​बाजे फाल्ने डोको, यही हो धोको ? « Jana Aastha News Online
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022

​बाजे फाल्ने डोको, यही हो धोको ?

प्रकाशित मिति :  ७ बैशाख २०७५, शुक्रबार १२:०४


  • कविता ढुंगाना

नेपाल कम्युनिस्ट पार्टीले राजधानीको नाचघरमा अन्य संगठनप्रति आस्था राख्ने गीतकार एवं कविलाई सम्मान प्रदान गरेको छ । राल्फा समूहका सदस्य रायन इतिहासका ज्युँदो साक्षी हुन्, उनले विप्लवलाई कार्यकर्तासामु नाचघरमा गहकिलो प्रश्न तेस्र्याउँदै खबरदारी गरेका थिए । जतिसुकै व्यवस्था बदलिए पनि राष्ट्रिय सञ्चारगृहले जनवादी र प्रगतिशील गीत रचनालाई सरकारी तवरबाट प्रसारण गर्ने उचित अवसर नदिएर आजसम्म पञ्चायतकालीन सोच राखेको बताएका थिए ।

आशावादिता जगाउने, देशप्रेमको भावना भएको, सिर्जनशील, उत्साहपूर्ण सांगीतिक सामग्रीलाई किन उतिसाह्रो स्थान दिँदैन मिडियाले अनि प्रगतिवादी संघसंस्था र संगठन किन मौन देखिन्छन् यस सवालमा ?

मुखमा राम राम, बगलीमा छुरा भन्ने उखानझैं मन कम्युनिस्ट क्रान्तितिर र ज्यान कमाउनतिर भएकाहरूले निकै बदनाम पारेका छन् आन्दोलनलाई । २३०० वर्षअघि मनुले एउटै अपराध र कमजोरीमा जनतालाई २० कोर्रा हाने राजालाई १०० कोर्रा हान्नुपर्ने अवधारणा राखेका थिए । तर, आजका कम्युनिस्टहरूले के भन्ने होला ? नेपाली कम्युनिस्ट आन्दोलनमा नेताका अपराध र चरित्रलाई ओथारो बसेको पोथीले फुल छोपेझैं छोप्दै जाने ? किन वर्तमानका जल्दाबल्दा समस्याको किटान, पहिचान र समाधानसहित रूपान्तरण गर्न सक्दैनन् ? र, बुढेसकालमा गनगन गरेर बस्छन् ? 

ठालुहरूले जे गरे सो राम्रो भन्ने थाहा पाउन माक्र्सवाद पढ्नै पर्दैन । हुन त जसले पनि आखिर सोझैलाई काट्ने हो यहाँ । बिँडदेखि निदाल बनाउनसम्म सोझै रूखलाई काटिन्छ, बांगाटिंगा गठरागुठुरीलाई कसले छुन्छ र ! त्यही भएर होला सोझो औंलाले घ्यू आउँदैन भनेर सामन्तवादले सिकाएको । मान्छेभित्रको मान्छेको समीक्षा त चिहानमा उभिएर मात्र होला कि ? आफ्नै हेडक्वार्टरभित्रको लिन प्याओ चिन्न महान् नेता कमरेड माओले त सांस्कृतिक क्रान्तिसम्म कुर्नुपरेको थियो । त्यही भएर आफ्नै हेडक्वार्टरमा बम हान्न आह्वान गरेका रहेछन् अनि हामीले अहिल्यैको कसलाई चिन्न सक्नु र दक्षिण छिमेकतिर धार्मिक अतिवादी सर्वहारा जोगीको जगजगी र यता देशतिर कम्युनिस्ट नामधारी सर्वहारा करोडपति ढोंगीहरूको चकचकी– क्या उदेकलाग्दो छ ! हिजो नेकपाका संस्थापक महासचिवलाई गद्धार पुष्पलालजस्तो संगीन आरोप लगाएर चरित्रहत्या गर्ने प्रयास नभएको होइन । कमरेड निर्मल लामालाई त झन् सिआइडी, सुराकी भन्दै सेल कमिटीसम्म सर्कुलर पठाउने मोहनविक्रमले मर्ने बेला अस्पतालको शøयामा भेटेर समीक्षा गर्दै गोहीको आँसु झार्नुको के अर्थ रह्यो होला र निर्मल लामाको राजनीतिक जीवनका लागि । मन मिल्दा महान् र अलिकति विमति रहँदा गद्धार भन्ने, बिरालो बाँधेर श्राद्ध गर्ने संस्कारझैं यो चिन्तन कहिले हराउला ?

हिजो राजनीतिमा पुष्पलालको लाइन पारित भयो तर संगठनमा मनमोहन नेता भए, मनमोहनको राजनीतिक लाइनमा केशरजंग रायमाझी संगठनका नेता भएपछि आन्दोलनलाई कहाँ पु¥याए सबैलाई जगजाहेरै छ । त्यही बीउबाट फैलिएकाहरूमा वंशाणुगत समस्या देखा पर्नु नौलो होइन । मोहनविक्रमविरुद्ध किरण हुँदै प्रचण्डविरुद्ध वैद्य–बादल–विप्लव समूह बन्न गयो । तिनै वैद्यविरुद्ध विप्लवको अर्काे नेकपा बन्नैपर्ने अवस्था किन आयो ? सकुन्जेल आपूmले गर्ने र नसके सक्नेहरूलाई हस्तान्तरण गर्ने प्रचलन किन नबसेको ? 

यस्तो बेला भएको सम्मान कार्यक्रम अर्थपूर्ण देखिन्छ । कार्यकर्ताको भोको पेटले पटुकी कस्दै जोहो गरेको पसिनामा फुलेको संस्कार सुन्दर बनाउनेलाई सबैले सलाम गर्नै पर्छ तर भोको पेटले सधैँ भाषणमा ताली ठोक्दैन । डोको कथामा बाजे फाले पनि डोको नफाल्न छोराले आग्रह गरेपछि बाउको चेत खुलेझैं बाजेहरूलाई थन्क्याउने काइदा हो वा नयाँ संस्कार हो अर्थात् थालनी हो, परीक्षणकै चरणमा छ । हामीले यसलाई व्यवहार र निरन्तरताबाट नयाँ आचरणमा बदल्न सक्नु पर्छ । अनि मात्र पूरा होला जनमनको धोको !


प्रतिक्रिया दिनुहोस !