सिटिजन्सका सीईओ परफरमेन्स बोनसमै व्यस्त

सिटिजन्सका सीईओ परफरमेन्स बोनसमै व्यस्त

नेपालका बैंक तथा वित्तीय संस्थामा देखिएको अराजकताले केही समयअघिसम्म पराकाष्ठा नाघेको थियो । ती सबै पराकाष्ठा मूलतः सीईओ र सञ्चालक समितिका अध्यक्ष र सदस्यको गतिविधि एवं निर्णयमा भएको हो । तर, नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले बेलैमा ध्यान नदिँदा वा आँखा चिम्लिदिँदा विशेषगरी सेटिङमा नियुक्त सीईओ र अध्यक्षहरूले आर्थिक चलखेल गर्दै आएका छन् ।

बैंकको वार्षिक प्रतिवेदनमा सीईओलाई प्रदान गरिएको आर्थिक र अन्य सुविधा अंकमै लेख्नुपर्ने निर्देशन राष्ट्र बैंकले दिएको छ । तर, कुनै पनि बैंकले प्रतिवेदनमा तलब, भत्ता र सुविधालाई मुस्किलले तोकेको पाइन्छ । सीईओले बुझेको लाखौं रुपैयाँ बराबरको बोनस रकमबारे कहीँ–कतै उल्लेख हुन्न ।

सीईओले अन्य कर्मचारीले झैँ बैंकको साधारणसभाले पारित गरेबमोजिमको रकम बोनस ऐनमा आधारित भएर लिने गरेको प्रतिवेदनको पुछारमा लेखिन्छ । त्यो भनेको वर्षैपिच्छे बुझ्ने दशौं लाख रुपैयाँ हो । तर, बैंकले राम्रो नाफा गरेको, संस्थागत सुशासन कायम गरेको, व्यावसायिक रूपमा स्वस्थ र चामत्कारिक सुधार गरे मात्र कार्यसम्पादन मूल्यांकनको आधारमा दिइने भनिएको परफरमेन्स बोनस विगतमा कतिपय बैंकका सीईओले सधैँबुझेको समेत देखिन आएको छ ।

बैंकभित्र संस्थागत सुशासन र वित्तीय अनुशासन क्रमशः खस्किँदा पनि तुलनात्मक रुपमा कमजोर बैंकका सीईओले लगातार परफरमेन्स बोनस बुझेको तथ्य बाहिरिएको हो । अहिले उक्त व्यवस्थामा रोक लगाइए पनि राष्ट्र बैंकले ०६० को दशकमा त्यसतर्फ आँखा चिम्लिएको पुष्टि भएको हो । राष्ट्र बैंकबाट अवकाश लिएर सिटिजन्स बैंकमा सीईओ बन्न गएका राजनसिंह भण्डारीलाई त्यतिबेला पहिलो वर्षदेखि नै उक्त बोनस दिइएको सिटिजन्सबाट बाहिरिएका कर्मचारीले नै बताएका छन् ।

बैंकको अन्य अवस्था भित्रभित्रै खोक्रो हुँदासमेत बोर्डले पास गरेर नाफाको निश्चित प्रतिशतको आधारमा सीईओलाई त्यस्तो बोनस रकम दिइएको थियो । त्यतिबेलादेखि बिग्रेको संस्थागत सुशासनको खराब अवस्था सिटिजन्समा अहिलेसम्म असरल्ल पाइन्छ । पछिल्ला केही वर्षदेखिका केन्द्रीय बैंकका स्थलगत निरीक्षण प्रतिवेदनमा समेत सिटिजन्सको संस्थागत सुशासन सबैभन्दा कमजोर रहेको हिसाबले उल्लेख गरिएको छ ।

तत्कालीन अध्यक्ष डा. शंकर शर्मा, विमल कोइरालालगायत भएको बोर्डले भण्डारीलाई लाखौं रुपैयाँ कार्यसम्पादन बोनस भनेर छुट्टै दिएको थियो । भण्डारी स्वयं अहिले बैंकका अध्यक्ष छन् । शर्मा, कोइराला र भण्डारी सबै सिटिजन्सका प्रमुख लगानीकर्तासमेत हुन् । उनीहरू लामो समयसम्म उक्त बैंकमा कोही सीईओ र कोही अध्यक्ष एवं सञ्चालक भएका थिए । पछि कुलचन्द्र गौतमलाई समेत अध्यक्ष बनाइयो ।

त्यस्तो विकृतिले सबै बैंक तथा वित्तीय संस्थामा चरम रूप लिएपछि मात्र नेपाल राष्ट्र बैंकले केही वर्षअघि परफरमेन्स बोनसको व्यवस्थामा रोक लगाएको हो । तर, अहिले पनि नियमानुसार सीईओलाई प्रदान गरिएको भनिएको बोनस रकम अधिकांश बैंक तथा वित्तीय संस्थाले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख नै गर्दैनन् ।

टिप्पणीहरू