​उजुरी पर्दै, नदेखेझैं गर्दै

हुँदै नभएको कलेज देखाएर विद्यार्थी भर्ना गर्ने, प्रवेशपत्र दिने र परीक्षाको दिन पोखरा घुमाउन लैजाने बनेपास्थित जनागालको नेशनल हेल्थ फाउण्डेशनविरुद्ध तिनै विद्यार्थीले उजुरी हालेका छन् । उजुरीविरुद्धको कारबाहीमा आलटाल भएको छ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् स्तर निर्धारण महाशाखाले जिल्ला प्रशासन कार्यालय काभ्रेलाई विद्यार्थीले गरेको उजुरीको प्रतिलिपिसहित कारबाहीका लागि पत्राचार गरिसकेको छ । सिटिइभिटीबाट स्वीकृतिप्राप्त उक्त कलेजले नुवाकोट टेक्निकल इन्स्टिच्युटका नाममा विद्यार्थी भर्ना लिएर परीक्षा दिनबाट वञ्चित गराएको थियो । ०७४ साल चैत ६ गते परिषद् कार्यालयमा विद्यार्थीले दर्ता गरेको ५८८२ नम्बरको निवेदनको प्रतिलिपिसहित कारबाहीका लागि पठाएको पत्र जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको छ । प्रशासकीय अधिकृत काशीनाथ पण्डितले हस्ताक्षर गरेको पत्र जिल्ला प्रशासनमा बुझाएलगत्तै प्रशासनले अनुसन्धान शुरु गरिसकेको छ ।

‘२०७३ सालको शैक्षिक सत्रमा नेशनल हेल्थ फाउण्डेशन कलेजले सिएमए÷अनमी विषयमा सिटिइभिटीको कोठाभन्दा बढी सिटमा भर्ना गरी हामीलाई २ वर्षसम्म परीक्षा गराउने आश्वासन दिएर अहिलेसम्म परीक्षामा सहभागी गराउनुको साटो कलेज सञ्चालकले हामी ६७ जना विद्यार्थीलाई ठगी गरेको हुनाले भविष्यको ग्यारेन्टी साथै क्षतिपूर्ति दिलाउन अनुरोध गर्दर्छाैं’, पत्रमा भनिएको छ । संस्थाका सञ्चालक शिलाकान्त झा र प्रिन्सिपल सुरज ज्ञवालीले ठगेको भन्दै उजुरी परेको हो ।

डडेल्धुरामा समेत त्यस्तै अनियमित काम गरी कारबाहीमा परेका शिलाकान्त झालाई पक्राउ गरी विद्यार्थी ठगीमा कारबाही गर्न छानबिन समितिले समेत सिफारिस गरेको थियो । २०५३ सालमा सिएमए/अनमीलगायतत क्षेत्रमा काम गर्ने गरी जिल्ला प्रशासन कार्यालय काभ्रेमा दर्ता भएको उक्त फाउण्डेशनको कार्यकारिणी समितिले ८० जना विद्यार्थी ठगी गरेको प्रमाणित भई कारबाहीका लागि गरिएको सिफारिसमा आलटाल गरिएको छ । 

कारबाहीबाट बच्न शिलाकान्त झाले सिटिइभिटीका मुख्य मुख्य ब्यक्तिहरूलाई केहि रकमको प्रलोभनमा पारिसकेका छन् भने समाचार लेखेर थप दबाब नदिन पत्रकारलाई समेत किन्ने प्रयास गरेका छन् । बनेपास्थित नेशनल हेल्थ फाउण्डेशनले ८० जनाको अनुमतिमा १ सय ६० जना विद्यार्थीको भर्ना लिई बिचल्ली गराएको थियो । २०७४ असोज २८ गते सम्पन्न भनिएको साधारणसभाका अधिकांश हस्ताक्षर नक्कली पाइएको छ । फाउण्डेशनको सचिव भनिएकी जया ढुंगानाले आफू कुनै पनि संस्थामा नरहेको स्पष्ट पारेकी छिन् । 

– मोतीराम तिमल्सिना

टिप्पणीहरू