्वक राष्ट्र संघको नीति र अडानलाई समर्थनसहित सच्चा बहुपक्षवादको अभ्यासनिम्ति मिलेर सँगसँगै काम गर्न उहाँले आह्वान गर्नुभएको छ । सम्बोधनमा राष्ट्रपतिले भन्नुभयो, ‘विगतको समीक्षाले अगाडिको बाटो उज्यालो बनाउन सक्छ । नयाँ ऐतिहासिक सुरुवाती बिन्दुमा उभिएर चीन शान्तिपूर्ण विकासको मार्गमा प्रतिबद्ध हुनुका साथै सँधै विश्व शान्तिको निर्माणकर्ता रहिरहनेछ ।

चीन सुधार र खुलापनको मार्गमा प्रतिबद्ध रहनेछ भने विश्वव्यापी विकासमा सँधै योगदान दिनेछ । साथै बहुपक्षीयताको मार्गमा चीन प्रतिबद्ध रहेर सँधै अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षकसमेत बन्नेछ ।’

सम्बोधनमा उहाँले एउटा पुरानो चिनियाँ कविताको सन्दर्भ उल्लेख गर्दै,‘हरिया पहाडहरू एउटै बादल र वर्षामा डुब्छन् । शहरहरू जतिसुकै टाढा भए पनि एउटै चन्द्रमाले उज्यालो पार्छ,’ भन्नुभएको छ । ‘त्यसैले आउनुहोस् हात मिलाएर, इतिहासको दाहिनेतर्फ र मानव प्रगतिको पक्षमा उभिऔं । विश्वको दिगो र शान्तिपूर्ण विकासको लागि एवम् मानवजातिको साझा भविष्य भएको समुदाय निर्माण गर्न अथक परिश्रम गरौं !’ उहाँले विश्वलाई नै आह्वान गर्नुभएको छ ।

टिप्पणीहरू